मुस्ताङमा ३ दिनमा ११ हजार तीर्थालु

समाधान संवाददाता २०७५ चैत २४ गते १२:५१

सुन्दरकुमार थकाली, मुस्ताङ

मुस्ताङमा यतिबेला देशभरिबाट तीर्थालु भित्रिएका छन् । औंशी र चैते दसैंको मेसोमेला मिलाएर नेपालका विभिन्न ठाउँबाट तीर्थालु भित्रिएका हुन् । मुस्ताङमा वर्षमा २ पटक औंसी तिथिमा श्रद्धालु भक्तजनको ओइरो लाग्ने गर्छ । वडादसंै अघिको १६ श्राद्ध औंसी र चैते दसंैअघिको आंैशीमा कागबेनीमा श्राद्ध तथा तर्पण गर्न आन्तरिक तीर्थालुको भीड लाग्ने गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय जोमसोमका ट्राफिक असई विष्णु पल्लीमगरका अनुसार बिहीबार यता ३ दिनमा मात्र मुस्ताङमा १ हजार ३ सय भन्दा गाडी भित्रिएका छन् । यी गाडीबाट करिब साढे ११ हजार तिर्थालु कागबेनी तर्पण गर्न पुगेका छन् । पहिला सिण्डिकेट हुँदा बेनी जोमसोम रुटमा स्थानीय समितिका मात्रै गाडी चल्थे । अहिले भने सबैथरि गाडी सहज रुपमा मुस्ताङ प्रवेश पाउँछन् ।

Advertisement

औंशी मेलाकै कारण जोमसोम, कागबेनी र मुक्तिनाथका होटल शुक्रबारदेखि भरिभराउ छन् । यस्तै बेनीदेखि मुस्ताङ आउने सडकमा सञ्चालित होटल पनि तीर्थालुले भरिएको होटल सियु लजका सञ्चालक अमित तुलाचनले बताए । कागबेनी वरपरका सानाठूला सबै होटल आन्तरिक तिर्थालुले भरिएका छन् । होटेलमा ठाउँ नभएपछि धर्मशालामा बस्नेको संख्या पनि उत्तिकै छ ।

कालगण्डकी र कागखोलाको संगमस्थलमा पुगेर पिण्डदान गर्नले पितृमोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ । औंशीको मेसो पारेर यहाँ १२ भन्दा बढी पूजारी कागबेनीमा छन् । कागबेनी स्नानपछि पिण्डदान गरेर तीर्थालु मुक्तिनाथ दर्शन गर्न उकालो चढ्ने चलन छन् ।

Advertisement

तीर्थालुको स्वास्थ्य र सुरक्षालाई ख्याल राख्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली खटाएको सिडिओ गंगाबहादुर क्षेत्रीले बताए । बढी उमेरका तीर्थालुमा स्वास्थ्य समस्या बढी देखिने भएकाले सोही अनुसारको व्यवस्था गरिएको क्षेत्रीको भनाइ थियो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले पनि तीर्थालुको सुविधाका लागि आन्तरिक व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

यो वर्ष तिर्थालुको संख्या घटेको स्थानीय होटल व्यवसायीको भनाइ छ । पोखरा– बागलुङ सडकखण्ड मर्मतका क्रममा रहेकाले गाडी आवतजावतमा समय निर्धारण गरिएकाले तीर्थालु घटेको हुनसक्ने उनीहरुको अनुमान छ । जोमसोमका होटल व्यवसायी राकेश भट्टचनले भने,‘समय तालिकाले मुस्ताङ आउने यात्रु बाटोमा घन्टांै जाममा बस्न बाध्य छन्, त्यही भएर तीर्थालु घटेका हुन् ।

नेपाली मात्र नभएर अहिले मुस्ताङमा भारतीय तीर्थालु पनि बढेका छन् । अहिले दैनिक २ सयको हाराहारीमा भारतीय तीर्थालु मुस्ताङ भित्रिने गरेको एक्याप जोमसोम चेकपोस्टले जनाएको छ । एक्यापका अनुसार मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटक पोहोरभन्दा बढेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग हुँदै विदेशी पर्यटक दैनिक १ सय बढी मुस्ताङ भित्रिएका छन् । हवाइमार्गबाट पनि मुस्ताङ आउने पर्यटक बढेका छन् । अहिले जोमसोमका लागि पोखराका दैनिक ८ देखि १० उडान हुँदै आएको नागरिक उड्यन कार्यालय जोमसोम प्रमुख भानुभक्त कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया