होर्डिङ बोर्ड हटाउने महानगरपालिकाको निर्णय विरुद्ध उच्च अदालत

सांकेतिक तस्विर
समाधान संवाददाता
नगरक्षेत्रका होर्डिङ बोर्ड हटाउने पोखरा महानगरपालिकाको निर्णय विरुद्ध उच्च अदालत पोखराले बुधबार अन्तरिम आदेश जारी गरेको छ । महानगरको निर्णयविरुद्ध रामप्रसाद मुल्मी र परिचय एडभरटाइजिङ उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र अधिवक्ता दामोदर अधिकारीको बहसपछि उच्च अदालतका कामु मुख्य न्यायाधीश रामचन्द्र यादवको एकल इजलाशबाट विपक्षीका नाममा कारण देखाउ सहित अन्तरिम आदेश जारी गरेको हो ।
सम्पत्तिको हकमा असर पुर्याउने गरी पोखरा महानगरपालिकाले सूचना पठाएकाले निजी सम्पत्तिमाथिको हस्तक्षेपकारी नीति रोकी पाऊँ भन्दै उच्च अदालतमा मंगलबार रिट दायर भएको थियो । उद्योग धन्दा व्यवसाय गर्ने हक खोसिएको दाबी रिट निवेदनमा गरिएको छ । २०७६ सालसम्म काम गर्न पाउने अवधि हुँदा हुँदै लगानी डुब्ने गरी होर्डिङ बोर्ड राखेका घरधनीहरुलाई पत्र पठाएको निवेदनमा जनाइएको छ ।
अदालतले दुवै पक्षलाई छलफलको लागि चैत २५ गते बोलाएको छ । निवेदकको आदेश किन जारी गर्नु नपर्ने हो ? जारी गर्नु नपर्ने कुनै कानुनसम्मत आधार भए कारण खुलाइ बाटोको म्यादवाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत अदालतले आदेश गरेको छ ।
डिजिटल होर्डिङबोर्ड राख्ने भन्दै महानगरले चैत ५ गतेदेखि सडक वरिपरिका होर्डिङबोर्ड हटाउन सुरु गरेको थियो । महानगर राजश्व शाखाका प्रमुख छवि शर्माले डिजिटल होर्डिङ राख्न सार्वजनिक निजी साझेदारी पद्धतिमा लैजान टेन्डर आह्वान भइसकेको बताए । पोखरा महानगरले होर्डिङ बोर्डका लागि २०७१ सालमा पोखरा उद्योग वाणिज्य संघसँग ५ वर्षका लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता गरेको थियो । उक्त सम्झौता रद्ध गर्ने निर्णय १ वर्ष अघि गरे पनि कार्यान्वयन भएको थिएन । वार्षिक २६ लाख पाउनुपर्ने गरी उवा संघसँग भएको सम्झौताले घाटा पुगेको र हाल १ करोड रुपैयाँ राजश्व पाउनेगरी टेन्डर आह्वान गरेको महानगरले जनाएको छ ।
संघ आफूले काम नगरी छायाँ एड्भर्टाइजिङ कम्पनीलाई होर्डिङ बोर्डको जिम्मा दिएको थियो । परिचयका सञ्चालक सोभित बस्यालले महानगरको अवैज्ञानिक निर्णयका कारण व्यवसाय नै डुब्ने अवस्था आएकाले रिट निवेदन दर्ता गरेको बताए । उनले भने, ‘महानगरले विज्ञापन व्यवसाय व्यवस्थित गरोस र विकल्प दिओस् ।’







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया