सोमरस सँगसँगै यात्रा

इन्द्र राना ‘प्रतीक’
रक्सी बनाउनु अपराध हो । पिउनु कुनै अपराध हैन । भूपी शेरचन, हरिभक्त कटुवाल जस्ता कवि हृदयले हर्दिकतासहित पिउने गर्थे भन्ने कुरा सर्वविदितै छ । पिउने बानी नबसाल्नु, बसिसकेछ भने पनि यसको लत छुटाउनु आफैंमा राम्रो कुरा हो । क्षयरोग ग्रस्त हुनुबाट बच्नु पनि हो । यस्ता कुरा जान्दा जान्दै पनि हामी पिउने गर्छौ । हामीलाई थाहा छ- यहाँ नपिउनेहरु थोरै हुन्छन् । अभावै अभावको जिन्दगी जिउनेहरु पिउँछन् । सुखमय जिन्दगी जिउनेहरु पनि पिउँछन् ।
अज्ञानतावश पिएको भनौं भने यसरी पिउनु हुँदैन भन्ने ज्ञान छ, तर पिउने मान्छेले टेर्दैन रहेछ । मुखमा परेपछि मुख जिस्किन्छ अनि उसले मात्नै पर्छ । हुन त ठिक्कको मात्रा पु¥याएर पिउनेहरु पनि हुन्छन् । तर कहिलेकाँही मान्छेहरु मातुञ्जेल, खुट्टै नटेकुञ्जेल, लडुञ्जेल पनि पिउँछन् ।
अनियन्त्रित मद्यपानको लत नराम्रो रहेछ । यो रोग जस्तै पनि हो रहेछ भन्ने जानेर पनि पिउनेहरुमा बूढाबूढी, युवायुवती, मूर्ख विद्वानहरु सबै—सबै छन् । मदिरा सेवनले पटक पटक, धेरै पटक नकरात्मक असर पारेको हुन्छ । समस्यामा पारेको हुन्छ । मदिरा सेवनकै कारण हामीले अव्यवस्थित जिन्दगी जिउनु परेको हो भन्ने बुझेर पनि मदिराको अगाडि हामी किन यति विध्न शक्तिहीन हुने गर्छाैं ? यसबारे सोच्दा छक्क लाग्छ ।
रक्सी पिउने रोग पिउन छाडेपछि आफैं हराउदोरहेछ । औषधी नै नचाहिदो रहेछ, आफै औषधी हुँदोरहेछ । जीवनमा जाँडबाट रक्सी हुँदैं बढारेसम्म आइपुग्दा बियर, हिवस्की, रम, वासादेखि लिएर के के हो के के हो, कति खाइयो होला ? अनुमान गर्ने हो भने केही पत्तो लाग्न सक्छ । तर ठीक यति भनेर किटान गर्न सकिन्न । कतिले ख्वाए होलान् । कतिलाई खुवाइयो होला । हिसाब किताब गरेर सकिएला र ? नसकिने कुराको के अर्थ ? कुरा गर्यो कुरैको दःख । अन्दाजी बीस—बाइस बर्षको उमेरदेखि पिउन थाले होला । यो उमेरसम्म खाइयो । कति खाइयो होला ? के भेटिन्थ्यो यसको सटीक उत्तर ।
सोसल ड्रिङकर हुँदाहुँदैँ पिउने मानिस हेभी ड्रिङकर बन्न पुग्छ । साथीभाइको संगतले गर्दा सुरु सुरुमा रमाइलोका लागि पिउँदा पिउँदै पिउने बानी बस्यो । जन्मोत्सव मनाउँदाका क्षणमा होस् वा पार्टी, चाड पर्वहरुमा होस्, बहाना चाहियो पिउनै प¥यो । रक्सी पसलमा होस् या घरमै ल्याएर होस्, पिउनै पर्यो । यो अल्कोहल भन्ने कुरा कस्तो होला ? मुखमा पर्नै नहुने, मुख जिस्किहाल्ने । अनि मातुञ्जेल पिउनै मन लाग्ने । अनियन्त्रित मद्यपानको लत बसेपछि पिउनै पर्यो । नपिएपछि काम्न हराउँछ । नत्र काम्या काम्यै हुन्छ ।
छोएपछि छुत लाग्छ भनेझैं सोसल ड्रिङकर होस् वा हेभी ड्रिङकर होस्, आखिर हो न ऊ अल्कोहलिक । अल्कोहलिक दुर्दसाका बयान कति गर्नु ? यसले कहिल्यै पनि मान्छेलाई सकारात्मक दिशातर्फ उन्मुख गराउँदैन रहेछ । बरु यसले राम्रो मान्छेलाई पनि नकारात्मक दिशातर्फ धकेल्न उत्प्रेरित गर्दाे रहेछ । वेदमा मदिरालाई सोमरस भनिएको छ भने हामी नेपाली यसलाई रक्सी भन्ने गर्छौ । छिमेकी भारतमा दारु, शराब भनिन्ट । चीनमा के भन्छ थाहा छैन । जे भए पनि देश र भाषा अनुसारका यसका आआफ्नै नाम होलान् ।
जाँड खाएर मात्नेलाई जड्ँयाहा, रक्सी खाएर मात्नेलाई रक्स्याहा भनेझैं यो भनिने क्रममा अरुको त के कुरा हामी दुबै बूढाबूढीले पिउने भएकाले जति कमाएर पनि भनेजस्तो नपुग्ने । यसो गरौं, उसो गरौं, भन्यो हुँदै नहुने । काम सधैभरी भइरहे त ठीक छ । ठिक्क खायोपियो, सुत्यो । काम नभएको बेलामा पनि पिउनुपर्ने अनि बचेको पैसा पनि सकिन्छ । खान त पर्यो बाँकी भए पनि । खानै पर्यो सधैको ग्राहक भएकाले साहुले बाँकी पनि पत्याउने । कामको खोजी ग¥यो कमायो, तिर्दै ठिक्क । बचत गरौँला, राखौंला यसो गरौंला, उसो गरौंला भन्ने कुरा छेपारोको शास्त्र जस्तै हुने । कहिल्यै भन्या जस्तो नपुग्ने । साटोमा बरु विभिन्न समस्या आइपर्ने । यति हुँदाहुँदै पनि खान नछोड्ने । नपिउँदा समझदारी पिएपछि हावादारी । भएको पैसा पनि सकिन्छ । अनि परेन फसाद !
धेरै वर्षअघि जमानामा एउटा हिन्दी फिल्म हेरेको थिएँ आफू पनि मातुञ्जेल पिलाउँने किसिमको चरित्र बोकेको अमिताभ बच्चनको ‘शराबी’ । सो चलचित्रमा धनी मानिस भएर पनि, हरेक सुख भोग गरेर पनि ऊ किन पिउँछ र केका लागि पिउँछ भन्ने विषयको भावुक दृश्यलाई अघि बढाएर अन्त्यमा आफूले सोचेजस्तो, ठानेजस्तो हुन थालेपछि सराबी फिल्मको पात्रले पिउन छाड्ने वाचामात्र गर्दैन, पूरै परित्याग नै गर्दछ । र, आफूलाई सुधार्छ ।
मान्छेले रक्सी खान्छ, धेरै खान थालेपछि रक्सीले मान्छे खान्छ । यो सत्य पनि हो । मैले सोचें, निकै पटक सोचें, मदिरापान गर्नुहुन्न, अनियन्त्रित रक्सी पिएर, निरन्तर मातिएर डुङडुङ्ती गन्हाएर हिड्नुहुन्न भन्ने सोचें । अहिले म बदलिएको छु । पिउन छोडेको छु । मनलाई बाध्न सक्नुपर्दाे रहेछ, यसो गरे छोड्न सकिँदो रहेछ । अत्यधिक पिउँदाखेरी नाकारात्मक असर पनि पर्यो । लडाईं, झगडा, कुटामारी हुन्थ्यो । भोलिपल्ट बिउझेपछि हिजो के भयो भन्ने कुरा थाहा नपाउने गरी पनि खाइयो । वाकुञ्जेल, छादुञ्जेल खाइयो, पेटको रोगी भइयो र पनि पिउन छाडिएन । त्यसैले धेरै दुःख पाइयो । ऐले छाडियो, हाइसञ्चो भएको छ । तर कतिञ्जेलसम्म हो छाड्ने, आफैंलाई शंकै लाग्छ । पिउनु राम्रो होइन भन्ने जान्दाजान्दै पनि रक्सीवाजले पिउन छाड्दैन । अब छोड्छु भन्छ, केही दिन छोड्छ फेरि पिउँछ । यो मद्यपानले गर्नुगरेको छ । खाने जति सबैलाई असर पारेको छ ।
पोखरा ११, फूलबारी
तपाईको प्रतिक्रिया