दलित–दलितमै भेदभाव किन ?

समाधान संवाददाता २०७५ चैत १६ गते ९:४७

दुलेगौंडा, राजन उपाध्याय

दलित समुदायको अधिकार सुनिश्चित गर्न स्वयं उनीहरु नै सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । वडास्तरीय दलित सञ्जालको आयोजनामा खैरेनीटारमा शुक्रबार सुरु दलित सचेतना कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् । उनीहरुले संविधानले पर्याप्त अधिकार दिए पनि कार्यान्वयन पक्ष फितलो भएको गुनासो गरे ।

शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले अधिकार भएर यसको उपयोग गर्न नसकिए यसको अर्थ नहुने बताइन् । ‘अधिकार आएको छ, तर कार्यान्वयन पक्ष फितलो छ’, उनले भनिन्, ‘यसका लागि तल्लो तहका व्यक्ति जानकार भई क्रियाशील हुनुपर्छ ।’ प्राप्त अधिकार संघर्ष गरेर आएको जानकारी दिदै अब प्रयोग गर्ने समय आएको दाबी गरिन् । उपमेयर रसाइलीले अझै पनि छुवाछुत कायमै रहेको बताउँदै न्यूनीकरणका लागि दलित र गैरदलित दुबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।

Advertisement

उनले दुबैलाई एक र अर्काको आवश्यकता पर्ने बताइन् । न्यायिक समिति संयोजकसमेत रहेकी उनले २ वर्षको अवधिमा पहिलो पटक छुवाछुतको विषयमा उजुरी परेको जानकारी दिइन् । उनले समितिमा दलित र गैरदलितबीचको विवाहका कारण भएको छुवाछुतको विषयमा छलफल जारी रहेको सुनाइन् । वडा नं. ६ का अध्यक्ष कृष्णबहादुर पौडेलले सचेतनालाई अधिकारबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘छुवाछुत लामो समयदेखिको सोच हो,’ उनले भने, ‘हट्नका लागि समय लाग्ने रहेछ, हाम्रो पुस्ताले पछिल्लो समयमा बुझ्दै पनि गएको छ ।’

कार्यपालिका सदस्य भरत लाम्गादेले दलित समुदायबीच नै हुने छुवाछुतका कारण पनि अरु समुदायले नकरात्मक व्यवहार गरेको हुन सक्ने बताए । ‘हामीबीचमै प्रष्ट छैन । परियार र विकबीच सानो ठूलो व्यवहार गरिन्छ,’ उनले थपे, ‘दलितबीचकै छुवाछुत पहिले रोक्नु जरुरी छ, नभए हामी सर्षर्ष गर्न सक्दैनौं ।’ उनले सरकारले दिएका कतिपय अधिकार उपयोग नभएको गुनासो गरे । सहभागी रेशमबहादुर विकले दलित र गैरदलितबीच संयुक्त रुपमा सचेतना कार्यक्रम गर्नाले फलदायी हुने बताए ।

Advertisement

वडा स्तरीय दलित सञ्जालकी अध्यक्ष सेतीदेवी विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता अमृतकुमार नेपाली, विष्णुबहादुर परियार, सञ्जालकी सचिव यामु विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रम आइतबार सकिनेछ ।

तपाईको प्रतिक्रिया