अधिकार किन नलिने ?

समाधान संवाददाता २०७५ चैत १३ गते ९:२८

विष्णु गुरुङ ‘एकता’

नेताको भाषण मात्र देश बन्दैन । नेपालमा सो–कल्ड ठूला मानिसले अरुलाई मात्र सिकाउने हो भन ठान्छन् । उनीहरुले धन्यवाद भन्नलाई पनि स्वार्थ राख्छन् । साधारण दिनचार्यको व्यवहारमा मिठो बोली, सभ्य व्यवहार कहीं न कतै देख्न–सुन्न पाइँदैन यो समाजमा । सभ्य समाज सुन्दर समाज नै स्वर्ग हैन र ?
देशलाई स्वर्ग तपार्इं हामीले नै बनाउन सक्छौ । त्यसका लागि हरेक नागरिकले आफ्नो सानो जिम्मेवारी हरेक क्षण निभाउनु भने पर्छ । राम्रो कुरालाई आफ्नो स्वाभाव बनाउन सक्नुपर्छ । त्यसका लागि न त कुनै लगानी नै गर्नुपर्छ न त कसैसँग माग्नु नै पर्छ । बल्ल पो यो हो हाम्रो सभ्य संस्कार । यो त यति अनमोल छ किन कि यसले देशको पहिचान दिन्छ र सधैं देशको शिर ठाडो राख्छ । देश बनाउनुछ भने पहिले आफ्नो सानो योगदान किन नदिने ? सभ्य, धनी नेपाली बन्न कसले रोकेको छ हामीलाई ? सधैं नकारात्मक कुरामा मात्र ध्यान दिने, अरुलाई मात्र दोष लगाउने र नेताले मात्र देश बन्छ भन्ने भ्रमबाट हामी हटेर नेतालाई सचेत गराउँदै पहिला आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।

हामी सबैलाई थाहा छ, सभ्य संस्कार अमूल्य धन हो । यसले जीवनलाई धनी बनाउँछ, प्रतिष्ठित बनाउँछ, स्मरण लायक बनाउँछ र मनलाई आनन्द दिन्छ । यस्तो अनमोल कुरा आफंैसँग छ । अरुलाई आजैदेखि किन नदिने ? खुसी पाउन कहीं जानु पर्दैन । स–साना कुराले ठूलो खुसी दिन्छ । अरुलाई केही दिँदा मन आनन्द हुन्छ । कुहिएर झरेर जान्छ दाँत मुस्कान दिऊँ सबैलाई खुसी दिन्छ । संसार हेर्न २ आँखा छन् । सबैलाई राम्रो नजरले हेरांै । रुखो बोली कहिल्यै नबोलौ । यसले अरुको चित्त दुख्छ । सधैं मिठो बोली बोलौ र नराम्रो शब्दहरु दिमागको शब्दकोशबाटै फालिदिऊ ।

प्रशंसा सबैलाई मनपर्छ, त्यसैले दिलदेखिनै धन्यवाद, सरी भन्ने शब्दको प्रयोग गरौं । राम्रो गुण वा कामको प्रशंसा गर्न कहिल्यै पछि नहटौं । अरुलाई दोष लगाएर समय बर्बाद कहिल्यै नगरौं । जिम्मेवारी सम्भरुपमा निभाउने गरौं, जसले गर्दा आफूमा राम्रो क्षमताको विकास हुन्छ । धेरै बोलेर गफाडी हुनुभन्दा थोरै बोलेर धेरै गरांै । झुटो आश्वासन नदिऊ तर सक्ने सहयोग गर्न कहिल्यै पछि नहटांै । समयले कसैलाई पर्खिदैन । समयमा चलांै । अरुको ईज्जत गर्नु भनेकै आफ्नो ईज्जत गर्नु हो । त्यसैले अरुको ईज्जत गरौं र मानिसमा विभेद नगरौं । सबै प्राणीलाई आफ्नो प्राणको माया लाग्छ । हामीलाई जस्तै अरु प्राणीलाई पनि मृत्युदेखि डर लाग्छ त्यसैले हिंसा त्यागौं ।

शैक्षिक योग्यता हासिल गरेर मात्र सभ्य भइँदैन । जो मानिसले अरुका लागि सोच्न सक्दैन उसलाई शिक्षित भनिँदैन । एउटा डाक्टर, नेता वा हाकिमले हजारांै सर्वसाधारणको समयमाथि खेलवाड गर्छ भने उसलाई शिक्षित भन्दिन म । शिक्षित बन्न सभ्य व्यवहार हुनुपर्छ । एउटा सरकारी न्यायधिशले २ बजे समय दिएर ५ बजे उपस्थित हुन्छ । त्यसले सर्वसाधारण माथि पुग्न गएको असरप्रति उनीहरुलाई कुनै मतलब छैन । १ शब्द माफ गर्नुहोला भन्नुकोे सट्टा उल्टै जनतालाई हकार्छ । त्यसलाई म शिक्षित मान्दिन । शिक्षा भनेको ज्योति हो । शिक्षाको उज्यालोले अरुलाई पर्न गएको मर्का बुझ्न सक्नुपर्छ । शैक्षिक शिक्षाले जीवन बाँच्न सजिलो बनाउँछ तर सभ्य व्यवहार बिना जीवन अधुरो हुन्छ । सभ्य, धनी भएर जिउन पाउने हाम्रो अधिकार किन नलिने ?

तपाईको प्रतिक्रिया