पर्वतको महाशीला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

रासस, पर्वत
पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो ।
यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर कांग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको कांग्रेसले सोमबारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । कांग्रेसले चरणवद्धरूपमा आन्दोलन गरेपछि गाउँपालिका र कांग्रेसबीच बीच सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली कांग्रेसका उज्ज्वल गुरुङले जानकारी दिए ।
वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताए । छलफलका क्रममा गाउँपालिकाका तर्फबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरूले आफ्नो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको थियो ।
कांग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले कांग्रेसका मागलाई हाँसोमा उडाउनुसरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ । कांग्रेसले आफ्ना न्यूनतम माग पूरा हुनुपर्ने, अधिकारसहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमति कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकाले घटाइनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलापमा कांग्रेसलाई पनि सहभागी गराइनुपर्ने माग पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलिने अन्यथा तालाबन्दी अनिश्चितकालसम्म रहने बताएको छ ।
गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले कांग्रेसलाई विभिन्न सात विषयमा छलफलका लागि बोलाइएको तर त्यो वार्ताका रूपमा भने नरहेको बताए । उनले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरू बसेर सामान्य छलफल भएको र मंगलबार पुनः छलफल गर्ने तयारी भए पनि कांग्रेसले आफ्ना माग पूरा गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको जानकारी दिए ।
उनले यो समस्याको समाधान छिट्टै समाधान हुने बताए ।
तपाईको प्रतिक्रिया