भ्रष्टाचारको जड
हिन्दी फिल्म गब्बर इज ब्याकमा एउटा संवाद छ—जबसम्म भ्रष्टहरुका विरुद्ध आफन्तहरुले आवाज उठाउँदैनन्, तबसम्म उनीहरुको मनोबल बढीरहन्छ । हो, साँच्चै हामी जसले जति भ्रष्टाचार गरेर कमाइ गरे पनि उसलाई नमस्ते गरिरहन्छौं । अभिनन्दन गरिरहन्छौं । उल्टै मान सम्मान गरिरहन्छौं ।
बरु इमान्दार कर्मचारी र अरु पेसाकर्मीलाई दुत्कार्छाैं र उल्टै भ्रष्टको उदाहरण दिँदै फलानाले यति कमायो, उति कमायो तर ढिस्कानाले कमाउनै सकेन भन्छौं । हो, भ्रष्टाचारको जड यही हो । इमान्दारलाई हेलाँ गर्नु र भ्रष्टाचारीकोको जयजयकार गर्नु हाम्रो ठूलो मूर्खता र भूल हो । त्यही कारण नै भ्रष्टाचारीहरुलाई अझै भ्रष्टाचार गर्न प्रेरणा मिलेको छ, आँट मिलेको छ । तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा गण्डकी प्रदेश सभाको लेखा समितिले राखेको बैठकका सहभागीहरुले निकालेको निष्कर्ष छ—भ्रष्टाचारको जडः गलत राजनीति र सामाजिक कुसंस्कार ।
राजनीति भनेको सेवा गर्ने कर्म हो । तर यहाँ राजनीति मानिसहरुको पेसा बनेको छ । कमाइ खाने माध्यम बनेको छ । जीवनको उर्वर समय भ्रष्टाचार गरी पैसा कमाएर प्रतिष्ठाका लागि मानिस राजनीतिमा आएका छन् । राजनीतिले त भ्रष्टाचारीहरुलाई दण्डित गर्नुपर्ने हो तर स्वागत गरिरहेको छ, चोख्याइरहेको छ । अघि भने झैं समाजमा पनि कुसंस्कार छ कि जसले जति भ्रष्टाचार गरेर पैसा कमायो उसैको इज्जत हुने । हामी व्यापार व्यवसाय गरी कमाउने मान्छेलाई ठगको दर्जामा राख्छौं तर राजनीति गरेर महल ठड्याउनेहरुलाई इज्जत दिन्छौं ।
यही हो नेपाली समाजको वास्तविक कमजोरी । नियम पूर्वक पैसा कमाउन उद्यमधन्दा गर्ने वातावरण दिनु पो राज्यको कर्तव्य हो, समाजको कर्तव्य हो । जति उद्यमधन्दा फस्टायो उति नै समाज धनी हुने हो, राष्ट्र धनी हुने हो । तर दलालधन्दालाई फस्टाउने मौका हाम्रो सामाजिक कुसंस्कारले दिएको छ ।
नेपाल विश्वका देशहरुमा १२४ औं भ्रष्ट देशमा गणित छ । जब कि पोहोरमात्रै १२२ औं स्थानमा थियो । दक्षिण एसियाका ८ देशमध्ये पाँचौं भ्रष्ट देशमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको अनुसन्धानको तथ्यांकले त्यसै भन्छ । भ्रष्टाचारीको सट्टा सदाचारी देशमा रुपान्तरित हुनुभन्दा झन्झन् भ्रष्टाचारीमा दर्ज भइरहेको छ नेपाल । अझै पनि हामीले चेतेका छैनौं । भ्रष्टाचारी हुनु त पक्कै गर्वको कुरा होइन ।
नेपालीको शिर यस्तो अवस्थाले संसारैभरि झुक्छ । वीर गोर्खाली भनेर स्वाभिमानका साथ विश्वमा शिर उचो बनाउन यो देशबाट हामीले भ्रष्टाचारको जरो उन्मूलन गर्नुपर्छ । उन्मूलन असम्भव भए नियन्त्रण त पक्कै गर्नुपर्छ । कम्तीमा कम भ्रष्टाचार हुने देशमा गणना हुनुपर्छ ।
त्यसका लागि सबैभन्दा पहिला राजनीतिक र सामाजिक संस्कार ठिक हुनुपर्छ । राजनीति गर्नेहरुले दृढ संकल्पित भएर आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने कठोर व्यवहार प्रदर्शन गर्नुपर्छ । समाजका सबैले भ्रष्टाचारको सट्टा सदाचारी व्यवहार रोज्नुपर्छ ।
तपाईको प्रतिक्रिया