सफा सहर, जिम्मेवार नागरिक

समाधान संवाददाता २०७५ चैत १८ गते ९:००

बुद्धि मल्ल

पोखरा महानगरपालिकाले प्रत्येक हप्ता बृहत सरसफाई कार्यक्रम गर्न लागेको १ सय ४८ हप्ता पुगिसकेको छ । यस अभियानमा पोखराका विभिन्न संघसंस्था, नागरिक अगुवा तथा सर्वसाधारण स्वत स्र्फूत संलग्न भइरहेका छन् । अभियानका अगुवा राम पौडेल लगायत अन्य केही व्यक्ति अभियानको सुरुदेखि नै निरन्तर खटिनुभएको छ ।

सफाई अभियानको १ सय ४८ औं हप्तासम्म आइपुग्दा अभियानले पोखरा महानगरपालिकालाई सफा राख्न केही हदसम्म सफल पनि भएको छ । यो अभियानमा साथ दिनु सम्पूर्ण जिम्मेवार नागरिकको दायित्व हो । केही अभियानकर्ता पहिलो हप्ताको कार्यक्रमदेखि नै सक्रिय रुपमा महानगरको जुनसुकै क्षेत्रमा पनि पुगेर सफाई कार्यक्रममा खट्टिनु भएको छ ।

Advertisement

तपार्इं हाम्रो घर–आँगनमा सरसफाई गर्न महानगरको कुनाकुनाबाट अभियानकर्ता आउनु हुँदा के हामी मुकदर्शक बनेर उहाँहरुले सफाई गरेको हेर्ने ? के हाम्रो नैतिकताले मिल्छ ? आफ्नो घर–आँगन, टोल सफा राख्नु हाम्रो कर्तव्य होइन ? यो कुरा बुझ्नु जरुरी छ कि, हाम्रो फोहोरमा बस्ने बानीपरेको छ । आफ्नै घर–आँगन अगाडि फोहोर हुँदासमेत हामी सफा नगरी बस्छौं । त्यसैले अभियानकर्ताहरु तपार्इं हामीलाई सफा वातावरणमा राख्नका लागि हाम्रो घर अगाडि सरसफाई गर्न आउनुपरेको हो । यस्तो फोहोरमा बस्ने बानी कहिलेसम्म बसाल्ने ? अब सोंच्नु जरुरी छ ।

विडम्बना नै मान्नुपर्छ कि, हामी कतिपयले अझैंसम्म आफ्नो घर–आँगन फोहोर भएको हेरेर बसिरहेका छौं भने सरसफाई अभियनकर्ताहरु अझै पनि हामीले गरेको फोहोर सफा गरेर थाक्नु भएको छैन । अब जाग्न कत्ति पनि ढिलाई नगरौं । सरसफाई अभियनकर्ताहरु हाम्रो घर–दैलोमा आउनुभयो भने उहाँहरुलाई आजसम्म हाम्रो घर–दैलो सफा गरिदिनुभइ हाम्रो आँखा खोलिदिनुभएकोमा धन्यवाद दिई अब हाम्रो घर–दैलो, टोल सफा गर्ने जिम्मेवारी लिन्छौं भनेर भन्न सक्यौं र जिम्मेवारी पूरा ग¥यौं भने पोखरा सधैं सफा रहने छ ।

Advertisement

सहरलाई सफा राख्नका लागि मुख्य रुपमा राम्रो फोहोर व्यवस्थापन हुनु जरुरी छ । फोहोर व्यवस्थापन पछि यातायात पूर्वाधार तथा व्यवस्थापनले सहर सफा राख्न मुख्य भूमिका खेल्छ । पोखरामा बढ्दो जनसंख्या तथा सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दा ढल व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा यातायात पूर्वाधारको विषयमा अहिल्यैदेखि नै सोंच्नु जरुरी छ ।

क्यानाडाको क्यालगरी सहर संसारकै सबभन्दा सफा सहर मानिन्छ । करिब १३ लाख जनसंख्या भएको सहर सफा राख्नु सजिलो काम होइन तर, त्यहाँ सहर सफा राख्न सफा पानीको उपलब्धता, राम्रो ढल व्यवस्थापन, राम्रो ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन तथा पुन प्रयोग व्यवस्थापन र वायु प्रदुषण नियन्त्रण आदि व्यवस्थापनलाई मुख्य जोड दिएको पाइन्छ । कुनै पनि समस्या समाधान गर्नका लागि त्यो समस्याको कारणहरु पत्ता लगाउनु पर्छ । सहर फोहोर हुने समस्या छ भने किन छ भन्ने पत्ता लगाउनुपर्छ । भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेश हुन्छ । सहर सफा राख्नका लागि हामीले सर्वप्रथम आफ्नो घर–आँगनमा फोहोर गर्न नदिने उपाय खोज्नुपर्छ । जसका लागि आफ्ना परिवारका सदस्यलाई फोहोर व्यवस्थापन गर्ने राम्रो संस्कृतिको विकास गर्नुपर्छ ।

