पवित्र सेतीमा व्यक्तिमात्र हैन महानगर पनि मिसाउछ शौच

समाधान संवाददाता २०७५ चैत २१ गते ९:०७

विकास रोकामगर

महेन्द्रपुलमा पोखरा महानगरको २ वटा सार्वजनिक शौचालय छन् । त्यसमध्ये एउटाको सेफ्टी ट्यांकी छ भने अर्को शौचालयको छैन । सेफ्टी ट्यांकी नबनाई सिधै सेतीमा फोहोर मिसाइएको छ ।

सरकारी निकायबाट बनेको शौचालयको फोहोर नै सिधै सेतीमा मिसिएको भन्दै त्यसको चौतर्फी विरोध पनि भएको थियो । करिब १ वर्ष पहिले पोखरा ९ का वडासचिव लोकदर्शन कोइराला आफैं अग्रसर भएर ताल्चा ठोकेका थिए । जुन अहिलेसम्म खुलेको छैन ।

Advertisement

वडाले अहिले सेफ्टी ट्यांकी बिनाको उक्त शौचालय भत्काएर नयाँ बनाउने योजना बनाएको छ । वडासचिव कोइरालाले अब बन्ने शौचालयमा सेफ्टी ट्यांकी जडान गरेर सेतीमा फोहोर जान रोक्ने बताउँछन् ।
पोखरा सेती किनारका घरका सेफ्टी ट्यांकी तथा ढलको उचित व्यवस्थापन नहुँदा सेती नदीमा मिसिने गरेको छ । नयाँबजार सुकुम्बासी बस्तीदेखि महेन्द्रपुलसम्म भएका करिब १ सय घरभन्दा बढीको चर्पीको फोहोर सीधैं सेतीमा मिसिन्छ ।

सेतीमा शौचजन्य फोहोर रोक्न महानगरले वडालाई जिम्मेवारी सुम्पेको भन्दै तर्किन खोजेको छ । महानगरका १ कर्मचारीले सेतीको फोहोर रोक्ने आफ्नो नभइ वडाको नै भएको जिकिर गरे ।

Advertisement

वडाले सेफ्टी ट्यांकीबिनाको सार्वजनिक शौचालयमा ताल्चा लगायो । तर, त्यसरी नै सेतीमा सिधै फोहोर मिसाइरहेका घरधनीलाई नियन्त्रणमा ल्याउन सकेको छैन । उक्त वडाका १ सय ४० घरले सेती किनारलाई छोएको छ । जसमध्ये कमैले मात्र सेतीमा फोहोर जान नदिन ट्यांकी बनाएका छन् ।

सेफ्टी ट्यांकी नबनाई सिधै सेतीमा शौच मिसाउने ६० प्रतिशत घरलाई अझैं रोक्न नसकेको वडाध्यक्ष रामराज लामिछाने स्वीकार्छन् । ‘सबै घरघरमा सूचना पठाइसकेका छौं, कसैले बनाउन पनि लागिसके तर, धेरैले बनाउँछौं भनिरहेका छन्, तर अटेरी गरिरहेका छन्,’ उनले भने ।

सेतीमा फोहोर नफाल्न वडाले पटकपटक माइकिङ तथा सूचना दिइसकेको छ । वडाबासीलाई भेला गरेर जनचेतना फैलाउने काम पनि भइसकेको छ । वडाका ती सूचना कसैले माने कसैले अझैं अटेरी गरिरहेको वडासचिव लोकदर्शन कोइरालाको गुनासो छ ।

सेती डिलैमा घर ठड््याएका कारणले पनि तत्काल सेफ्टी ट्यांकी जडान गर्न वडाबासीले आनाकानी गरिरहेको कोइरालाले बताए । ‘सेतीको मापदण्ड ५ मिटर छ । थुप्रैले डिलैमा घर बनाएका छन् । अहिले उनीहरुलाई नै अप्ठेरो भइरहेको छ,’ उनले भने ।

नदी डिल छोएर बनाएका घरमा घरधनी नबस्ने र भाडामा बस्नेमात्रै भएकाले तत्काल कारबाही गर्न नसकिएको वडाध्यक्ष रामराजा लामिछानेले बताए । ‘प्रायः भाडामा बस्नेहरु छन् । उनीहरुले घरधनीसँग कुरा गर्ने हो । धेरैले चैतसम्म बनाउँछौं भनेर कागज पनि गरेका छन्,’ उनले भने, चैतमा नभए वैशाखसम्म सबै घरमा सेफ्टी ट्यांकी बनाउने गरी वडा लागिरहेको छ ।’

बर्खामासमा बाटोमा जम्मा हुने फोहोरलाई व्यवस्थित गर्न ढल बनाइएको छ । जुन ढल सिधै सेतीमा नै मिसिन्छ । वडासचिव कोइरालाले बर्खे ढललाई पनि घरको फोहोर फाल्न प्रयोग गरिरहेकाले समस्या निम्त्याइरहेको बताउँछन् । उनले भने, ‘बर्खेढल बनायौं तर, घरघरको भान्साको फोहोर फाल्न प्रयोग गरिरहेका छन् । त्यसले झनै समस्यामा पारेको छ ।’

यसरी सेती नै प्रदूषित हुनेगरी फोहोर ढल तथा चर्पीको पाइप सिधै फाल्ने घरलाई वडाले अहिलेसम्म भने कारवाही गरेको छैन । वडासचिव कोइरालाले अटेरी गर्ने घरधनीलाई हदैसम्मको कारबाही होस् भनेर जिल्ला प्रशासनमा निवेदन दिइसकेको प्रष्ट्याए । उनले भने, ‘नियम त सबैले मान्नुपर्‍यो नि, सेती नदी सफा राख्ने अभियानमा साथ नदिने अटेरी घरधनीलाई कारबाही गर्न माग गरिसकेका छौं ।’

तपाईको प्रतिक्रिया