जनताको आवश्यकता योजनामाः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७५ चैत २० गते १३:०४

कृष्ण न्यौपाने
दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकता योजना र कार्यक्रममा समावेश गरिने बताएका छन् । भानु नगरपालिका वडा नं. ७ र ८ मा स्वास्थ्यचौकी भवनको सोमबार उद्घाटन गर्दै उनले प्रदेश सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको आवश्यकता अनुसार नै योजना र कार्यक्रम तय गरिने बताए ।

गण्डकी प्रदेशलाई प्रकृतिले सबैभन्दा धनी बनाएको हुँदा अब सरकारले पूर्वाधारको क्षेत्रमा पनि सबैभन्दा धनी बनाउने उनले बताए । अहिलेसम्म समानुपातिक विकास नहुँदा सबै क्षेत्रमा समान विकास हुन नसकेको भन्दै मुख्यमन्त्री गुरुङले प्रदेशका सबै जिल्लामा समानुपातिक विकास गर्ने दाबी गरे । विकास सबैको लागि र सबैको सहभागितामा हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले विकासको काममा सबै जनतालाई सहभागी गराउने बताए ।

Advertisement

प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले स्वास्थ्य जनताको सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै ३ वटै तहका सरकारहरु यस विषयमा संवेदनशील रहेको बताए । उनले विकास निर्माणका लागि ३ वटै सरकारको आफ्नै क्षेत्राधिकार रहेको भन्दै सबै तहका सरकारले आ–आफ्नो सीमामा रहेर विकास र सुशासनको लागि काम गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सभाका सांसद रामबहादुर गुरुङले गण्डकी प्रदेशले जनताको स्वास्थ्य सेवालाई महत्व दिएर योजना बनाएको बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले स्थानीय सरकारले मात्रै जनताको सबै आवश्यकता पूरा गर्न नसक्ने हुँदा प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जनताको स्वास्थ्य अधिकारप्रति संवेदनशील भएर सेवा गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिए । उक्त दुवै स्वास्थ्यचौकी भवन डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया