सरकारलाई विप्लवको अल्टिमेटम

समाधान संवाददाता २०७५ चैत १२ गते ९:३७

समाधान

पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशैभरीबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै केपी ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ ।

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउपर्ने क्रम बढेको हो । सो पार्टीका महासचिव रहेका विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै वर्तमान सरकारले चरम फासिवाद लादेको आरोप लगाइएको छ ।

Advertisement

विज्ञप्तिमा सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको टिप्पणी गरिएको छ । पार्टीका स्थायी समिति सदस्य एवं मध्यकमान्ड इन्चार्ज सुदर्शन, पोलिटब्युरो सदस्य जीवन्त, केन्द्रीय सदस्य प्रज्वलन, बन्धुलगायत दर्जनौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा उनीहरुको रिहाइका लागि स्थायी समितिको निर्णयअनुसार चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौं । यो बन्दले कक्षा १० का विद्यार्थीको एसइई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौं ।’

Advertisement

विज्ञप्तिमार्फत चैत २४ गतेसम्मको संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । सो कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा छ । चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रम विरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने सो पार्टीले जनाएको छ ।

विप्लव समूहको हिंसात्मक र विध्वंशात्मक क्रियाकलाप बढ्दै गइरहेकाले त्यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्न यो निर्णय लिएको सरकारको दाबी छ ।

तपाईको प्रतिक्रिया