मर्दीमा साटेको माया
डोलराज अर्याल
जिन्दगी यात्रा हो । यो भनाइ ठूलै दार्शनिकको हुनुपर्छ । मलाई पनि हो जस्तै लाग्छ । यात्रालाई आन्तरिक र बाह्य गरी २ प्रकारमा छुट्याउन चाहन्छु मैले । आन्तरिक यात्रा घर-डेराबाट जागिर-व्यवसाय अनि फेरि घर-डेरा । यता र उता । बाँकी कुराहरू रेडियो, टेलिभिजन, पत्रपत्रिका (अ) सामाजिक सञ्जाल आदिबाट थाहा पाइन्छ । यस्ता यात्रीहरू भित्रबाहिर यात्रा गरेरै रमाउँछन् । बाह्य यात्रा आफ्नो गाउँ, ठाउँ, कार्यस्थल आदिबाट बाहिर ज्ञान, सूचना, मनोरञ्जन आदिका लागि गरिने यात्रा । घुम्ने कुरा पनि कहिल्यै नअघाइने रहेछ । विगत सम्झँदा धेरै ठाउँ घुमियो तर सोची ल्याउँदा घुम्न बाँकी ठाउँको सूची पनि लामै छ । जे होस् घुम्नु मानसिक सन्तुष्टि दिने एउटा राम्रै उपाय हो ।
मलाई घुम्न जान मन लाग्छ । साथीहरू सँगै भए भने यात्रा सुगम र रमाइलो हुन्छ । साथीहरूलाई प्रस्ताव राख्छु । जान्नँ, मिल्दैन नि, मेरो त यस्तो योजना छ यार, ए हो अलि पछि जाऊँ न अथवा अनेक थरि बाहना बनाउने साथीहरू कतै घुमेर आएको थाहा पाएपछि ए ! म पनि जान्थेँ नि, मलाई किन खबर नगरेको नि भन्ने कुरा गर्नुहुन्छ । जेसुकै होस् मन लागेको ठाउँमा गइहाल्नुपर्छ मलाई । जन्मस्थानभन्दा बढी वर्ष कास्कीमा बिताउँदा पनि नजिकैको छोटो, सजिलो मर्दी हिमाल बेस क्याम्प जान अनुकूल मिलेको थिएन । कति विदेशी पुगेर रमाए होलान् । कति स्वदेशीले त्यहाँको मजा लिइसके होलान् । म त पछि पो परेँ । धेरै साथीलाई भनेँ पनि । भनेरै मात्र गइएन क्यार । अब जाने नै योजना बनाउनु पर्यो । कार्यव्यस्तता धेरै थियो । स्नातकोत्तर नेपाली शोधपत्रको सम्पादन र अन्तिम रूप दिने कार्य, कानुनी नेपाली किताबको अन्तिम सम्पादन, नेपाली अभ्यास पुस्तकको परिमार्जन, विद्यालयको वार्षिक पत्रिकाको प्रकाशन, नियमित शिक्षण प्रशिक्षण, मूल्यांकन, व्यावसायिक क्षेत्रका केही कार्य र तिनका व्यवस्थापन । थुप्रै नगरी नहुने कार्यका चाङका अगाडि नघुमी नहुने निष्कर्ष निकालियो र योजना बनाइयो मर्दी हिमाल आधार शिविरतिरको ।
२ः०० बजे हिँड्ने भनेको ३ः१५ भइसकेछ, २०७५ चैत १५ गतेको । सबैतिर मिलाएर जानुपर्ने । यात्री जम्मा ३ जना भयौँ, लोकचन्द्र खनाल र शिवहरि सुवेदीले साथ दिनुभयो । पोखरा, हेमजा, मर्दी खोला । सल्लाहकारको सल्लाह बुझेनछौँ । घलेल, कालीमाटी हुँदै सिदिङ जानुपर्ने, रिभान सैँतीघट्ट हुँदै अगाडि बढिएछ । गहिरो खोलामा मोटरसाइकल तार्नुपर्ने । जुत्ता फुकालेर कस्सिएँ । आम्मा ! कति चिसो पानी । २०७० चैतमा मुस्ताङ जाँदा रुप्से खोलामा पनि यसरी नै मोटरसाइकल तारेको थिएँ सबैका । सम्झना आयो । पानी पनि उस्तै चिसो । गोडाको रगतै जमाउला जस्तो । जुत्ता लगाएँ । आहा ! फेरि, फेरि र फेरि, खोल्नुप¥यो । अब नलगाई अगाडि बढेको खोल्नै परेन । कति रमाइलो हो । दिनेश सरले मौसम बुझेर जानुपर्ने सल्लाह दिनुभएको थियो । जे पर्ला पर्ला भनेर हिँडियो । आकाश धुम्मिएको थियो । भन्दै थियो, नजाओ । मानेनौँ । रिसायो । अलिकति चुहियो पनि ।
पुग्नुपर्ने योजना निश्चित ठाउँको बताए पनि सकेजति मात्र गन्तव्य भन्ने हाम्रो टोलीको मूल मन्त्र थियो । यसैलाई सूत्र बनाएर अगाडि बढेका थियौँ । यही मान्यताअनुसार अगाडि बढेर २०७४ दशैँमा अन्नपूर्ण आधार शिविर पुगेर फर्कियौं । कसैलाई विश्वास थिएन पुगिन्छ भनेर तर पनि पुग्यौं । अहिले पनि यस्तै हो । जहाँसम्म पुगिएला । अनि हाम्रो अर्काे मान्यता थियो, यात्रामा छइन्जेल छोराछोरी, जागिर, जिम्मेवारी, पेसा, व्यवहार, साथीभाइ, नगरी नहुने काम पनि यी सबैलाई बिर्सने । हुन पनि हो यात्रामा छ तर मेरो काम, कर्तव्य, छोराछोरी, साथीभाइ आदिको चिन्ता लिने भए यात्राको मजा कसरी लिने त ? यात्रामा मग्न हुनु नै यात्रा गर्नुको सार्थकता हो । जोगी-सन्यासीले घर व्यवहार नाता सम्बन्धी सम्झेजस्तो लाग्छ मलाई यात्रामा अन्य कुरा सम्झनु । साथ मोबाइलको नेटवर्कले दियो । हाइसन्चै । टावर नै छैन ।
मर्दी खोलाको किनारमा रहेको सिदिङ गाउँ । साबिकको ल्वाङघलेल अहिलेको माछापुच्छ«े ९ । सुन्दर बस्ती रहेछ । मान्छेको मन पनि बस्ती जस्तै थियो । पाहुनाप्रति व्यावसायिक दृष्टिकोण भन्दा बढी स्वागत, सत्कार, आत्मीयता र हार्दिकता बढी पायौँ हामीले । उनीहरू मनको चौतारीमा पाहुनालाई सम्मानको गलैँचा बिछ्याइएको थियो । बत्ती बाल्ने समयमा पुगेका थियौं । चियाले स्वागत ग¥यो । सुग्घर कोठा र शान्त वातावरण । स्थानीय गौतम रेस्टुरेन्टमा बस्यौं । लाग्यो सबै पर्यटन व्यवसायी लक्ष्मी गौतमजस्तै भइदिए पर्यटकले अरूलाई पनि घुम्न जान सिफारिस गर्थे नेपालमा । गाउँ ऊर्वर रहेछ । गहुँ, जौ, काउली, बन्दा, सागले चैत पनि हरियो बनाएको थियो । अर्गानिक तरकारी र पुदिनाको चटनीसित पेटभरि खाएपछि कोठातिर लाग्यौँ । रमाइलो गर्नमा हामी अभ्यस्त हौं तर हाम्रो हल्ला पल्लो कोठामा सुनिँदो रहेछ । अरूलाई डिस्टर्ब गरेनौँ । चुपचाप सुत्यौं ।
बिहान उठेर चिया खाजा खाइसकेपछि उकालो लाग्यौं । गाउँ छोडेर वन सुरु हुनेबित्तिकै लालीगुराँसले हाम्रो स्वागत ग¥यो । अगाडि बढ्दै जाँदा जंगलको छेउमा १ जना वृद्ध बुबा जंगलमा भैँसी पालेर बस्नुभएको रहेछ । मनका सफा । दूध खुवाउनुभयो । पैसा तिरेर पनि आत्मीयता पायौं । जीवनका सुख दुःख, अनुभव र अनुभूति मात्र सुनाउनु भएन कुण्ठाहरू पनि बाँड्नुभयो । लाग्यो जाबो जिन्दगी यस्तै हो । जानै लाग्दा बाबु हो, राम्रोसँग जाओ है भन्नुभयो ।
जंगलमा लालीगुराँस राताम्य थिए । सुनाखरीको मुस्कान मृदुल थियो । फुल्दै र झर्दै मात्र गर्ने कि देशवासीलाई फाइदा पनि पुर्याउने हे सुनाखरी र लालीगुराँस ? तिम्रो संघ, प्रदेश र स्थनीय सरकारले सदुपयोग गर्दैन भने हाम्रा लागि मात्र तिमीहरू नफुले पनि हुन्छ । वनफल र फूलको सदुपयोग कहिले होला ? यी वन्य जडीबुटीको उपयोगिता कहिले होला ? कहिलेसम्म यिनीहरू यात्रीका हातबाट प्याट्ट भाँचिएर नाकसम्म पुगी वा २-४ सेल्फीपछि जमिनमा पछारिने हुन् ? थाहा छैन ।
बादलले ढाकेकै छ सूर्यलाई । यी २ को द्वन्द्वको चपेटामा छौं हामी ३ र अरू यात्रुहरू । बाटामा देखिनेहरूसँग बोल्न हाँस्न भ्याएकै छौँ । एकजना बहिनीले भन्नुभयो घाम नलागेकै जाति । नत्र यो उकालामा कम्ती गाह्रो पर्दैनथ्यो । ४ घन्टाको पैदल यात्रापछि ‘लो क्याम्प’ मा आइपुग्यौं । सिदिङकै गौतमको लालीगुराँस रेस्टुरेन्टमा सुस्तायौं । पर्यटकलाई राम्रै सुविधा पु¥याएको उक्त होटलमा स्वादिष्ट खाना खायौँ । अब फेरि उकालो । थाहा छैन जिन्दगीका उकाला ओरालाहरू थाह भएको भए जिन्दगी यति रमाइलो हुँदैनथ्यो होला । बादल चुहियो । पानी र पसिनाको वास्तै छैन जति चुहिने हो चुहोस् । बल्ल बल्ल मिड क्याम्पमा पुग्दा ठूलै प¥यो । सँगैको रेस्टुरेन्टमा कुश्माका भाइ म्यानेजर रहेछन् । हामी शिक्षक भएको थाहा पाएपछि भने विषय पढाउन जान्ने त सबै हुन्छन् तर भित्रैदेखि अभिप्रेरित गर्ने शिक्षक पो शिक्षक । वा, हाम्रो पनि चेतनाको आँखा खोलिदियौ । उत्प्रेरणा विनाको शिक्षा लिन विद्यार्थी तयार हुँदैनन् भन्ने लाग्यो ।
त्यहाँ पानीको दुःख रहेछ । हिउँ पगालेर बनाएको पानीमा चाउचाउ उमालेर खायौं । पानी परिरहेकै थियो । अलिअलि उज्यालो भयो । लाग्यौं बादलडाँडातिर । साह्रै रमाइलो छ भन्थे खै कुन्नि कस्तो छ ? बादलडाँडा नामअनुसारको ठाम । हिँड्दै थियौं । इन्द्रदेव रिसाउनुभयो । ठूलो पर्यो पानी । टेरेनौं । फाप्रेले चुट्न थाल्यो ।
नजिकै बन्दै गरेको होटलमा सिकर्मी डकर्मी बस्नका लागि बनाइएको अस्थायी घरमा आश्रय माग्यौं । वा ! आत्मीयता । दिल खोलेर स्वागत मात्र गरेनन् तात्तातो चिया पनि पस्के । सहर बजारमा भए कुकुर फुकाइदिन्थे धनीहरूले । बादलको लडाइँ र बन्दुक पड्काइ निरन्तर छ । चट्याङले विनाश गरेको सुनाउँछन् मान्छेहरू । मनभित्रबाट डर लागेर आयो । के गर्ने त नि ? उपाय पनि केही छैन । पानीसँगै थपियो फाप्रे र हिउँ । प्लास्टिकको घरमा प्लास्टिककै छानामाथि हिउँ थुप्रिएको छ । बस्यौं डर भगाएर । २ घन्टापछि फेरि उज्यालियो । हिँड्यौँ ।
आहा ! हिउँमाथिको यात्रा । २०६३ सालमा चम्पादेवीको डाँडामा हिउँ खेल्न गएका थियौं । कम्ती रमाएका थिएनौं । आज त बाटो बनाएर हिँड्दै छौँ । डरका अगाडि जित छ । हाम्रो जिद्दी बानीका अगाडि बादल हैरान पर्यो र सूर्यको बाटो छोडिदियो । ओहो ! कति सुन्दर हो डाँडाको बाटो । हिउँको गलैँचा । दाहिनेपट्टि वन र भीर । देब्रेपट्टि मोदीखोलाको किनारका रमणीय बस्ती । अन्नपूर्ण आधार शिविरको यात्रामा देखेका झिनु, छोम्रोङ, सिनवा, दोभान र ब्याम्बो । आहा ! सेतै टल्किएका हिमालमुनि राताम्य गुराँसको जङ्गलका काखमा सुन्दर पर्यटकीय गाउँहरू । स्वर्गलाई गिज्याइरहेका थिए । हामी अगाडि बाटै डाँफे उडेर गयो । सुन्दर पक्षीको घर सुन्दर ठाउँमा मात्र हुँदो रहेछ । नजिकैबाट नियाल्यौँ । शब्दमा पढडे सुनेको डाँफेको सुन्दरता दृश्यमा अवर्णनीय थियो ।
