७ वर्षपछि लुटेरा पक्रन माग गर्दै सेयर सदस्य प्रशासनको शरणमा

समाधान संवाददाता २०७५ चैत १२ गते ७:३४

समाधान संवाददाता

२०६९ वैशाख २६ गते राति साविक पुरुञ्चौर गाविसको सहकारी लुटियो । मध्यरातमा जनसेवा बचत तथा ऋण सहकारीबाट चोरी भएको भोलिपल्ट बिहान कार्यालय समयमा मात्रै थाहा भयो । बचत गर्न र ऋण लिन साविक पुरञ्चौर गाविसबासीलाई समेट्ने लक्ष्यसहित खुलेको सहकारी लुटिएको खबरले स्थानीयलाई झस्कायो ।

सहकारी फोरेर ६ लाख १९ हजार ४ सय ५० रुपैयाँ लुटिएको जानकारी तत्कालीन प्रबन्धकले गराए । ठूलो रकम सहकारीमा जम्मा नभएकाले धन्न ठूलो राशि चोरिएन । स्थानीयले दुखजिलो गरेर ५० देखि १० हजार रुपैयाँसम्म जम्मा गरेका थिए । चोरी भएको थाहा पाउनासाथ स्थानीय सहकारीमा भीड जम्मा भयो । लुटेरा पत्ता लगाउन स्थानीयले दबाब दिए । लुटिएको जानकारी पाएको केही समयपछि प्रहरी पुग्यो ।

Advertisement

सञ्चालक समितिको रोहबरमा प्रहरी अनुसन्धानले छिट्टै लुटेरा पत्ता लगाउने विश्वास स्थानीयको थियो । तर, ६ वर्षसम्म पनि लुटेरा पक्राउ नगरेपछि सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका सेयर सदस्यले भने, ‘लुटेरा पावरफुल परेछ । उसलाई पक्राउ गर्न सञ्चालक समितिले एक्सन लिन सकेन । प्रशासनले एक्सन लिइदिनुपर्‍यो हजुर ।’

आश्चर्यजनक हिसाबले सहकारी चोरी भएको र लुटेरा पक्राउ नपर्नुका पर्दा पछाडि शंका उब्जिएको स्थानीय जयराम गौतमको भनाइ छ । ‘प्रहरी घटनास्थल पुग्नुअघि नै केही व्यक्तिबाट प्रमाण नष्ट गर्ने काम भएको थियो । त्यसयता लुटेरा पत्ता लगाउन न सञ्चालक समितिले एक्सन लियो, न प्रहरीले गहिरो अनुसन्धान नै थाल्यो । आजसम्म पनि लुटेरा किन पत्ता लागेन ? यसले शंका उब्जाएको छ,’ अर्का सेयर सदस्य पुष्पराज पौडेलले बताए ।

Advertisement

स्थानीयले लुटेरा पत्ता लगाएर कारबाही दायरामा ल्याउन पटकपटक दबाब दिएको सेयर सदस्य टेकनाथ गौतमले बताए । ‘प्रहरीले घटनास्थलको मुचुल्का नउठाउँदै भीडबाट केही व्यक्ति सहकारी भित्र छिरेका थिए । लुटेरा समात्न एक्सन लिन सञ्चालक समितिलाई दबाब दिँदा उल्टै पत्र पठाएर जवाफ माग्ने काम भयो,’ गौतमले भने, ‘हेर्दा रकम सानो होला तर स्थानीयको श्रममात्रै जोडिएको छैन, अनुसन्धान पनि फेतलो देखिँदा थप शंका नित्याएको छ ।’

घटनाको छानबिन गर्न निर्मल गौतमको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । तर, समितिले पनि असहयोगका कारण गहिरो अनुसन्धान गर्न नपाएको र अहिले आएर त्यो समितिको म्याद सकिएको भन्ने गरेको गौतमले गुनासो गरे ।

सोमबार सञ्चालक समिति र सेयर सदस्यले कास्कीका सिडिओ चक्रबहादुर बुढासँग भेटेर घटनाबारे जानकारी गराएका छन् । किटानी जाहेरी नभएका कारण प्रहरीले कसैलाई पक्राउ गरेर अनुसन्धान गर्न नसकेको प्रहरी बताउँछ । कसैमाथि शंका भए किटानी जाहेरी दिन सिडिओ बुढाले आग्रह गरे ।

अब लुटेरा नै नसमातिने र घटना नै बिर्सने हो कि भन्ने सेयर सदस्यहरुको भनाइ छ । सहकारी लुटिएको हो कि सुनियोजित रुपमा लुटाइएको हो भन्ने उनीहरुको शंका छ । ७ वर्षपछि लुटेरा खोजिदिन माग गर्दै जिल्ला प्रशासन धाउनुपर्ने अवस्था आउनु दुखद रहेको सेयर सदस्य बताउँछन् । सहकारी चोरी भएको प्रति शंका नगरी पक्राउ गर्न सहयोग गर्न सञ्चालक समितिले आग्रह गरेको छ । अहिले पोखरा–१७ मा पर्ने यो सहकारीमा झन्डै १ हजार ८ सय सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया