मिटरमा गुड्न नमान्ने ४१ ट्याक्सी चालक कारबाहीमा

समाधान संवाददाता २०७५ चैत २२ गते १३:००
dav

समाधान संवाददाता
पोखरा

मिटरमा गुड्न नमान्ने ट्याक्सीविरुद्ध अप्रेसन चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले २ दिनमै ४१ जना चालकलाई कारबाही सिफारिस गरेको छ । यातायात व्यवस्था विभागले तय गरेको मिटर जडित ट्याक्सीको रेटमा यात्रु नबोक्ने ट्याक्सीविरुद्ध मंगलबारदेखि अनुगमन बढाएको ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालय गण्डकीमा कारवाहीको लागि सिफारिस गरेको हो ।

यातायात व्यवस्था ऐन नियमको दफा १६० उपदफा २ को ‘ख’ बमोजिम ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने गरी कारबाही सिफारिस भएको जिल्ला ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए ।

Advertisement

‘मिटर जडान भएका तर मिटरमा गुड्न नमान्ने ट्याक्सीविरुद्ध अप्रेसन चलाएर कारबाही गरिरहेका छौं,’ मिश्रले भने, ‘कतिपय ट्याक्सी आँखामा छारो हाल्न मात्रै भए पनि मिटरमा गुडेको बहाना बनाउने गरेको भेट्टाइएको छ । त्यस्तालाई पनि छानबिन गरी कारबाही गरेका छौं ।’

ट्राफिक चालेको अप्रेसनमा मंगलबारमात्रै ३१ वटा ट्याक्सी कारबाहीमा परेका थिए । बुधबार १ दिन समय अभावका कारण बिहीबार निरन्तरता पाएको अप्रेसनमा १० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कारबाहीका लागि यातायात पठाइएको उनले बताए । यातायात कार्यालयले ट्याक्सी चालकहरुलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

Advertisement

मनोमानी ठगी रोक्न २०७३ पुसदेखि अनिवार्य ट्याक्सीमा मिटर जडान गर्ने प्रावधान लागू भएको हो । तर त्यसअनुरुप ट्याक्सीले नियम कार्यान्वयन नगर्दै आफूखुसी भाडा लिने गरेको पाइएपछि कारबाहीको प्रक्रिया थालिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमार्फत यसअघि भएका अनुगमनबाट २ सय ५१ वटा ट्याक्सी कारबाहीमा परिसकेका छन् ।

यातायात व्यवस्था विभागको ०७५ असोज ७ गतेको परिपत्र अनुसार मिटर जडान ट्याक्सीको भाडा समायोजन दर सार्वजनिक भएको थियो । जसमा ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँबाट भाडा सुरु हुनेछ । त्यसपश्चात्त प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसाको दरले रकम बढ्दै जानेछ । कुल एक किलोमिटर यात्रा गर्ने यात्रुले ३९ रुपैयाँमा (फ्ल्याक डाउन) मिटरमा चढ्ने १४ रुपैयाँ गरी ५३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । सोभन्दा बढी यात्रा गर्ने यात्रुबाट प्रति किलोमिटरको ३९ रुपैयाँका दरले जोडेर ट्याक्सीले लिन पाउने छन् ।

भाडादर अव्यावहारिकः व्यवसायी
सरकारले यातायात व्यवसायी महासंघसँगले २०६९ सालदेखि वैज्ञानिक भाडादर कायम गर्ने सहमति गरेको हो । वैज्ञानिक भाडादर मापदण्ड प्रणालीमा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकलाई ६५ प्रतिशत आधार मानी भाडादर निर्धारण गर्ने उल्लेख छ ।

अन्य सूचकमा सवारी खरिदको मूल्य, स्पेयर पार्टस्, कर, लगायत समसामयिक महँगीलाई आधार मानिएको छ । तर ०७५ असोजमा वृद्धि भनिएको १० प्रतिशत भाडादरले वैज्ञानिक मापदण्ड पूरा नगरेको ट्याक्सी व्यवसाय समितिका अध्यक्ष प्रकाशमणि तिवारी बताउँछन् ।

‘जुन किसिमको विगतमा महासंघसँग सम्झौता भयो त्यसअनुरुप भाडादर निर्धारण भएको छैन्,’ उनले भने, ‘५० रुपैयाँमा हुने जाँचपास २ सय ५० पुग्यो, ५ सय रुपैयाँमा पाइने रुट इजाजत २ हजार ५ सय पुगेको छ । सवारी करमा त्यस्तै वृद्धि छ । ट्याक्सी खरिद, स्पेयर पार्टस् लगायतको महँगी चुलिएको छ । अनि विगतकै भाडादरमा चलाई भन्नु कत्तिको व्यावहारिक हो त ?’ उनले प्रश्न गरे ।

वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार कायम भए प्रशासनले लौरी नदेखाए पनि स्वतः चलाइने उनले बताए । गत असोजमा भएको भाडा समायोजनमा सरकारले एकलौटी पक्षबाट निर्णय गरेकाले व्यवसायीले असहमति जनाएको उनको भनाइ छ ।

गुनासो राख्न ट्राफिकको आग्रह
ट्राफिकले मिटरमा नगुड्ने ट्याक्सीलाई कारबाहीको कदम चालेको भएपनि नागरिकबाट सोही स्तरमा सहयोग नपाएको ट्राफिक प्रहरी प्रमुख मुरारी मिश्र बताउँछन् । ‘देखाउन मिटरमा गुडेजस्तो गरे पनि भाडा बोलकबोलमै लिनेदिने गरेको पाइयो,’ उनले भने, ‘अत्यन्तै न्यून गुनासो आउने गरेको छ । नागरिकले पनि गुनासो राख्ने मिटरमा जान नचाहने ट्याक्सी नम्बर टिपाइदिने गर्नुभयो भने नियमन गर्न सहज हुन्छ ।’

त्यस्ता ट्याक्सीको नम्बर र रहेको स्थान जिल्ला प्रहरी कार्यालयको १०० वा ट्राफिक कार्यालयको २४ सैं घन्टा खुला रहने कन्ट्रोल रुम १०३ नम्बरमा सम्पर्क गरी गुनासो टिपाउन सकिने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया