सार्वजनिक जग्गा मिचेर बनाएको खतिवडाको घरमा महानगरले चलायो डोजर

समाधान संवाददाता २०७५ चैत ११ गते १५:५६

दिपक के श्रेष्ठ, पोखरा

पोखरा महानगरपालिका ५ पस्र्याङस्थित धारापानीमा युवराज खतिवडाले सार्वजनिक जग्गामा बनाएको घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ ।

Advertisement

एक महिनाअघि नै संरचना भत्काउन महानगरपालिकाले दिएको सुचना लत्याएपछि महानगर आज दिउँसो डोजर र सुरक्षाकर्मी लिएर पुगेको थियो ।

घर भत्काउन डोजरसहित पुगेका वडाध्यक्ष धनबहादुर नेपाली सामाजिक अभियन्ता रामबहादुर पौडेलसमक्ष स्थानीयले आक्रोस पोखेका थिए । नगर र जनपद प्रहरीसहित पुगेपनि स्थानीयको अवरोधकाकारण थप प्रहरी झिकाएपछि संरचना भत्काउन सम्भव भएको हो ।

Advertisement

घर भत्काउनेक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले घरधनी खतिवडा र केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । संरचनामा डोजर चलाइरहँदा स्थानीयले वडा सदस्य मन्जु केसीमाथि हातपात गरेका छन् ।

सार्वजनिक जग्गामा रहेका स्थानीयहरुले उक्त विवाद उच्च अदालत पुगेको र आगामी १३ गते पेशी रहेकाले त्यतिञ्जेलसम्म पर्खन आग्रह गरेका थिए ।

तर वडाध्यक्ष नेपालीले पटकपटकको वार्तामा खतिवडाले आफै भत्काउने कबोल गरेर पनि नटेरेको हुँदा डोजर चलाउन बाध्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘अटेरी र मिचाहाप्रवृत्ति विरुद्ध कारवाहीको विकल्प छैन । सार्वजनिक सम्पत्ति हडप्ने कसैलाई हामी छाड्दैनौै ।’

करिब १ महिना अघि खतिवडाको छेवैमा रहेको संरचनामा डोजर लगाउँदा उनले त्यसपटक पनि आफै भत्काउने आश्वासन दिएका थिए ।

धारापानीको ढुंगेखोला क्षेत्रदेखि तल करिब १ सय २७ घर सार्वजनिक जग्गामा बनेका छन् । उनीहरुले मिडियाकर्मी र वडाध्यक्षसमक्ष जग्गाको तिरो तिर्दै आएको र अदालतमा मुद्दा पुगेकोले फैसलाअगावै वडाले डोजर आतंक मच्चाएको गुनासो गरेका छन् ।

भिडियाेमा हेर्नुहाेस्  । तस्बिर र भिडियाेः सुरेशराज अधिकारी

तपाईको प्रतिक्रिया