संसारका सहरहरु के कारणले गर्दा सफा भएका छन् ? यो प्रश्नको जवाफ खोज्ने हो भने त्यहाँका नागरिकमा एउटा राम्रो संस्कृतिको विकास भएको पाउँछौं । उनीहरु सहरमा किनमेल गरिसकेपछि प्लास्टिक, बोत्तल अथवा अन्य कुनै पनि वस्तु जथाभावी फाल्दैनन् । ती वस्तु फाल्न डस्टबिन खोज्छन् । यदि डस्टबिन फेला पारेनन् भने घरसम्म नै बोकेर ल्याउँछन् । घरमा आफ्ना परिवारलाई, बच्चालाई सानैदेखि नै यस्ता संस्कार सिकाउनुपर्छ । बच्चालाई सिकाउने हो भने पहिला आफूले त्यो संस्कार देखाउनुपर्छ । अहिले नेपालमा ठूलाबडाले पनि बाटोमा फोहोर फाल्नुलाई सामान्य कुरा मानेर फाल्ने गर्छन् र त्यसको देखासिखी गरेर बच्चाले पनि यसलाई सामान्य मानिरहेका छन् । बच्चालाई जथाभावि फोहोर फाल्नु खराब मानिसको चरित्र हो भनेर सिकाउनुपर्छ ।

जापानमा स्कुलदेखि नै बच्चालाई जिम्मेवार नागरिक हुँ भन्ने भावनाको विकास गर्न आफ्नो कक्षाकोठा, ट्वाइलेट सफा गर्न लगाउने प्रचलन छ । उनीहरुलाई आफ्नो कक्षाकोठा, स्कुल सफासुग्घर राख्नुपर्छ भनेर स्कुलबाट नै सिकाइन्छ÷गर्न लगाइन्छ । जापानको यस्तो संस्कारने गर्दा संसारको सबभन्दा बढी जनघनत्व भएको १ करोड ३८ लाख मानिस बसोबास गर्ने टोकियो सहर पनि सफा सहरमा गनिन्छ ।

जापानी लेखक मेरी कोण्डोले भनेका छन्– सरसफाई गर्नुको उद्देश्य सफा राख्नुमात्र नभइ उक्त वातावारणको माध्यमले मानिसले जीवनमा खुसी जीवन बिताउनु हो । पोखरा नेपालको मात्र नभइ संसारकै एक उत्कृष्ट गन्तव्य भएकोले पर्यटक पोखरामा रमाउन चाहन्छन् । यो सहर प्रकृतिक सुन्दरतमको साथसाथै तुलनात्मक रुपमा नेपालको अन्य सहरभन्दा सफा भएकोले पनि पर्यटक यहाँ रमाउँछन् । तर सहरीकरणले प्रदुर्शन सँगसँगै ल्याउने भएकोले यस सहरको प्रदुषण रोक्न पहल गरिएन भने पर्यटन व्यवसायमा ठूलो असर पर्न गइ पोखरालगायत समग्र देशको आर्थिक विकासमा समेत प्रतिकूल असर पर्छ ।

मानिस चेतनशील प्राणी भएकोले उसलाई सफा चिज मनपर्छ । सफा भनेको खुसीको प्रतीक हो । कुनै सफा चिज देख्यो भने वाह ! भनेर लोभिन्छ । आफ्नो घर सफा राख्नु भनेको घरमा खुसी निम्त्याउनु हो । त्यस्तै टोल सफा राख्यौं भने टोलमा खुसी निम्त्याउनु हो । पोखरा सफा राख्यौं भने समग्र पोख्रेली लगायत घुम्न आउने पर्यटकको अनुहारमा मिठो मुस्कानको साथमा खुसी निम्त्याउनु हो । सफा वातावरणमा मानिस स्वस्थ हुन्छ र सफा, स्वच्छ वातावरण भएमा मानिसले आनन्दको महसुस गर्छन् । यसले एक प्रकारको ध्यानको काम गर्छ ।

प्रकृतिले अनुपम वरदान दिएको र अत्यधिक सम्भावना भएको पोखरा जस्तो सुन्दर सहरलाई हरदम सुन्दर र सफा राख्नु हाम्रो कर्तव्य हो । आफ्नो घर–आँगन, टोल सफा गरेर एक जिम्मेवार नागरिकको कर्तव्य पूरा गरौं । सफाई अभियानकर्ताहरुलाई मुरी–मुरी धन्यवाद दिऔं । घर, आँगन, टोल तथा सहर सफा राखौं, एक जिम्मेवार नागरिक बनौं ।

मल्ल ओम डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

तपाईको प्रतिक्रिया