कभर सङले पुराना गीत चर्चामा ल्यायो

समाधान संवाददाता २०७५ चैत २० गते १६:०६

विकास रोकामगर

४१ वर्षीय थमन गुरुङको मुख्य पेसा ड्राइभिङ हो । गाडीका स्टेयरिङसँग खेल्न थालेको बिसौं वर्ष भइसकेको छ । पर्वतबाट पोखरा सपना खोज्दै झरेका उनी साउदीको घाम पनि खाए । पोखरा काठमाडौं रुटमा चल्ने माइक्रो र बसबाट यात्रुलाई सकुशल गन्तव्यमा पनि पुर्‍याए ।

पप्छिल्लो समय उनी गोर्खा वेल्फेयरसँग आबद्ध छन् । गोर्खा वेल्फेयर ट्रस्ट संस्थाको गाडी चलाउन थालेको ४ वर्ष भइसकेको छ । यही ४ वर्षको बीचमा ४ वटा गीत पनि बजारमा ल्याइसकेका छन् । गीतसँग नजिकको लगाव भएकै कारण ड्राइभिङ र संगीतलाई डोर्‍याइरहेका छन् । आधुनिक गीतमा रुचि राख्ने गुरुङको आइतबारमात्रै ‘खै त बुझेको ?’ नयाँ गीत बजारमा आएको छ । उनै गायक गुरुङसँगको कुराकानीको सम्पादित अंश ः

Advertisement

गाडी चलाउन थालेको कति भयो ?
गाडी चलाउन थालेको त वर्षौं भयो । मेरो ५२ सालको लाइसेन्स छ । ५३ सालदेखि चलाउन थालेको हुँ ।

कुन गीत गाउन रुचाउनुहुन्छ ? एल्बम निकाल्नु भएको छ ?
म सबै गीतलाई माया गर्ने मान्छे हुँ । त्यसमा आफूचाहिँ बढी आधुनिक गुन्गुनाउँछु । गैरे सुरेश, दीपक शर्मादेखि हरि लम्सालको संगीतमा समेत मैले गीत गाएँ । अहिलेसम्म मेरो ४ वटा गीत बजारमा आएका छन् । एल्बममै संग्रहित गरेर त ल्याएको छैन ।

Advertisement

गीतसंगीतसँग कहिले नजिक हुनुभएको हो ?
स्कुले जीवनदेखि नै रुचि थियो गीतमा । भनौं न बच्चैदेखि गुन्गुनाउन थालेको हुँ । स्कुलमा पढ्दा कहिले गाउन पनि हिँडियो । कहिले नाच्न पनि । साथीहरु प्नि त्यस्तैत्यस्तै भेटिए ऊ बेला । मेरो रुचि एउटामा मात्रै होइन दुई वटा कुरामा एकैचोटी भइदियो – गीत र ड्राइभिङ । दुवैलाई अहिले सँगसँगै लगिरहेको छु । पछि गाडीमा लाग्दालाग्दै संगीतमा आउन अलि ढिलो भएकोचाहिँ पक्का हो ।

गीत आफैं पनि लेख्नुहुन्छ या अरुकै गाउनुहुन्छ ? गीत निकाल्न कहिलेदेखि थाल्नुभयो ?
गीत आफू पनि लेख्छु । आफैं लेखेका गीत डायरीमा छन् । तर, गाएको छैन । गीत निकाल्न थालेको त ३÷४ वर्षमात्रै भयो ।
मेरो एकजना दाइ संगीतकार जुजु गुरुङ दाइलाई भेटेपछि नै संगीतमा आएको हुँ भन्दा पनि हुन्छ । उहाँले नै मलाई संगीतमा लाग्न प्रेरितमात्रै होइन, अरु संगीतकारसँग भेट पनि गराइदिनु भयो । त्यसपछि नै संगीतमा आएको हुँ भन्दा पनि हुन्छ ।

गाडी चलाउँदै गर्दा कस्को र कस्तो गीत गुन्गुनाउनुहुन्छ ?
गाडीमा धेरै थरि गीत बजाउँछु । आफ्ना पनि र अरुका पनि । मैले धेरै सुन्ने र आफैंलाई मन पर्ने गीतचाहिँ माया गर्छु भनूँ त.. हो । प्राय एक्लै हुँदा यिनै गीत गाउँछु ।

तपाईंले पहिले रेडियोमा गीत सुन्नुभयो होला । पछि क्यासेट, वाकमेनमा सुनिन्थ्यो । अहिले प्रविधिको युग छ । युट्युबबाटै एकैछिनमा गायक भइन्छ । तपाईंले कसरी हेरिरहनु भएको छ यो संगीतको बजारिकरण ?
अहिले र पहिलेका समय धेरै फरक छ । अहिले युट्युबले गर्दा धेरै सजिलो पनि भएको छ । हुन त उहिले पनि अडियन्सको रोजाइ थाहा पाउन गाह्रो नै थियो । अहिले पनि त्यही चुनौती छ । उनीहरुको इच्छा बमोजिम नै बजारमा गीत ल्याउन सक्नुपर्छ ।

बजारले बिकाउ गीत खोज्छ त । त्यस्तै गी त निकालेर बिक्ने त त्यसो भए ?
होइन त्यसो त । शब्द संगीतमा पनि ध्यान दिनुपर्‍यो नि ! मलाईचाहिं लोकबेस भएका गीत नै नेपालीलाई ठीक लाग्छ होला भन्ने लाग्छ । आधुनिक, दोहोरी होस् या पपर्‍याप नै किन नहोस् लोकभाका मिसाइदियो भने त्यो पनि नयाँ नै हुन्छ जस्तो लाग्छ ।

पछिल्लो समय उच्छृंखल शब्दले बजार तताइराखेको छ । त्यसले गर्दा राम्रा गीत र संगीत पनि छायाँमा परिराखेका छन् जस्तो लाग्दैन ?
त्यो पनि हो । तर हरेक गीतको आआफ्नै अडियन्स छन् । कसले कस्तोमा रुचि राख्ने भन्ने मात्रै हो । अहिले सुनिराको गीत भोलि नराम्रो नि लाग्न सक्छ । उच्छृंखल गीत केहीलाई मन पर्ला तर सबैलाई जस्तो मलाई लाग्दैन ।

पुराना गीत कभर गरेर गाउने एक जमात छ । यसलाई कसरी लिइराख्नु भएको छ ?
पुराना गीत चर्चामा ल्याउने नै कभर सङले हो । मलाईचाहिँ कभर सङले राम्रै गरिराछ भन्ने लाग्छ । शब्द, शंगीतलाई अन्याय गर्नु भएन । कभरले त झन पुराना गीत बजारमा फेरि ल्याउन मद्दत गरिराख्या छ जस्तो लाग्छ ।

तपाईको प्रतिक्रिया