नेतृत्व कमजोर हुँदा मजदुर पीडित

समाधान संवाददाता २०७५ चैत १२ गते ८:३४

केदार धमला

मजदुर दिवस नजिकिँदै जाँदा नेपाली बजारमा यतिखेर मजदुर पक्षमा वकालत गर्ने युनियनहरु आ–आफ्ना संगठनमा तर्क–वितर्क गरिरहेक छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस नामले विश्वभर ८० भन्दा धेरै मुलुकमा मजदुरका पक्षमा हक र हितका बारेमा बोल्ने र रोजगार दातालाई परिवर्तित नीति, नियम तथा अन्य विषयमा जानकारी दिँदै स्वतन्त्र ढंगले पेसा र व्यवसायको संरक्षणमा जाँदै गरेको इतिहास रहँदै आएको छ । मे १ अर्थात मजदुर दिवस । १ तारिखका दिन विश्व भर श्रमिकले आफ्नो पेसाको सुरक्षा तथा रोजगारीको ग्यारेन्टी प्राप्त भएको खुसियालीमा श्रमिक दिवस उल्लासमय बनाउने गरेको दृष्यहरु देखिन्छ ।

मजदुरले आन्दोलनको उत्सवकारुपमा मनाइने पर्व भएकाले स्वतन्त्र मुलुकले आधिकारिकरुपमा सार्वजनिक विदा दिँदै आएको छ । आधिकारिक मजदुर दिवस यकिन नभएपनि विभिन्न राष्ट्रले मे फस्टलाई नै जोड दिएको पाइन्छ । ऋतुहरुको राजा वसन्त ऋतुको आगमनसँगै मनाइने दिवसले नेपाल लगायत अन्य अनेकौ राष्ट्रमा उमंग र उत्साह पूर्वक मनाइन्छ । तर अमेरिका लगायतका केही राष्ट्रमा मजदुर दिवस फरक दिनमा मनाउँदै आएका छन् । अमेरिकाको सिकागो सहरमा १८८६ मे ४ का दिन आन्दोलनमा रहेका मजदुरलाई प्रहरीले आक्रमण गर्दै मजदुरको भीडलाई पन्छाउने क्रममा अज्ञात समूह वा व्यक्तिबाट भएको बम हमलाले निकै चर्चा पाएको थियो । यसकारण अमेरिका लगायत अन्य मुलुकमा अन्तर्राष्ट्रिय श्रमिक दिवस हेमार्केट मामलाको स्मृतिमा मनाइने गरेको इतिहास छ । नेपालमा विसं २०६४ सालबाट नेपाल सरकारले आधिकारिक सार्वजनिक विदा दिने चलन बसालेको हो । विदाको घोषणासँगै नेपाली श्रमिकले लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्दै आएका छन् ।

Advertisement

नेपाली श्रम बजार
नेपालमा श्रम बजारको प्रचूर सम्भावना भए पनि यसको लेखाजोखा हुन सकेको छैन । स्वरोजगार मजदुरले सामान्य स्थान पाएको नेपालमा श्रम गरेर खाने बानिमा परिवर्तन हुँदै गएको छ । नेपाल कृषि प्रधान देश भनिन्छ । तर यहाँ कृषिमा मात्र आत्मनिर्भरता हराउँदै गएको छ । श्रम क्षेत्र उत्पादन भन्दा श्रमिक उत्पादन गर्ने देश भनेर चिनिने अवस्थामा पुगेको छ । नेपाली युवायुवती करिव ५०-५२ लाखको हाराहारीमा स्वदेश छाडेका छन् । भारत लगायत तेस्रो मुलुकमा जानेको संख्याका कारण सक्षम र प्रविधि मैत्री मजदुर नेपाली बजारमा अभाव बन्दै गएको छ । भन्न त एसियामा नेपाल श्रमसँग सराकार राख्ने विषय वा नीति नियममा सवैभन्दा राम्रो मानिन्छ । सरकारले दिएको डाटा तथा योजना र प्रभावकारिता शीर्षक हेर्दा लाग्छ अव नेपाली मजदुर विश्वमै उत्कृष्ठ छन् । तर, कागजमा सिमित राख्ने नेपाली परंम्परा र आदतले समस्या परेको हेक्का कमैमात्रलाई थाहा छ ।

औद्योगिक सम्बन्ध र श्रम नीति विषयका गोष्ठीमा सुन्ने भाषणले हलबाट बाहिर जानै नपरेजस्तो हुन्छ । कसैसँग बोल्नु नपर्ने, फटाफट समस्या हल हुने, स्वास्थ्य समस्या पर्दै नपर्ने, रोजगारमा कुनै विभेद नै नहुने, महिला÷पुरुष समान छन् आदि आदि । तर, नेपालमा जताततै समस्या छ । यसका पछाडि सुधारको खाँचो छ । श्रम नीति राम्रो भए पनि व्यवहारिक नीति नराम्रो हुँदा आम श्रमिक पीडामा बाँचेका छन् ।

Advertisement

नीतिगत सुधार छ, योजना छैन
नेपाल सरकारले श्रम सल्लाहकार समिति, न्युनतम पारिश्रमिक निर्धारण बोर्ड, सामाजिक सुरक्षा कोष लगायतका संरचनामा विभिन्न ट्रेड युनियन र रोजगारदाताको प्रतिनिधित्व गराएपनि २१ औं सताब्दीको मजदुर हित हुन सकेको छैन । सरकार फेरियो, नीति बदलियो, राजनीतिक पार्टीहरु मोटाए, मालिक मालिक नै बने तर, मजदुर जहाँको त्यहीँ । समस्या सुधारका नीतिमा नेपालले फड्को मारेको छ । श्रम बजारमा फड्को मार्न सकेको छैन । उद्योग, कलकारखाना, निर्यातमुखि व्यापार, कच्चा पदार्थको संरक्षण तथा बजारीकरण, अर्थमुखि योजना, दक्ष श्रम शक्ति निर्माण तथा नेपाली श्रमबजारलाई प्रभावकारी योजनाको टड्कारो खाँचो छ । नेपाली श्रम बजारमा कृषि उत्पादनमा जोड नदिँदासम्म योजनाले सही आकार लिन सक्दैन । नेपालको भौगोलिक अवस्था, सिञ्चाइ सुविधा, प्रविधि मैत्री तथा आधुनिकीकरण सेवा र बजारीकरणको समस्या हल नभएसम्म श्रम क्षेत्र सुधार गर्न सकिँदैन । श्रमलाई सम्मान नभएको मुलुकमा सुधार गर्न कठिन हुन्छ । श्रमिक स्वयं सीप युक्त र रोजगारमा खुला बजार नहुँदासम्म समस्या सुधार कागजमामात्र हुन्छ । नेपालमा आफन्त रोज्ने, नजिकको हेर्ने, श्रमलाई मुल्यांकन नगर्ने, पैसासँग सर्वपक्ष जोड्ने अनि एकै व्यक्तिबाट सुधारको बढी अपेक्षा गर्ने पद्धतिले जरो गाडेको छ । यसमा न्यूनीकरण र आम सुधार गर्न नेपाली श्रमिकले आन्दोलन नै गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय बजारमा श्रमलाई सम्मान र श्रमिकलाई आत्मसम्मान भएकै कारण विकशित मुलुकमा दर्ज गर्न सफल भएका हुन् । हाम्रा नेपाली दाजुभाइ विदेशबाट फर्कदा यस्तै अनुभव सुनाउँछन् । रोजगार दाता र श्रमिकबीच विभेद नभएकै कारण श्रममा सम्मान हुने गर्दछ ।

श्रमिक र नेपाल ट्रेड युनियन कांग्रेस
नेपालमा श्रमिकको मुद्धा बोकेको जेठो युनियन ट्रेड युनियन कांग्रेसले जुन ढंगबाट मजदुरको हित गर्नुपर्ने हो त्यो गर्नै सकेको छैन । विदेशमा श्रम बेचेर नेपालमा पठाएको रेमिट्यान्सले मुलुक चल्नु पर्ने दुर्दशा सधैंका लागि अन्त्य हुनु पर्नेमा त्यो हुन सकेको छैन । विराटनगर जुटमिलबाट स्वर्गीय गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको नेपाली श्रमिक आन्दोलन आजसम्म पनि जस्ताको तस्तै छ । जुटमिल संकटमा परेजस्तै नेपाली श्रमिक पनि संकटमा छन् । राष्ट्र निर्माणको आधार भनेकै श्रम हो । श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो, मजदुर एकता जिन्दावाद, प्रजातन्त्रको संरक्षण, सम्वद्र्धन, कर्मचारीको हक हितको रक्षा गरौं, सवै मजदुर संगठित होऔं, राम्राकालागि सन्तुलन जे जस्तो नारा बोकेपनि नेतृत्वले नयाँ ढंगको सोच र नीतिगत सुधार नगरेसम्म मजदुर मैत्री नेपाली सहरको कल्पना गर्न सकिँदैन । भन्नका लागि सवैको एकै स्वर भए पनि व्यवहारमा त्यो हुन सकेको छैन ।

नेपाल ट्रेड युनियन कांग्रेसले देश भर मनाउन लागेको मे दिवसका अवसरमा सुधारको खाँचो छ । सवैले भन्न सक्ने र रुचाइने विषयमा बहसमात्र होइन, व्यवहारमै उतार्नु पहिलो कर्तव्य हो । हिजो कसले के ग¥यो भन्दापनि आज मैले के गरेको छु भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ । केन्द्रीयकरण राजनीतिलाई प्रदेशकरण गर्नु पर्छ । जिल्ला जिल्लामा भएको समस्या केन्द्रलाई थाहा हुँदैन, जिल्ला स्वयत्त बन्न सक्नु पर्छ । जिल्लामा समस्या हल गर्न जिल्ला नेतृत्वले पहल गर्नुपर्छ । नेपाली कांग्रेस सरकारमा रहँदा पनि सुधार हुन नसकेको मजदुरका एजेन्डा नेपालमा कहिल्यैपनि सुधार हुन सक्दैन । यस्तो हेक्का गर्दा गर्दै भन्न नसकेका र गर्न नसकेका योजना मजदुरलाई नेपाल ट्रेड युनियन कांग्रेसले थाहा दिन सक्नुपर्छ ।

चिन्ता भविष्यको
नेपाली श्रमिक हिजो पनि चिन्तामा बाँचे, आज पनि चिन्तामा छन्, भोलि पनि चिन्तामै रहनेछन् । किनकी सुधार नीतिको होइन व्यवहारको । बिपी कोइरालाको दोषी चस्मामा केशवराजको जस्तो पीडामा नेपाली श्रमिक अल्झेका छन् । कारण भविष्यले गर्दा हो । जवसम्म कुनै प्रतिष्ठानमा आफ्नो श्रम बेच्दा ‘भविष्यमा मलाई ढुक्क छ’ भन्ने अनुभूति हुँदैन तवसम्म श्रम दिवस मनाउँदैमा कुनै भिन्नता हुँदैन ।

नदीमा पैठेजोरी खेल्दै डुबुल्की मार्दैै बालुवा बेच्ने, बसको छतमा नाङ्गो खुट्टाले उभिएर यात्रुको सामान मिलाउने, बच्चा बुइमा बोकेर भवन निर्माण स्थलमा कराई बोक्ने, खाली खुट्टाले खेत खन्ने, चिसो हात र चिन्ताबोधमा त्रसित हजामले अरुको दाह्री मिलाउने, लेख्दा लेख्दै तलबरहित महिना बिताउने, शक्तिको पूजारी नबन्दा सरुवाको सिकार बन्नुपर्ने, सेतो र कालोकोट लगाएर पनि निर्धारित पारिश्रमिक नपाउने, तातो भट्टीको कारखानाको ज्यान जोखिममा जीवन चलाउने, करारमा काम लगाई हाकिमले नोकरजस्तो व्यवहार गर्ने, घरेलु श्रमको उचित मूल्य नपाउने हाम्रो श्रम बजारमा जति दिवस मनाएपनि सुधार हुन नसक्दा चिन्ता बढ्नुको विकल्प छैन । यस अर्थमा बजारमा देखिएका समस्या समाधान गर्न राज्यलाई दवाव दिन सक्नु पर्छ । राज्यको नीति मजदुर मैत्री नहुँदासम्म देशको सुधार हुनै सक्दैन । १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा आम मजदुरलाई भविष्यको पीडाबाट मुक्त बनाउन सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया