शुक्ला साहित्य संगमद्वारा पुरस्कार प्रदान

समाधान संवाददाता २०७५ चैत १७ गते १२:०५

समाधान संवाददाता
दुलेगौंडा

शुक्ला साहित्य संगम तनहुँले स्थापना गरेको विभिन्न पुरस्कार शनिबार प्रदान गरिएको छ ।

तनहुँको शुनपा ४ दुलेगौंडामा आयोजित कार्यक्रममा शुक्ला विशिष्ट पुरस्कार कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कार सिराहाका साहित्यकार धिरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कार कवि जगन्नाथ पौडेल र सुश्मा सिग्देल र शुक्ला बाल प्रतिभा पुरस्कार अमृत ढकाललाई प्रदान गरिएको हो । उनीहरुलाई राष्ट्र बैंकका पूर्व गभर्नर एवं लेखक दीपेन्द्रबहादुर क्षेत्रीले पुरस्कार प्रदान गरे ।

Advertisement

शुक्ला विशिष्ट पुरस्कार नगद १५ हजार, शुक्ला पुरस्कार नगद १० हजार, प्रतिभा पुरस्कार नगद ५ हजार र बाल प्रतिभा पुरस्कार २ हजार ५ सय नगद तथा सम्मानपत्र रहेको छ । गुल्मीका डा. ज्ञावली नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउनुका साथै त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् । पत्रकारितामा सक्रिय प्रेमर्षि मैथिलीमा कलम चलाउँदै आएका छन् ।

८२ वर्षीय कवि पौडेल शुनपा ६ र सिग्देल दुलेगौंडाका हुन् । बाल प्रतिभा पुरस्कार पाएका ढकाल पञ्चमुनिदेव माविमा अध्ययनरत छन् । दुलेगौंडामा स्थापित संगमले गत वर्ष ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी यसवर्षबाट पुरस्कार प्रदान गरिएको हो । शेषमणि आचार्यको संयोजकत्वमा गठित ५ सदस्यीय छनौट समितिले पुरस्कृत स्रष्टा छनोट गरेको हो ।

Advertisement

पूर्व गभर्नर क्षेत्रीले मोफसलमा रहेर साहित्यिक सेवामा लाग्नु कठिन कार्य भएको बताए । उनले साहित्यले जीवनलाई छुनुपर्ने उल्लेख गरे । ‘धनी होस् वा गरिब साहित्यले सबैलाई छुनुपर्छ,’ उनले भने, ‘सबैको मनमा बस्ने भएकाले सचेतना दिलाउन पनि लाग्नुपर्छ ।’ समाजमा भएका विषयलाई स्पष्टसँग साहित्यले समावेश गर्दा व्यापक जनसहभागिता पाउने उनको भनाइ थियो ।

सम्मानित स्रष्टा कवि तथा साहित्यकार डा. ज्ञवालीले कवि सामाजिक दायित्व बहन गर्न सक्ने खालको हुनुपर्ने बताए । ‘मनोरञ्जनका लागि मात्र लेख्ने कवि हुँदैनन्,’ उनले थपे, ‘समाज रुपान्तरण र चेतना परिष्कृत गर्ने खालको कवि हुनुपर्छ ।’ संगमका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सम्मानित स्रष्टा धिरेन्द्र प्रमेर्षि, नेकपा गण्डकी सदस्य ओम कुमारी पौडेल, शुनपा–४ का अध्यक्ष शिवकुमार श्रेष्ठ, प्रगति लेखक संघ गण्डकीका अध्यक्ष लोकबहादुर थापा, पञ्चमुनिदेव माविका प्रधानाध्यापक ध्रुवकुमार मल्ल, संगमका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ, सचिव बेनुप्रसाद खतिवडा लगायतले बोलेका थिए ।

कार्यक्रमबीच संगमले प्रकाशन गरेको ‘शुक्ला प्रवाह’ लघु कथा विशेषांक २०७५ विमोचन गरिएको थियो । पुस्तकमा १ सय २ लघुकथा समावेश छन् । लघु कथाको समीक्षा गर्दै समीक्षक विज्ञान आचार्यले अधिकांश कथाले सहरी परिवेश झल्काएको बताए । सो अवसरमा संगमका संरक्षक शेषमणि आचार्यले वार्षिक ५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने घोषणा गरे ।

तपाईको प्रतिक्रिया