कहिले आइपुग्ला अधेरीखोलाको पानी ?

समाधान संवाददाता २०७५ चैत १७ गते ८:३२

गोरखा नगरपालिका २ मा अलपत्र निर्माणाधीन अधेरी लिफ्टिङ खानेपानी योजनाका निर्माण सामग्री ।

गोरखा, मोहसिन अली मियाँ

गोरखा नगरपालिका २ ताप्लेको अधेरीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माणको काम १ वर्षअघि नै सकिनुपर्ने थियो । फनबोर्डको आर्थिक सहयोगमा पद्धति विकास सेवा केन्द्रले निर्माण गर्न लागेको आयोजना सम्पन्न गरेर समुदायलाई गत वैशाखमै हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर हालसम्म करिब ३० प्रतिशत पनि काम सकिएको छैन ।

Advertisement

आयोजना अलपात्र हुँदा घरघरमा पानी ल्याउने आशा बोकेका स्थानीय निराश बनेका छन् । करिब डेढ सय घरधुरीलाई खानेपानीको सहज पहुँचमा पु¥याउने लक्ष्यसहित सुरु भएको सो आयोजना निर्माणको जिम्मा लिएको फनबोर्ड र पद्धति नामक संस्था एवं उपभोक्ता समितिको लापरवाहीका कारण काम अलपत्र बनेको स्थानीयको आरोप छ । ‘डेढ वर्षमा घरघरमा पानी ल्याउछौं भनेर काम सुरु गरेका थिए, साढे २ वर्ष भयो’, स्थानीय कमलप्रसाद श्रेष्ठले भने, ‘काम आधा पनि भएको छैन, महिनौं भयो काम रोकिएको, अहिले न पद्धतिले वास्ता गर्छ, न समितिले ।’

फनबोर्डले सञ्चालन गरेको परियोजना नै सकिएपछि सो आयोजना ११ महिनादेखि कर्मचारी विहीन बनेको छ । २०७३ साल साउनदेखि काम सुरु गरेर २०७५ वैशाख १५ सम्ममा निर्माणको काम सक्ने गरी पद्धति र समितिबिच सम्झौता भएको थियो । फनबोर्डको नियम अनुसार लागत बजेटमा ३ प्रतिशत रकम लगानी र २० प्रतिशत श्रमदान उपभोक्ताले व्यहोर्नुपर्ने थियो । सोही अनुसार काम सुरु नहुँदै साविकको ताप्ले ५ का झण्डै १ सय २० घरधुरीबाट ४ हजारका दरले समितिले रकम संकलनसमेत गरे । ‘घरमा पानी आउछ भनेपछि २ वर्षअघि नै हामीले ४ हजारका दरले पैसा पनि तिरेका छौ’, श्रेष्ठले भने, ‘काखमा स–साना बच्चा बोकेर ३० औं दिनसम्म यहाँका महिलाले श्रमदान गरेका छन्, अहिले न पैसा फिर्ता पाइन्छ, न पानी नै आउछ ।’

Advertisement

योजना निर्माणका क्रममा फनबोर्डले ३५ लाख ७६ हजारमध्ये बिभिन्न चरणमा गरी उपभोक्ता समितिको खातामा ३१ लाख २५ हजार ३ सय ८७ रुपैयाँ जम्मा गरिसकेको छ । १ सय २० उपभोक्ताबाट संकलन भएको ४ लाख ७८ हजार रकम पनि समितिकै खातामा छ । यता पद्धति विकास सेवा केन्द्र पनि योजना अलपत्र पर्नुमा समिति नै दोषी रहेको बताउँछ । ‘योजनामा हामीले त समन्वयमात्रै गरिदिने हो, फनबोर्डले सिधै समितिकै खातामा पैसा हाल्दिने नियम हुन्छ, प्राविधिक सहयोगमात्रै हाम्रो हुन्छ’, संस्थाकी स्वच्छता प्रवद्र्धन प्रतिनिधि रचना लामिछानेले भनिन्, ‘सबै जिम्मा समितिको नै हो, सामान किन्नेदेखि काम लगाउने सबै उहाँहरुले नै हो । वैशाखबाट कर्मचारी पनि छैनन् । अब काम कसरी गर्ने हामी नै अलमलमा छौं ।’

लामिछानेका अनुसार योजना निर्माणका क्रममा समितिले हालसम्म संस्थामा हरहिसाबसमेत बुझाएको छैन । ‘फिल्डमा कति काम भयो, कतिको सामान किन्नुभयो, बैंकमा कति रकम बाँकी छ, उपभोक्ताबाट कति रकम उठेको छ, त्यो केही रेकर्ड हामीसँग छैन’, उनले भनिन्, । यता समितिका अध्यक्ष देवीप्रसाद श्रेष्ठ भने पद्धतिकै कारण निर्माण कार्यमा ढिलाइ भएको दाबी गर्छन् । पद्धतिबाट खटिएका प्राविधिकले गरेको गलत इस्टिमेटका कारण निर्माणमा ढिलाइ भएको उनको तर्क छ । ‘सुरुमा इन्जिनियरले एउटा इस्टिमेट गर्नुभयो हामीले सबै त्यै अनुसार तयारी गर्‍यौं, सामान ल्यायौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर बीचमा सबै चेन्ज गरिदिनुभयो, सामान कुनै काम लागेन, सबै फिर्ता गर्नुपर्‍यो ।’

प्राविधिकले १ करोड ७ लाख इस्टिटमेट गरे पनि फनबोर्डबाट जम्मा ३५ लाख मात्रै प्राप्त भएकाले अरु रकम उपभोक्ताबाट रकम उठाएर काम गराउनुपर्ने भएकाले समस्या भएको श्रेष्ठ बताउँछन् । उपभोक्ता समितिका अन्य सदस्य भने समितिभित्रकै किचलोका कारण पनि निर्माण कार्यमा ढिलाइ भएको दाबी गर्छन् । ‘समितिभित्रै समस्या छ, कहाँ के कति खर्च भयो हामी कसैलाई थाहा हुँदैन, न मिटिङ हुन्छ, न काम अघि बढ्छ’, उपाध्यक्ष खिलबहादुर थापाले भने । झण्डै ३ किलोमिटर तलबाट लिफ्टिङ गरेर ताप्लेको गाइखुर, नेवारगाउँ, थापागाउँका घरघरमा खानेपानी कहिले आइपुग्ला, स्थानीय असीमित पर्खाइमा छन् ।

तपाईको प्रतिक्रिया