हिँड्यौँ, हिँडिरह्यौँ, रमाएर । अगाडि लम्कँदै गर्दा हाइ क्याम्पमा रहेको ‘डबल भ्यु’ रेस्टुरेन्टले स्वागत गर्यो । चिनिया २ जना पर्यटक रहेछन् । चिनबाट नेपाल घुम्न आएका । स्पेन, जर्मनी, कोरिया, अमेरिका, बेलायत, सिँगापुर, थाइल्यान्ड मलेसिया धेरै देशका पर्यटकहरूसँग साक्षात्कार भएको थियो बाटामा । हाम्रो देशको सुन्दरता हेर्न यति टाढाबाट आउँछन् यिनीहरू । तर हामी ? जे होस् घुम्नमा रुचि हुनेहरूले स्वदेश नै घुमून् । हाम्रा हिमाल, नदी, वनजङ्गल, डाँडाकाँडा, तालतलैया, मठ मन्दिर, धार्मिक स्थल, समथर फाँट आदिले पहिला हाम्रै नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई डाकिरहेका छन् । हामीलाई केही खल्लो लाग्यो जन्मेको आधी उमेरभन्दा बढी पोखरा बस्दा पनि बल्ल मर्दी हिमालको यात्रा तय भएकामा । हाइ क्याम्पमा पनि पानीको दुःख रहेछ । सबै जमेको छ । हिउँ पगालेको पानीमा बनेका खानेकुरा खाएर सुत्यौँ । होटल व्यवस्थित आरामदायी थियो ।
सूर्याेदयसँगै ब्युँझियौं । हिमाल हाँसेका थिए । मनमा स्फुर्ति भएपछि शरीरको थकान गौण हुँदोरहेछ । निस्क्यौँ बाहिर । कतै बादलले ढाकिदिने त होइन हिमाललाई । डर लागेर आयो । हिउँका थुप्रा । अन्नपूर्ण हिमशृङ्खला । मर्दी हिमाल ढाकिएको छ हिउँले । पल्लापट्टि माछापुच्छ«े छ । काखैमा राख्न सकिने जस्तो । बेस क्याम्पको यात्रा भए पनि हाइ क्याम्पबाटै सन्तुष्ट भयौं । हिजो परेको हिउँका कारण ‘भ्यु प्वाइन्ट’ पुग्न कसैले पनि हिम्मत गरेनन् । हामीलाई त्यहीँको सुन्दरता पर्याप्त थियो । खुसी हुनुको सीमा नै हुँदैन नत्र देखाइदिन्थ्यौँ हाम्रो खुसीको मात्रा । मनभरि सुन्दर हिमाली दृश्य भ¥यौँ कत्ति नछुट्ने गरेर । क्यामेराको ब्याट्री नसकिउन्जेल र मेमोरी कार्ड नभरिउन्जेल फुर्सद नै दिएनौँ । दिने पनि किन ?
हिमाली देश नेपालमा जन्मेको भनेर गर्व गर्नका लागि हाम्रो यात्रा सार्थक बन्यो । वा ! हिमाल । हाइ क्याम्पमाथि एउटा टाकुरामा पुगेर चारैतिर हे¥यौँ । मन अघाएकै थिएन । घाममा हिउँ टल्कँदा, हिउँमा चिप्लेटी खेल्दा, हिउँका डल्ला बनाएर हानाहान गर्दा, हिउँलाई हातमा, काखमा र मनमा सजाउँदा हिउँसँग जिस्कँदा कति आनन्द आउँछ, भोग्नेलाई मात्र थाहा हुन्छ ।
होटलमा फक्र्याैं । खाजा खायौं । ओह्रालो झर्यौं । ३ घन्टा जतिको यात्रामा हिउँ साथमै थियो । पछि पातलियो । मन नलाइ नलाई बिदा गर्यौं सुन्दर स्थानका सुन्दर दृश्यलाई ।
तपाईको प्रतिक्रिया