राजधानीलाई पोखरेली निम्तो

समाधान संवाददाता २०७५ चैत १७ गते ८:५२

समाधान संवाददाता

आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान २०७५’ सञ्चालन गरेका छन् । पर्यटकीय नगरी पोखरामा धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् ।१७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो पटक पनि पश्चिमाञ्चल होटल संघ पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा लगायत विभिन्न पर्यटनसँग समबन्धित संस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिँदै पोखरा भ्रमणका लागि निम्तो बाँडेका छन् ।

काठमाडौँमा शनिबार पत्रकार सम्मेलन गरी व्यवसायीले सो अभियानमा सहभागी हुन काठमाडौँवासीलाई आग्रह गरेका छन् । संघका अध्यक्ष विकल तुलाचनले पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्ने विगतमा झै यो पटक पनि जाउँ है पोखरा अभियानमार्फत धेरै संख्यामा पर्यटक आकर्षण गर्न तथा उनीहरुको बसाइँ अवधि लम्ब्याउन अभियानलाई निरन्तरता दिइएको बताए । पोखरा ६० प्रतिशत आन्तरिक पर्यटनले धानेको उल्लेख गर्दै उनले गण्डकी प्रदेश सरकारले पनि ‘आन्तरिक पर्यटन वर्ष २०१९’ मनाइरहेको सन्दर्भमा अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

Advertisement

स्वदेशी र विदेशी गरी वार्षिक १० लाख हाराहारी पर्यटकले पोखरा भ्रमण गर्ने गरेका छन् । कार्यक्रम अन्तर्गत यस पटक काठमाडौँहुँदै जनकपुर, चितवन, लुम्बिनी र पोखरामा सरोकारवालासँग अन्तक्र्रिया गरी पोखरा भ्रमणका लागि आग्रह गरिने आयोजकले जनाएको छ ।

फेवा नववर्ष महोत्सव
अभियानको मुख्य कार्यक्रमको रुपमा यही चैत २९ देखि आगामी वेशाख १ गतेसम्म पोखराको फेवा ताल किनारस्थित कोमागाने पार्कमा १६ औँ ‘फेवा नववर्ष महोत्सव २०७६’ आयोजना हुने भएको छ । नेपाली संस्कृति, खाना र सङ्गीतको प्रवद्र्धन गर्ने उद्देश्यसहित विभिन्न पर्यटनसँग सम्बनिधत संस्थाको सहयोगमा सङ्घले महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ३ दिने महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, ख्यातिप्राप्त कलाकारको प्रस्तुति तथा बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम, पर्यटक दौड, डुङ्गा दौडप्रतियोगिता आदि आकर्षण रहनेछन् । महोत्सवकै अवसरमा होटल तथा रेस्टुरामा १५ प्रतिशत छुट तथा विशेष प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Advertisement

प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष र संघीय सरकारले अघि बढाएको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय गतिविधि बढाउने लक्ष्यका साथ कार्यक्रम गरिएको सङ्घका अध्यक्ष तुलाचनको भनाइ छ । होटल सङघका केन्द्रीय प्रथम उपाध्यक्ष सिर्जना राणाले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्षलाई प्रभावकारी बनाउन अभियान उपयोगी बन्ने धारणा राखे ।

बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले नेपालमा आन्तरिक पर्यटनको माहौल सिर्जना गर्न सफल भएको बताए । बोर्ड कार्यालय पोखराका प्रमुख मणि लामिछानेले आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्ता अभियानको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया