पोखरामा साइकलिङ गर्नुको मजा नै छट्टै

समाधान संवाददाता २०७५ चैत १४ गते ८:५२

समाधान संवाददाता

लेकसाइडमा रहेको एक पसलबाट सन्देश भाडामा साइकल लिए । पश्चिम कैलालीबाट पोखरा आइपुगेका उनको लक्ष्य भनेकै साइकल कुदाउनु रहेको सुनाइरहेका थिए । ‘पहिलेपहिले पनि आउँथ्यौं । किन थाहा छैन । तर, पोखरामा साइकलिङ गर्नुको मजा नै छट्टै लाग्छ,’ उनी भन्छन् ।

पोखराकै दिवस गुरुङ साइकल यात्री हुन् । उनको टाउकादेखि हेल्मेट र आँखादेखि चस्मा कहिल्यै हट्दैन । किनभने उनी सधैं साइकलको नजिक हुन्छन् । साइकलिङ संघ पोखरासँग पनि आबद्ध उनी साइकलबाट पोखरामात्रै होइन, गाउँगाउँ पनि पुगिरहेका हुन्छन् ।

Advertisement

‘साइकललाई स्वास्थ्य, वातावरणसँग जोडेर अभियान चलाइरहेको छु,’ दिवस भन्छन्, ‘एक त इन्धन नचाहिने त्यसमाथि शारीरिक तथा मानसिक एक्स्रसाइज पनि हुन्छ ।’ उनी कहिले अप्टिजम् सम्बन्धी कार्ड बोकेर साइकल चलाइरहेका हुन्छन् त कहिले रक्तदान जीवन दान नारा बोकेर । साइकलबाटै उनी देशका प्राय भूगोल चहारिसकेका छन् ।

पोखराकै विशालको सोख पनि साइकल चढ्नु नै हो । सुरुमा अभिभावकसँग साइकल माग्दा हाँसिदिएको स्मरण छ, उनीसँग । ‘पहिलोपटक साइकल किनिदिनु भन्दा त बाबा हाँस्दिनु भाको थियो । तर अचेल कन्भिन्स हुनु भो,’ उनी खुसी हुँदै सुनाउँछन् । अहिले उनी करिब २ लाख मूल्य बराबरको साइकल चलाउँदैछन् । त्यस मानेमा उनको साइकलको सानै फरक छ ।

Advertisement

पोखरा पर्यटकीय गन्तव्य हो । यसअर्थमा पनि धेरै घुम्नै आउँछन् । पोखरा आइपुगेर कोही आकासमा उड्छन्, कोही नदीमा बग्छन्, कोही पैदलैपदल डाँडाकाँडा घुम्छन् । तिनैमध्ये एकथरि आउँछन्, जो साइकलिङमा रुचि राख्छन् । पोखराका साइकल व्यावसायीहरु पोखरेलीहरु बिस्तारै साइकललाई समेत शानका रुपमा उभ्याउँदै आएको बताउँछन् ।

साइकलमा रुचि र शौख भएका २-४ साथीभाइ मिलेर ०६९ सालमा पोखराका केही युवाले ‘साइकल सिटी पोखरा’ संस्था दर्ता गरेका थिए । उक्त समूहले पहिले समय मिलाएर नयाँनयाँ गन्तव्य साइकलबाटै घुम्न जान्थ्यो ।

अचेल उक्त संस्थाले साइकलमात्रै चलाउँदैन । पोखरालाई साइकलमैत्री बनाउन अहोरात्र खटिरहेको छ र गाउँगाउँ पुगरे पर्यटन प्रवद्र्धन पनि गरिरहेको छ । हजारौं साइकल यात्री उतारेर ‘टुर दी पोखरा’ नाम दिएर साइकल ¥यालीसमेत गरिरहेको छ । जुन अहिले पोखरेली ब्रान्ड भइसकेको छ ।

साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्य संस्था स्थापनाकालदेखि नै साइकललाई प्रवद्र्धन गर्न खटिरहेको बताउँछन् । ‘सुरुमा हामीले टुर दी पोखरा आयोजना गर्ने भन्यौं । जुन यही पुसमा मात्र्रै चौथो संस्करण भइसकेको छ । प्रत्येक वर्ष हामीले लामो समयदेखि साइकल चलाउँदै आएकालाई सम्मान गर्दै पनि आइरहेका छौं,’ उनी भन्छन् ।

