मीटूबाट आहत मेक्सिकन रकस्टार अर्मान्डोले सुसाइड गरे

समाधान संवाददाता २०७५ चैत २१ गते ९:१७


एजेन्सी

मीटूमार्फत आफूलाई यौन दुर्व्यवहारको गलत आरोपमा फसाइएको जिकिर गर्दै मेक्सिकन रकस्टार अर्मान्डो भेगा गिलले आत्महत्या गरेका छन्  । मीटूमेक्सिकनम्युजिसियन नामक ह्यागट्यागमार्फत एक महिलाले आफू १३ वर्षको छँदा अर्मान्डोले यौन दुर्व्यवहार गरेको आरोपसहित सामाजिक सञ्जालमा लेखेकी थिइन्  ।

जुन बेला संगीतकार ५० वर्षको भएको बताइएको छ । उक्त युवतीले आफ्नो परिचय भने गोप्य राखेकी थिइन् । मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले आफू निर्दोष रहेको र आरोप असत्य रहेको लामो स्टाटसको ‘सुसाइड नोट’ ट्वीट गरी घरमै आत्महत्या गरेका थिए ।

Advertisement

‘ममाथि लगाइएको त्यो बेनामे आरोप सरासर झूट हो भनेर मैले भन्नु जरुरी हुनेछ,’ अर्मान्डोले आत्महत्या गर्नुअघि लेखेको चिठीमा भनेका छन्, ‘र, मेरो यो मृत्यु गल्ती स्वीकारको कदमका रूपमा पनि नबुझिदिनुहोला । म इमानदार हुनुको प्रमाण हो । म मेरो छोराको भविष्यको बाटोमा कुनै अवरोध नहोस् भन्ने पनि चाहन्छु । सायद मविरुद्ध लगाइएको यो झूटा आरोपको असर उसलाई पक्कै पनि पर्नेछ ।’

पत्नीसँग सम्बन्धविच्छेद गरिसकेका उनको आठ वर्षको छोरा छन् । अर्मान्डोले आरोप लगाइसकेपछि मान्छेले शंका गर्न थालेको र आफूले सामाजिक सञ्जालमा प्रतिरक्षा गर्न नसकेको भन्दै यसले आफ्नो करिअर नै समाप्त हुनेछ भन्ने लागेको पनि उल्लेख गरेका छन् । ‘यस्तो परिस्थितिमा मैले जे भने पनि त्यो मेराविरुद्ध नै प्रयोग हुनेछ,’ उनले चिठीमा भनेका छन् ।

Advertisement

आरोप लगाउने युवतीले ट्वीटरमा अर्मान्डोको नाम मुछदै लेखेकी थिइन्, ‘१३ वर्षअघि उसले मलाई आफ्नो घरमा बोलाएर चुम्बन गर्नुका साथै यौन दुर्व्यवहारको प्रयास गरेको थियो ।’

तपाईको प्रतिक्रिया