सिपबिनाको शिक्षाको औचित्य छैन: विकास मन्त्री रामशरण बस्नेत

आँधीखोला १ पञ्चमुलको त्रिसहिद नमुना मावि भवन शिलान्यास गर्दै मन्त्री रामशरण बस्नेत । तस्बिर- अर्जुन काफ्ले-समाधान
समाधान
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सिपबिनाको शिक्षाको औचित्य नरहेको बताएका छन् आँधीखोला गाउँपालिका १ पञ्चमूलको त्रिसहिद नमुना माविपञ्चमूल र जनहित मावि राजास्वाराको भवन शिलान्यास गर्दै मन्त्री बस्नेतले शिक्षामा ज्ञानमात्र नभएर सिप हुनुपर्ने खाँचो औंल्याए ।
प्रदेश सरकार प्राविधिक विद्यालय निर्माणमा लागि परेको बताउँदै मन्त्री बस्नेतले प्राविधिक तथा नमुना विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बचन दिए । विगतदेखिको विद्यालयमा रहेको शिक्षा र पठ्यक्रमको युग सकिएको बताउँदै मन्त्री बस्नेतले भने, ‘ज्ञान छ सिप छैन्, त्यो शिक्षा हुनु र नहुनुको अर्थ छैन् ।’ सिप नभएको शिक्षाले बेरोगार युवा उत्पादन गर्ने बताउँदै बस्नेतले ५ वर्षभित्र गण्डकी प्रदेशका ८५ पालिकामा एउटाएउटा प्राविधिक शिक्षालय खुल्ने सुनाए ।
पहिलो वर्ष ऐन, कानुन र व्यवस्थानमा बितेको बताउँदै मन्त्री बस्नेतले अब सरकार बिकासका काममा लागिपरेको बताए । संघले कम रकम विनियोजन गर्दा प्रदेशलाई विकासमा समस्यामा भएको मन्त्री बस्नेतको भनाइ थियो । असार १ मा नयाँ बजेट आएसगै जनतामा खुसीको मुहार देखिने बताउँदै मन्त्री बस्नेतले विकास गर्न कसैले रोक्न नसक्ने विचार व्यक्त गरे । ‘५ वर्षभित्र सरकारले देखिने गरी काम गर्नेछ,’ उनले भने ।
कार्यक्रममा संविधान सभा सदस्य डा. गणेशमान गुरुङ, प्रदेश समा सदस्य मीनप्रसाद गुरुङ, गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, नेकपा नेता शैलेन्द्र घिमिरे, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र गुरुङ लगायतले मन्तव्य राखे । नमुना माविले २८ करोडको गुरुयोजना तयार गरेकोमा पहिलो चरण गाउँपालिकाले ९७ लाखको लागतमा भवन निर्माण सुरु गरेको हो ।
नमुना माविको भवन निर्माण गर्न पञ्च वर्षीय योजनामा काम थालिएको इन्जिनियर प्रकाश पौडेलले जनाए । उनका अनुसार ३ वटा भवनमा आइसिटी भवन, पुस्तकालय, छात्रावास गरी २७ कोठाहुनेछ । यहाँ इन्फरमेसन कम्प्युटर टेक्नोलोजीमा ८,९, १०, ११ र १२ मा कक्षा संचालन गर्दै आएको छ । नेपाल सरकारले जिल्लाको एकमात्र नमुना विद्यालयको रुपमा घोषणा गरेको हो ।
त्रिसहिद विसं१९८७ सालमा राणाकालीन अस्थामा जिल्लाकै पहिलो भाषा पठशाला, २०१४ मा निम्न मावि, २०२४ सलामा मावि, २०६३ मा उमावि हुँदै २०७० सालमा प्राविधिक र २०७४ सालमा नमुना विद्यालय स्थापना भएको हो ।
यस्तै जनहित माविको ४ कोठे भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ६५ लाखको लागतमा निर्माण हुन लागेको हो । असार मसान्तसम्म सक्ने गरी प्राधिकरणले भवन निर्माण अगाडि बढाएको प्राधिकरणका प्रमुख बाबुराम बरालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया