सरकार उल्टो बाटोमा हिड्योः डा. डिला संग्राैला

समाधान संवाददाता २०७५ चैत २२ गते १३:४८

समाधान संवाददाता
पोखरा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएकी छन् । नेपाल प्रेस युनियन कास्कीले बिहीबार पोखरामा गरेको पत्रकार भेटघाटमा संग्रौलाले भनिन्,‘संवैधानिक परिषद्मा विपक्ष दलका नेतालाई बोलाएर आयोगका आयुक्त नियुक्त गर्नु पर्नेमा एकलौटी ढंगमा गठन गर्दै केपी ओलीको सरकार उल्टो बाटोमा हिँड्दै छ ।’

उनले कम्युनिस्टहरुको शैली नियन्त्रण र कब्जा भएकोले नैे २ पार्टी १ भएकोे आरोप लगाइन् । ‘वर्तमान सरकारको हरेक क्रियाकलाप हेर्दा अधिनायकवाद र सर्वसत्तावाद हो भनेर नेपाली जनताले भनेका छन् ।

Advertisement

त्यसैले केपी ओलीको धम्कीले यत्रो क्रान्ति र परिवर्तन गर्ने कांग्रेस डराउँदैन’, उनले भनिन् । कांग्रेस लोकतन्त्रको पाठशाला भएको बताउँदै उनले कांग्रेसलाई पाठ नसिकाउन चेतावनी दिइन् ।

उनले जागरण अभियान अन्तर्गत कांग्रेस जोड्ने अभियानमा देश दौडाहामा हिँडेको बताइन् । ‘कांग्रेस गुट र फुटमा जान सक्दैन । अहिलेको लडाइँ भनेको कांग्रेस भित्रको लडाइँ होइन’, उनले भनिन् ।

Advertisement

निर्मला पन्तको हत्यारालाई सिंहदरवार र वालुवाटरमा मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएर राखेकै कारण हजाराैं निर्मलाहरु बलात्कृत हुन परेको उनको आरोप थियो । उनले प्रदेश नम्बर २ मा प्रश्नपत्र नै आउट हुँदा शिक्षा मन्त्रीले नैतिक जिम्वेवारीसमेत नलिनु लज्जास्पद भएको टिप्पणि गरिन् । उनले कांग्रेसको आदर्श शान्तिपूर्ण रुपान्तरण भएकोले शान्तिपूर्ण रुपमा प्रतिपक्षको भूमिका निर्वाह गरेको बताइन् ।

सदन, सडक, संगठन, सत्याग्रह सहमति र सहकार्यबाट कांग्रेस अघि बढ्ने उनको भनाइ थियो । प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रविना आलेले स्वागत र सचिव प्रदिप पौडेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया