वडावडामा चोर

समाधान संवाददाता २०७५ चैत १२ गते ८:१७

पोखरा महानगरपालिकाको वडा नम्बर १६ मा शनिबार राति चोरी भयो । ल्यापटप र कम्प्युटर चोरी हुँदा वडाका महत्वपूर्ण डाटा चोरको हात लागे । यसअघि ५, १३, १४ र १५ नम्बर वडा कार्यालयमा पनि चोरी भएको थियो । एकपछि अर्काे वडा कार्यालयमा चोरी भइरहनु सामान्य चोरीमात्रै होइन । चोरीको ठूलै प्रवृत्ति देखापरेको छ । वडामा कम्प्युटर चोरी हुनु भौतिक रुपमा कम्प्युटरको चोरीमात्रै नभई सर्वसाधारण नागरिकका थुप्रै अभिलेखहरु पनि त्यहाँबाट चोरी भएका छन् र हराएका छन् । वडाका आफ्नै अभिलेख पनि चुहिएका छन् । चोरको उद्देश्य वडाका त्यस्ता महत्वपूर्ण जानकारी हात पार्ने पनि हुनसक्छ । चोर कतिसम्म चतुर देखिन्छ भने सिसिटिभी क्यामेराबाट पहिचान खुल्ला भनेर वडा नम्बर १३ मा सिसिटिभीकै तार उसले काटेको छ ।

कार्यपालिका बैठकबाट महानगरपालिकाले वडाहरुमा रात्रिकालीन सुरक्षा खटाउने निर्णय गरेको छ । त्यसले चोरी पक्कै रोक्ला । अहिलेसम्म भएका चोरीका घटनाका एकजना पनि चोर नसमातिनु दुर्भाग्य बनेको छ । वडावडा नै ताकेर भएको चोरी उही व्यक्ति वा समूहले पनि गरेको हुनसक्छ । चोर पक्राउ परे उसको कम्प्युटर चोर्नेमात्रै नभई अरु अभिलेख हत्याउनेसम्मको उद्देश्य र त्यस उद्देश्यपछाडिको कारण पनि खुल्ने थियो । त्यस कारण प्रहरीलाई वडा कार्यालय चोरीका दोषी छिटो पक्राउ गर्नुपर्छ ।

वडा कार्यालयको मात्रै नभई सिंगो सहरको सुरक्षा पनि पोखरामा कमजोर रहेको सन्देश वडाको चोरीले दिएको छ । एकपटक सुनिएको थियो पोखरा सहरभरि सिसिटिभी क्यामेरा जडान गर्ने । तर एकाध ठाउँमा बाहेक त्यस्ता क्यामेरा जडान भएको थाहा हुन सकेको छैन । अर्काेतिर जडित क्यामेराहरुको नियमित मर्मत सम्भार नहुनु पनि दुखद छ । जस्तो कि लेकसाइड क्षेत्रमा जडान भएका क्यामेरा कतिले काम गर्छन्, कतिले गर्दैनन् । अधिकांशले गर्दैनन् नै । प्रत्येक होटल र रेस्टुरेन्टले बाहिर सडकतिरको दृश्य पनि कैद गर्ने गरी क्यामेरा राख्दिने गरे त्यसको नियमति निगरानी त्यही होटल रेस्टुरेन्टबाटै हुने थियो । एकपटक जडान गरेपछि त्यसले काम गरे नगरेको नियमित जाँच हुनुपर्छ । सिंगो सहरै सिसिटिभी क्यामेराको निगरानीमा भएको जाती हो । तर त्यस्ता क्यामेराले खिचेका दृश्य सार्वजनिक भने कसैले गर्नुहुँदैन । प्रहरीले चाहेको खण्डमा मात्रै उपलब्ध गराइनुपर्छ । अपराध अनुसन्धानका सिलसिलामा प्रहरीलाई त्यस्ता फुटेज काम लाग्दो हुन्छन् । हालै लेकसाइडमा भएको सडक बालकको हत्यामा संलग्नहरुको खोजी र पहिचान त्यस्तै क्यामेराको दृश्यले गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया