पोखराका चर्चित आँगन र मारवाडीका मिठाई स्वास्थलाई हानिकारकः अनुगमन समिति

समाधान संवाददाता २०७५ चैत १४ गते १२:२१

समाधान संवाददाता


पोखराका नाम चलेका साकाहारी रेस्टुरेन्टमा मंगलबार अनुगमन गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले महेन्द्रपुलको मारवाडी भोजनालय, न्युरोडको आँगन, सिर्जनाचोकको जयसवाल भोजनालय, सिमलचौरको अनमोल दूध सप्लायर्समा अनुगमन गरेको हो ।

टोलीमा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्की, उपझोक्ता मञ्चका प्रतिनिधि सहभागी थिए । बाह्रैमास भीड लाग्ने मारवाडी भोजनालयमा दूषित तेलमा खानेकुरा बनाउने गरेको पाइएको छ । गुणस्तर मापन गर्ने मेसिनजडित गाडीसहित टोलीले अनुगमन गरेको थियो ।

Advertisement

एकपटक भाँडामा राखेको तेल पटकपटक तताएर खानेकुरा पकाएका कारण तेल अत्यधिक दूषित भएको खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी बताउँछन् । यस्तो तेलमा पकाएको खानाले जण्डिस हुने, भोक नलाग्ने, ग्यास्ट्रिक हुने लगायत समस्या देखिने अधिकृत सुवेदीको भनाइ छ । उक्त रेस्टुरेन्टमा बनाएको समोसा र तेल टोलीले नस्ट गरेको छ । भान्सासमेत फोहोर भएकाले सुधार्न टोलीले निर्देशन दिएको छ ।

भोजनालयलाई भान्छा सफा गरेर २ दिन भित्र खाद्य प्रविधि तथा डिभिजन तथा गुण नियन्त्रण कार्यालयमा सम्पर्क राख्न टोलीले निर्देशन दिएको छ ।
न्युरोडको आँगन रेस्टुरेन्टमा पनि बिग्रेको तेलमा खानेकुरा बनाएको पाइएको टोलीले बताएको छ । त्यहाँको केही तेल नष्ट गरिएको छ ।

Advertisement

यसैगरी सिर्जनाचोकमा रहेको जयससवाल भोजनालयमा समोसा जेरी लगायतका खानेकुरा पनि दुषित तेलमा बनाएको पाइएको छ । सिमलचौरको अनमोल दूध सप्लायर्सले अनुज्ञापत्र नलिइ घिउ उत्पादन गरेको भेटिएको छ ।

अनुगमनको क्रममा प्रयोग गरिएको घुम्ती प्रयोशाला गाडीमा मंगलबारको लागि मात्र पोखरा ल्याइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कार्यालय प्रमुख प्रशान्त पोख्रेलले बताए । नेपालमा उक्त गाडीमा अत्याधुनिक सामान जडान गरिएको कारण अनुगन गर्न सजिलो भएको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया