बलबहादुरले गरे पैसाकाे लाेभमा आफ्नै साथीकाे हत्या

समाधान संवाददाता २०७५ चैत २१ गते १२:४५

सुरेशराज अधिकारी
पोखरा

करिब ६ वर्षअघि पोखराका बलबहादुर सुनार र लमजुङका हरिबहादुर पाण्डे काठमाडौं कारागारमा भेटिए । सुनार त्यसबेला पनि कहिले चोरी त कहिले हत्या अभियोगमा २२ वर्षको जेल जीवन बिताइरहेका थिए । पाण्डे जघन्य अपराधको आरोपमा जेल परेका थिए ।

३० वर्षीय पाण्डे र ६८ वर्षीय सुनारको मित्रता त्यही कारागारबाट सुरु भयो । आआफ्ना कुकर्मको सजाय भुक्तान गरिसकेपछि दुवै जेलमुक्त भए । आफूहरु जेलमुक्त भएपनि मित्रवत् सम्बन्धलाई मुक्त हुन दिएनन्, हुर्काइरहे ।

Advertisement

जेलबाट छुटिसकेपछि पनि सँगसँगै काम गर्ने सुनार र पाण्डेको सल्लाह भयो । सल्लाह बमोजिम नै उनीहरुले काठमाडौंका एउटा होटलमा काम गर्न थाले । कुरैकुरामा एकदिन सुनारले पाण्डेलाई बुटवल काम गर्न जाने प्रस्ताव राखे । बुटवल गएर यार्सागुम्बा ओसारपसारको काम गर्ने मुख्य योजना सुनारको थियो ।

दुवैको मन फेरि मिल्यो । काठमाडौंको काम छोडेर दुवै सजिलो र कमाइ पनि राम्रो हुने देखेपछि बुटवलतर्फ हान्निए । बुटवल जाँदा पाण्डेसँग ३ लाख ८८ हजार रुपैयाँ थियो । ‘धन देखेपछि महादेवका पनि ३ नेत्र खुल्छन्’ भनेझैं पाण्डेसँग भएको मोटो रकम देखेपछि सुनारको मनमा पाप उम्रियो । चैत १ गते तिनाउ किनारमा लगे, हत्या गरे र पैसा लुटेर फरार भए ।

Advertisement

पाण्डेको हत्या भएको करिब १९ दिनपछि वृद्ध सुनारलाई बुधबार प्रहरीले पोखरा ३० मा रहेको आफ्नै घरबाट प्रक्राउ गरेको छ । रुपन्देही प्रहरीको सहयोगमा सुनार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ परेका सुनारलाई बुटवल पठाइएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार सुनारले ढुंगाले टाउकोमा हानेर पाण्डेको हत्या गरेका थिए । ‘हत्यापश्चात शवको पहिचान नहोस् भनेर अनुहारको छाला काटेर फालेको थिएँ,’ थापाले सुनारको बयान उद्धृत गर्दै भने, ‘पाण्डेसँग भएको पैसा लुट्ने र उसको हत्या गर्ने भनेरै बुटवल लिएर गएको हुँ ।’ सुनारले पाण्डेबाट लुटेको पैसाले सुनको बेरुवा औंठी, सुनको लकेट, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया