मधेसको विपत्तिः देशकै दुख

समाधान संवाददाता २०७५ चैत १९ गते ११:३१

प्रदेश नम्बर २ का बारा र पर्सामा आइतबार बेलुकी आएको आँधीले ३१ जनाको ज्यान लियो । झन्डै ४ सयजना घाइते भए । सयौं घर उजाडिए । परिवारको बिचल्ली भयो । भौतिक क्षतिको हिसाब किताब भएकै छैन । आइतबार बेलुकादेखि नै सयौं परिवार भोकभोकै छन् । लुगाफाटो छैन ।

अन्नपात छैन । ओत छैन । प्रदेश २ सरकारले मृतकका परिवारलाई ३ लाखका दरले राहत दिने घोषणा ग¥यो । घाइतको उपचार सरकारले व्यहोर्ने भन्यो । सोमबार बिहानैदेखि बारा र पर्साका आँधी प्रभावित गाउँमा संघसंस्था र तिनका प्रतिनिधि सरकारसँगै हातमालो गर्दै राहत लिएर पुगेका छन् । वास्तवमा मधेसमा आइपरेको आपतको दर्द देशैभरि महसुस गरिएको छ ।

ससाना झुप्रामा बसेका मानिसका घर हावाले सोत्तर पा¥यो । आफैंमा ती निमुखा मानिसका घर थिए । कंक्रिट घरहरु हावाले उडाउन सक्दैनथ्यो । गरिब नागरिकमाथि प्रकृतिको वज्र बज्रियो । हो, यस्तै बेला चाहिने हो सरकार र राज्य । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वतिरका सबै कार्यक्रम रद्द गरी सोमबारै बारा पुगेर प्रभावित परिवारलाई भेट्नु सकारात्मक छ ।

Advertisement

हावाबाट उजाडिएका सबैको घर सरकारले बनाइदिने वचन ओलीले दिएका छन् । यस्तो वचन भूकम्प पीडितले पनि पाएका हुन् । ०७२ सालको वैशाखमा भूकम्पका कारण घरविहीन भएका हजारौंको घर अझै बन्न सकेको छैन । सरकारी प्रक्रिया झन्झटिलो छ । नागरिक निमुखा छन् । टाठाबाठाले मात्रै पूरा गर्नसक्ने प्रक्रियाको झन्झट सरकारले अन्त्य गर्न सकेको छैन । न अनुगमन छ न नियमन । विश्वास गरौं बाराका आँधी पीडितको घर बर्खा लाग्नुअघि नै बनोस् । उनीहरुले सुरक्षित घर पाउन्, फेरि अर्काे आँधी तुफानले उनीहरुको घर भत्काउन नसकोस् ।
आँधीको प्रसंगमा सिक्नुपर्ने एउटा महत्वपूर्ण पाठ मौसम पूर्वानुमानको हो ।

संसारमा ठूल्ठूला सुनामी र आँधी आउँदा विकसित राष्ट्रका मौसम पूर्वानुमान विभागले पहिल्यै सूचना दिन्छन् र बस्ती खाली गराइन्छ । सुरक्षित स्थानमा लगेर मानिसको प्राण रक्षा गरिन्छ । तर नेपालमा भने मौसम विभागले त्यस्तो अनुमान गर्न सकेन । केवल पानी पर्ने, सामान्य हावाहुरीको मात्रै संकेत गर्‍यो । वितण्डै मच्चाउने खाली तुफान आउने अनुमान गर्न कि उसँग प्रविधि भएन कि विज्ञ नै भएनन् विभागमा ।

Advertisement

त्यसबारे पनि सरकारले चासो राखेर आउँदा दिनमा मौसमको पूर्वानुमान सही निकाल्ने व्यवस्था गर्नुपर्छ । बाढीपहिरो ल्याउने गरी पानी पर्ने वा तुफानी हावाहुरी चल्ने कुरा पहिल्यै थाहा पाउन सकिने प्रविधि देशमा ल्याउनुपर्छ । अनाहकमा नागरिकले ज्यान गुमाउने अवस्थाको अन्त्य हुनुपर्छ ।

तपाईको प्रतिक्रिया