साइकल व्यावसायी पनि रहेका बज्राचार्यले पछिल्लो समय पोखरामा साइकलको क्रेज पनि बढिरहेको अनुभव सुनाउँछन् । ‘केही वर्षअघिसम्म साइकल प्राय केटाकेटीमात्रै चढ्थे । तर, अहिले त्यस्तो छैन । अहिले २० देखि ५० वर्ष उमेर समूहकाले अहिले म्याक्सिममा साइकल चढ्न थालेका छन्,’ उनी भन्छन् ।
साइकल सिटी पोखराले अहिले प्रत्येक महिनाको पहिलो शनिबार नयाँनयाँ ठाउँ घुम्न जाने अभियान नै चलाइरकेको छ । बज्रचार्यले आफूहरु साइकलिङमात्रै नभएर त्यहाँ लुकेर रहेका विभिन्न संस्कृति तथा सौन्दर्य पक्षलाई समेत बाहिर ल्याउने प्रयत्न गरिरहेको बताए ।

‘पोखरा वरिपरि पनि थुप्रै ठाउँ छन् । जो पर्यटकीय सम्भावना बोकेर पनि गुमनाम छन् । ती ठाउँहरुमा प्राय ठूला गाडी जाँदैनन् । तर, साइकलबाट जान सकिन्छ,’ बज्रचार्य भन्छन्, ‘हामी त्यहाँ पुग्दा त्यहाँको धर्म संस्कृति, रीतिरिवाज, परम्परा आदिबारे बुझ्छौं र प्रचारप्रसारमा सहयोग गरिदिन्छौं ।’

पोखरामा पछिल्लोपटक सभा समारोहमा समेत साइकल ¥याली लोकप्रिय हुँदै आएको छ । सफल पोखरा म्याराथनदेखि आलु महोत्सवसम्म साइकल संघ कास्की र साइकल सिटी पोखरालाई ¥याली गर्न भ्याइभ्याइ हुन्छ । साइकलिङ संघका अध्यक्ष शंकर भण्डारी भन्छन्, ‘पहिले बाइक खोजिन्थ्यो । होहल्ला पनि नहुने, इन्धन पनि नचाहिने र स्वास्थ्यलाई पनि राम्रो हुने भएर अब सबैले साइकल ¥याली नै खोजिरहेका छन् ।’

पोखरामा साइकल लोकप्रिय हुँदै गएपनि साइकल लेन नहुँदा गाह्रो भएको साइकल यात्रीहरुको गुनासो छ । भीडभाडमा छल्लिँदै र ठूला सवारीसाधनको भय बोकेर हिँड्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । साइकलयात्री दिवश गुरुङ भन्छन्, ‘राम्रो साइकल लेन पनि छैन । त्यसमाथि सबै दृश्य कैद गर्न मिल्ने गरी साइकल ट्रेल पनि छैन ।’

फेवाताल, बेगनासताल, रुपाताल लगायत पोखराका ७ वटै ताल समेटेर एउटा भरपर्दो साइकलिङ टे«ल बनाउन सके राम्रो हुने दिवशको सुझाव छ । उनी पोखराका सबै डाँडामा साइकल ट्रेल बनाउन सके पर्यटकीय गन्तव्यमा अझैं सुधार आउने बताउँछन् ।

साइकलिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारी पनि पोखरामा बालबालिकालाई साइकल चलाउनै सकस हुने बताउँछन् । ‘अरु दिन स्कुल हुन्छन् । शनिबार बिदाको दिनसमेत खुलेर साइकल चलाउन मिल्ने वातावरण छैन,’ उनी भन्छन्, ‘बालबच्चा एकछिन साइकल लिएर बाहिर गयो कि डर लागिहाल्छ ।’ पोखरामा अब बन्ने बाटोहरुमा साइकल लेन राख्न पहल गरिरहेको समेत जानकारी दिए ।

सडक विभागदेखि महानगरसम्म संघले साइकलमैत्री बाटो माग गर्दै ज्ञापनपत्र बुझाउँदै आएपनि बेवास्ता हुँदै आएको भण्डारीको आरोप छ । ‘हुन्छ, हुन्छ भन्छन् । तर, काम भने देखिने गरी भएको छैन,’ उनी भन्छन्, ‘संघले आफैं गर्न पनि आर्थिक अभाव झेलिरहेको छ । पुराना बाटा भत्काउँदै नयाँ बनाउन पनि सकिँदैन ।’ पोखरा रंगशालामा साइकल सिक्न चाहनेहरुका लागि ट्रेनिङ सेन्टर स्थापना गरिदिन पनि ताकेता गरिरहेको भण्डारीले सुनाए ।

अहिले दैनिक १ हजारले साइकल चलाउने गरेको संघको अनुमान छ । पोखरामा मात्रै ६ लाख रुपैयाँसम्मका साइकल बिक्री हुन्छन् भने वार्षिक करिब १५ हजार साइकल बिक्री हुने गरेको छ । । पोखराबाटै स्याङजा, बाग्लुङ, पर्वत र तनहुँ लगायत जिल्लामा बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया