४९ वर्षीय साइकलप्रेमी जसले गरे ६५ औं पटक रक्तदान

समाधान संवाददाता २०७५ चैत १७ गते ८:२४

दमौली, कृष्ण न्यौपाने

पोखरा महानगरपालिका ८ न्युरोड निवासी जितेन्द्रमान शाक्य उमेरले ४९ वर्ष पुगे । उनले हालसम्म ६५ पटक रक्तदान गरेका छन् । पोखरामा आयोजना हुने रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका उनले रगतको अभावमा कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर जनचेतना जगाउँदै आएका छन् ।

रक्तदान गर्दा मान्छे कमजोर हुन्छ भन्ने भ्रम अझै पनि समाजमा कायमै छ । कसैलाई रगतको अभाव भएको खण्डमा हत्तपत्त मानिस रगत दिन अगाडि सर्दैनन् । त्यही भ्रमलाई चिर्दै रक्तदानको प्रेरणा जगाउन शाक्यले हरेक पटक रक्तदान गरेपछि १ सय किलोमिटर साइकल यात्रा गर्दै आएका छन् ।

Advertisement

शनिबार रेडियो अन्नपूर्ण पोखराले आयोजना गरेको रक्तदानमा ६५ आंै पटक रक्तदान गरेपछि दमौलीसम्मको साइकल यात्रामा निस्किएका उनले रक्तदान गरिसकेपछि मानिस कमजोर हुन्छ भन्ने मानसिकता हटाउन साइकल यात्रा गरेको बताए ।

दमौलीमा पुगेका शाक्यले भने, ‘हरेक पटक रक्तदान गरिसकेपछि १ सय किलोमिटरको साइकल यात्रा गर्ने गरेको छु । यसको मुख्य उद्देश्य रक्तदानले मानिस कमजोर हुन्छ भन्ने भ्रम चिर्नु हो ।’

Advertisement

लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष एवं साइकल सिटी पोखराका निवर्तमान अध्यक्ष शाक्यले रक्तदानले मानिसलाई थप स्वस्थ बनाउन सहयोग पुग्ने बताए । रक्तदानको अनुभव सुनाउँदै उनले भने, ‘रक्तदान गरिसकेपछि बिरामीले नयाँ जीवन त पाउँछन् नै त्यसको अलवा आफ्नै शरीरलाई स्वस्थ राख्नसमेत सहयोग पुग्छ ।’

उनले ३-३ महिनामा अन्तरालमा रक्तदान गर्दै आएका छन् । उनले १६ वर्ष अघिदेखि रक्तदान गरिरहेका छन् । पोखरादेखि दमौलीसम्मको ४९ किमी यात्रा उनले साइकलमा करिब २ घन्टाको अवधिमा पूरा गरे । रक्तदान गर्न पाउँदा पुण्यको काम गरेको अनुभव उनले गरे ‘स्वस्थ रहनका लागि विभिन्न उपायमध्ये सरल उपाय रक्तदान हो ।’

६२ औं पटक काठमाडाैंको रक्तसञ्चार केन्द्रमा रक्तदान गरेपछि उनले सिन्धुपाल्चोकको भोटेकोशीसम्म साइकल यात्रा गरेका थिए । त्यस बेला उनले भोटेकोशीमा बञ्जीजम्पसमेत गरे ।

उनले पोखराबाट काठमाडौंसम्मको साइकल यात्रासमेत गरेका छन् । साइकल यात्रा एकदमै रमाइलो हुने उनले बताए । उनी भन्छन्, ‘साइकल यात्रा मेरो लागि कर्म हो, रक्तदान धर्म हो ।’ सानैदेखि साइकल यात्रा गरेको अनुभव सुनाउँदै उनले पोखरामा आफूले दैनिक साइक्लिङ गर्ने गरेको बताए । उनले थपे, ‘सानो हुँदा भाडामा लिएर पनि साइकल चलाउने गर्थें । अहिले त दैनिक साइकल यात्रा गर्ने बानी परिसकेको छ ।’ उनले भने, ‘पोखरामा कसैलाई रगत चाहिएको खण्डमा मलाई सम्पर्क गर्दै आउनुभएको छ । मैले त्यस्ता व्यक्तिलाई रगतको प्रबन्ध मिलाइदिने समेत गरेको छु ।’ नेपाल रक्तदाता स्वयंसेवी समाजमा आबद्ध उनले रगतको अभाव हुँदा बिरामीलाई रगतको व्यवस्था मिलाउन सहजीकरणसमेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया