१ साताभित्रै उपल्लो मुस्ताङ यात्रा सहज हुने

सुन्दरकुमार थकाली
मुस्ताङ
विगत ४ महिना अघिबाट उपल्लो मुस्ताङमा असहज बनेको मुस्ताङ यात्रा सहज हुने भएको छ । जोमसोम हुँदै लोमान्थाङ जाने कुनै पनि सवारी अहिलेसम्म जान सक्तैनन् । यसवर्ष पटक पटक परेको हिउँ सडकमा जमेपछि उपल्लो मुस्ताङ यात्रा प्रभावित भएको हो ।
बेनी—जोमसोम—कोरला सडक खण्डको समर–भेना सडकमा हाल ५ फिट बाक्लो बरफ जमेको छ । उपल्लो मुस्ताङको पहुँचमार्ग समर–भेना निकै जोखिमयुक्त र अप्ठ्यारो सडक हो । घाम नलाग्ने ओसिलो ठाउँ भएकाले हिउँदमा थुप्रिएको हिउँ चट्टानजस्तो बरफ भएर बसेको हो ।
सडकमा जमेको बरफ नपग्लिँदा उपल्लो मुस्ताङमा सवारी चल्न सकेका छैनन् । जीपसमेत नचलेपछि उपल्लो मुस्ताङ फर्कने स्थानीय तथा पर्यटकले सास्ती व्यहोर्नु परेको हो । हिउँदयामको मौसममा उपल्लो मुस्ताङे समुदाय रोजीरोटीका लागि बेँसी झर्ने चलन छ । बेँसीमा व्यवसाय गरी फर्केकाहरु गर्मी याम सुरु हुनासाथ गाउँ फर्कन्छन् ।
गाउँ फर्कनेहरु बरफले सडक अवरुद्ध हुँदा पैदल वा जोमसोमबाट मालवाहक ट्रकको सहारा लिनु परेको छ ।
वारागुङ गाउँपालिकाको छुसाङ गेटदेखि चराङ गाउँसम्म कालीगण्डकी नदीको तिरैतिर मालवाहक ट्रक उपल्लो मुस्ताङ उक्लन्छन् । ट्रक उपल्लो मुस्ताङ पुगे पनि जीपका लागि नदी बाधक बनेको छ । घर फर्कने र फर्कने योजना बनाएका उपल्लो मुस्ताङासी ट्रकको पर्खाइमा रहने बाध्यता छ । नदीको बाटो पनि पुस, माघ र फागुन महिना हिउँकै कारण ठप्प थियो ।
दैनिक उपभोग्य सामग्री र सामान्य आवतजावतका लागि लोमान्थाङ र चराङवासीले पटक पटक हिउँ पन्छाएका थिए । उपल्लो मुस्ताङमा जीप नियमित गराउन लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पहल अघि बढाएको छ । सडकमा जमेको हिउँ पन्छाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र उपल्लो मुस्ताङ जीप व्यवसायीले समेत सहकार्य गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।
उनका अनुसार बरफ पन्छाउन डोजरले काम थालेको र यसै साताभित्र उपल्लो मुस्ताङमा भाडा जीप चल्नेछ । समर÷भेना हुँदै जीप चलेपछि उपल्लो मुस्ताङ लगायत घिलिङ र घमीका स्थानीयको यात्रा सहज हुने बताइएको छ ।
उपल्लो मुस्ताङ जीप व्यवसाय समितिका अध्यक्ष देव गुरुङले अर्को हप्ता समितिका जीपहरुले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार हिउँदयाममा भारी हिमपात हुने र यात्रुको चहलपहल शून्य हुने भएकाल १२ महिना जिप चल्न सक्ने अवस्था छैन । ‘करिडोर सडक सम्पन्न भए हामी सधैं सेवा दिन तयार छौं,’ अध्यक्ष देवले भने ।’
समर÷भेना प्याकेजमा काम शून्य
उपल्लो मुस्ताङ जाने सडकको समर÷भेना खण्डमा कडा चट्टान र अप्ठ्यारो भीरका कारण यात्रुले जोखिमको यात्रा बाध्य छन् । यहाँ साविक जिविसले पटक पटक सडक मर्मत गरे पनि सडकका समस्या ज्युँ का त्यूँ छन् । समर खोलाको भीरदेखि झो खोलासम्मको करिब ५ किलोमिटर सडक जोखिम रहेको यातायात व्यवसायी देव गुरुङले बताए ।
उक्त खण्डको सडक कालीगण्डकी करिडोरको कोरला सडक आयोजनाले ११ किमी प्याकेजमा ठेकेदार कान्छाराम,कोशी एन्ड न्यौपानेलाई जिम्मा दिएको हो । जोमसोम—कोरला सडकको पूरै खण्डमा ८० प्रतिशत सडक विस्तारको काम सम्पन्न हुँदा यहाँ सडक विस्तारमा कुनै प्रगति हुन सकेको छैन । आयोजना प्रमुख मुकुन्द अधिकारीले समर÷भेना सडक विस्तार कार्य ठेकेदारका कारण ढिलाइ भएको स्वीकारे ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया