खैजडीको तालमा मुख्यमन्त्री गुरुङ छमछमी

समाधान संवाददाता २०७५ चैत ११ गते ११:४५

कृष्ण न्यौपाने
दमौली

Advertisement

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमुना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भीमाद नगरपालिका ९ भानुमतिमा तय भए बमोजिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुगे ।

मुख्यमन्त्रीको गुरुङको साथमा थिए आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

Advertisement

उनीहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दा रात परिसकेको थियो । मुख्यमन्त्री लगायत मन्त्रीलाई स्वागत गरिसकेपछि स्थानीयले सांस्कृतिक कार्यक्रमको तयारी थाले । स्थानीयको तयारीपछि मुख्यमन्त्री गुरुङ लगायत मन्त्री सांस्कृतिक कार्यक्रमतर्फ अघि बढे ।

लगत्तै स्थानीयले खैजडीको तालमा मुख्यमन्त्री र मन्त्रीलाई स्वागत गर्दै गीतको सुरुआत गरे । गण्डकी प्रदेशको मुख्यमन्त्री लगायत ३ जना मन्त्रीहरु गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । जुन खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे –
‘विकास गर्न भनेर मन्त्री ज्यू आउनुभाको छ
मनमा सारै खुशी लाको छ’

Advertisement

स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैले खैजडी बजाउन थाले र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढे । मुख्यमन्त्री र मन्त्रीलाई यहाँका स्थानीय युवतीले कौरा गीतमा साथ दिए । गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका १÷१ ठाउँलाई नमुना कृषि गाउँकोरुपमा छनौट गरे बमोजिम भानुमति पनि नमुना कृषि गाउँ छनौट भएको छ । नमुना गाउँ छनौट भएदेखि नै यहाँका स्थानीय उत्साहित छन् र यस ठाउँलाई नमुना बनाउने दृढता व्यक्त गरेका छन् । जुन भाव स्थानीयले गीतमार्फत् यसरी प्रस्तुत गरे –

‘सबै जना मिली कम्मर हामी कसे
नमुना गाउँ बन्छ अवश्य’

आफ्नै ठाउँमा काम गरे यही सुन फल्छ भन्ने भावना बोकेका यहाँका स्थानीयमा गाउँलाई नमुना बनाउँदै पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाउन जुटेका छन् । सबैजना मिलेर अगाडि बढे उक्त लक्ष्य पूरामा यहाँका स्थानीय ढुक्क छन् ।

‘सुन फल्छ नि यसै ठाउँमा
सबैजना मिली काम गरे गाउँमा’

नमुना गाउँको रुपमा छनौट भएको यस ठाउँमा हालै मात्र पाथर्दी घरबाससमेत सञ्चालनमा आइसकेको छ । यहाँ आउने पाहुनालाई कौरा गीतमार्फत् स्वागत गर्ने गरिएको घरबास सामुदायिक व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए । भीमाद नगरपालिका ९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमुना कृषि गाउँकोरुपमा छनौट हुँदा स्थानीयवासीमा छुट्टै रौनकता छाएको बताए । उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरु नै यहाँ आएर स्थानीयको हौसला बढाउन लाग्नुभयो, यसले हामीहरुलाई काम गर्नमा हौसला प्रदान गरेको छ ।’

तपाईको प्रतिक्रिया