सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई पक्रन गस्ती

समाधान संवाददाता २०७५ चैत १८ गते ८:२६

विकास रोकामगर

‘ए हजुर तपाईंको घर, पसल अगाडि फोहोर देखिएको छ नि ! फोहोरको जिम्मेवारी तपाईं नै हुनुहुन्छ !’ पोखरा ९ का अधिकांश घर तथा पसलअघि यस्तै लेखिएका पोस्टर टाँसिएका छन् । कुनैकुनै घर तथा पसलले ती पोस्टर च्याटेर फ्यालिसकेका छन् त कुनैमा अझै उस्तै अवस्थामा छन् ।

‘सफा सुन्दर पोखरा सहर, जरिवाना लिने हैन हाम्रो रहर’ काव्यात्मत्मक शैलीमा नारा पनि लेखिएको छ । फोहोर फाल्ने गाडी नआए सम्पर्क गर्नुहोला भनेर नम्बर पनि उपलब्ध गराइएको छ ।

Advertisement

उल्लिखित पोस्टर पोखरा ९ वडा कार्यालयले त्यत्तिकै टाँसेको होइन । पटकपटक सार्वजनिक ठाउँमा फोहोर नफाल्न अनुरोध गर्दा पनि अटेरी गरेपछि जरिवाना तिराएर पोस्टर टाँसिदिएको रहेछ, वडाले ।

वडालाई पूर्ण सरसफाइयुक्त क्षेत्र घोषणा गरिसकेपछि पनि सधैं अटेरी गर्ने घरबेटी तथा व्यवसायीलाई वडाले घर तथा पसलमै यसरी पोस्टर टाँसेर सुसूचित गरिरहेको छ । अटेरी गर्नेलाई कारबाही गरिरहेको छ । त्यसपश्चात पनि अटेर गर्नेलाई प्रहरी प्रशासन नै लगाइरहेको छ । यतिमात्रै नभएर वडाले फोहोर फाल्नेलाई कारबाही गर्न रातको समयमा पनि गस्ती गर्न समिति नै बनाएको छ ।

Advertisement

‘गाडी जहिल्यै आउँछ । तर व्यवसायी तथा घरबेटीले रातको मौका पारेर बाटोबाटोमा फोहोर फालेर हैरानै बनाए,’ पोखरा ९ वडाअध्यक्ष रामराज लामिछानेले भने, ‘अति भएपछि हामी नै सडकमा उत्रेर उनीहरुलाई पक्रन बाध्य छौं ।’ गस्ती बस्न थालेपछि सडकमा कम फोहोर देखिन थालेको उनको दाबी छ ।

रातको समयमा गस्ती बस्न वडा सदस्य राममाया मानन्धरको नेतृत्वमा टोली खटिन्छ । गस्ती गर्ने बाँकी टोलीमा स्थानीय नै हुन्छन् । उनीहरु बिनापारिश्रमिक पालैपालो घरघरबाट सडकमा आउने गरेका छन् । तर वडाध्यक्ष लामिछानेले त्यसका लागि अनिवार्य नरहेको भने प्रष्ट पारे ।

‘वडाले नै छाता, ज्याकेट, पञ्जाजस्ता आवश्यक सामान दिइरहेको छ । त्यसबाहेक उहाँहरुले अन्य पारिश्रमिक लिनुहुँदैन,’ वडाध्यक्ष लामिछानेले भने, ‘सधैं एउटै घरको गस्तीमा हिँडेपछि कहिलेकाहीं त लाजै मानेर पनि कुनैकुनै घरधनी सडकमा आउनुहुन्छ ।’ उनले वडालाई सफा राख्न स्थानीय स्रोत र साधनको प्रयोगलाई नै महत्व दिइरहेको बताए ।

१० महिनादेखि निरन्तर गस्ती टोली बाटोमा उत्रिरहेको छ । टोलीमा कहिले १० त कहिले २० जना हुन्छन् । पोखरा ९ वडा सदस्य लोकदर्शन कोइरालाले टोली करिब साढे १० बजेसम्म नयाँ बजार र न्युरोडका सडकमा गस्ति बस्ने जानकारी दिए ।

‘सबै सुतिसके भन्ने बेला फोहोर फाल्ने सडकमा आउँछन् । हामी पनि त्यति नै बेला सडकमा गएर समाउन पुग्छौं,’ कोइरालाले भने, ‘सुरुमा त्यसरी पक्रेकालाई सामान्य सुझाइबुझाइ गरेर पठाउने गरेका छौं ।’ उनी अहिलेसम्म दर्जनभन्दा बढीलाई त्यसरी रंगेहात फेला पारिसकेको बताउँछन् ।

सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई प्रमाणसहित पक्रन नसके पनि उनीहरुले फालेको फोहोरबाटै प्रमाण जुटाएर नियन्त्रणमा लिइरहेको वडा सचिव कोइरालाले जानकारी दिए । उनले भने, ‘उहाँहरुले फोहोर फाल्दा कुनै न कुनै प्रमाण छोड्नु भएकै हुन्छ । जस्तो कि फोन नम्बर, बिल, कार्ड इत्यादि । हामी त्यसैका आधारमा नियन्त्रणमा लिइरहेका छौं ।’

वडाले सार्वजनिक फोहोर फाल्नेलाई सय रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म जरिवाना गरेको छ । ‘उहाँहरुलाई जरिवाना गर्दा आइन्दा फोहोर नफाल्ने सहमतिपत्रमा सहीछाप गराउँछौं,’ कोइरालाले भने, ‘नमाने प्रहरी प्रशासनलाई पनि गुहारिरहेका छौं । केहीलाई त प्रहरीले नियन्त्रणमा पनि लिइसकेका छन् ।’

वडाले सेती नदीमा फोहोर फाल्नेलाई नियन्त्रणमा लिइरहेको बताएको छ । वडाध्यक्ष रामराज लामिछानेले अन्य वडाको तुलनामा वडा ९ मा बढी जनघनत्व भएकाले फोहोर व्यवस्थापन गर्नै कठिनाइ भएको सुनाए । ‘सेती नदीमा फोहोर फाल्ने मन्दिरका पुजारीलाई पनि कारबाही गरेका छौं । यति हुँदाहुँदै पनि जनघनत्व बढी भएर व्यवस्थापन गर्नै चुनौती भइरहेको छ,’ उनले भने ।

पोखरा ९ को फोहोर उठाउन महानगरले सार्वजनिक निजी साझेदारीको अवधारणामा सुन्दर वातावरणीय नेपाल संस्थालाई जिम्मा दिएको छ । उक्त संस्थाले पोखरा ९ सहित वडा नम्बर ३, ४ र ८ हेर्ने जिम्मा लिएको छ । ४ वडा हेर्न ४ वटा गाडी प्रयोग गर्ने उक्त संस्थाले आवश्यकता अनुसार काम नगरेको वडाध्यक्ष लामिछानेको आरोप छ ।

‘कहिले ३-४ दिननै फोहोर उठाउन आउँदैन । त्यसले गर्दा स्थानीयलाई फोहोर घरमै कुहाउन बाध्य छन्,’ लामिछानेले भने, ‘हामीले नै पटकपटक समयमै आउन भनिसक्यौं । तर, अटेरी गरिरहेको छ । हामी नै हैरान भइसक्यौं ।’ उनले फोहोर उठाउने गाडीको अनियमितताबारे महानगरलाई सूचित गरिसकेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया