प्रदेशले प्राविधिक शिक्षा नीति ल्याउँछ ः थापा

समाधान संवाददाता २०७५ चैत २४ गते १३:४१

पोखरा, समाधान

काहूँ आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । ५०९ वर्ष पुगेको अवसरमा शनिबार महोत्सव समापन सभामा प्रदेश सांसद विन्दुकुमार थापाले प्राविधिक शिक्षालेमात्र विद्यालयको भविष्य निर्धारण गर्ने बताए ।
सामुदायिक विद्यालयप्रति अभिभावकको दृष्टिकोण निजीमा भन्दा फरक पर्दै आएकामा चिन्ता गर्दै विपन्न, दलित तथा मजदुरका छोराछोरीले अध्ययन गर्ने थलोमा परिणत हुन पुगेको बताए । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउनु पर्नेमा जोड दिए । सांसद थापाले प्रदेश सरकारले सरकारी विद्यलयको संरक्षणमा जोड दिने बताउँदै शैक्षिक बेरोजगार अन्त्य गर्नेगरी प्राविधिक शिक्षातर्फ शिक्षा नीति ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा सांसद थापाले पर्यटनमा आधारित चाइनिज भाषाका कक्षा सञ्चालनमा जोड दिँदै ३० प्रतिशतमा रहेको प्राविधिक शिक्षालाई ७० प्रतिशतमा पु¥याउने प्रदेश सरकारको लक्ष्य रहेको बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सके मर्ज गर्नु पर्ने आवश्यकता नरहने धारणा व्यक्त गरे ।

Advertisement

पोखरा ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले नयाँ भर्ना हुने विद्यार्थीका लागि आवश्यक खर्च वडाले नै व्यहोर्ने जानकारी दिए । स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तीर्थबहादुर बस्नेतले सबैको सहयोग र शिक्षाप्रतिको मोहले विद्यालय यहाँसम्म आएको बताए । बस्नेतले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने बताउँदै प्रविधिमैत्री शिक्षामा जोड दिए । काहूँ आधारभूत विद्यालयलाई सबैको माया र साथ पाउनसके प्राविधिक शिक्षातर्फ जोड्न कुनै समस्या नभएको बताए । स्वागत गर्दै संयोजक बस्नेतले भौतिक सुधार भएको विद्यालयले प्राविधिक शिक्षा तथा सीपमूलक क्षमता प्रदान गर्न सकिनेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा खुशी सुनार, स्वर्ण जयन्ती मूल समारोह समितिकासहसंयोजक चित्रप्रसाद लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम, कोन सामुदायिक सहकारी संस्थाका अध्यक्ष शरदकान्त सिग्देल लगायतले विद्यालयले सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

Advertisement

कार्यक्रममा विद्यालयद्वारा प्रकाशित स्वर्ण जयन्ती स्मारिकाको लोकार्पण, विद्यालय परिसरमा निर्मित सरस्वतीको मूर्ती प्रतिस्थापन र स्मारक स्तम्भ अनावरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक मनहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका लागि सहयोगी भूमिका प्रदान गर्ने अभिभावक, व्यवस्थापन समिति, पूर्व प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, चन्दादाता एवं संघ संस्थालाई सम्मान गरिएको थियो ।काहूँ भाषा पाठशालाको नामबाट विसं २०२५ सालमा स्थापना भएको विद्यालयले गत फागुन ७ गते ५० औं वार्षिकोत्सव कार्यक्रमको शुभारम्भ गरेको थियोे ।

तपाईको प्रतिक्रिया