विशाल र मेट्रो सहकारी सम्मानित

समाधान संवाददाता २०७५ चैत २४ गते १४:०५

समाधान संवाददाता, पोखरा

राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले आर्थिक वर्ष २०७४÷०७५ मा उत्कृष्ट र नियमित कारोबार गर्ने २ वटा सहकारीलाई सम्मान गरेको छ । बैंकको कास्की जिल्लाको पोखरास्थित प्रदेश शाखामा उत्कृष्ट कारोबार गर्ने विशाल सहकारी संस्था र नियमित कारोबार गर्ने मेट्रो सहकारी सम्मानित भएका हुन् ।

शाखाले शुक्रबार गरेको कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेती, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी र शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङले संस्थाका पदाधिकारीलाई सम्मानपत्रसहित सम्मान गरे ।

Advertisement

बैंकको साधारणसभामा केन्द्रीय स्तरमा पुरस्कार तथा सम्मान प्रदान गरिंदै आएको छ । साधारणसभामा घोषणा गरी शाखा स्तरमा कारोबार गर्ने संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत पोखराका २ वटा सहकारीलाई सम्मान गरिएको हो । बैंकका अध्यक्ष उप्रेतीले सहकारी क्षेत्रमार्फत समृद्धिको अभियानमा सहकारी बैंकको भूमिका प्रभावकारी बन्दै गएको बताए । उनले वित्तीय लगायत सहकारी क्षेत्रको प्रवद्र्धनका लागि बैंक सबै किसिमका सहकारीको प्रवद्र्धनका लागि सक्षम रहेको उल्लेख गरे । उनले भने,‘सरकार र अन्य साझेदार निकायसँग समन्वय गर्दै अगाडि बढ्न बैंक तत्पर छ ।’

सहकारी ऐन आएसँगै प्रदेश सरकारले सहकारी बैंक बनाएर अगाडि बढ्ने कसरत गरेको भन्दै उनले अर्को बैंक होइन, यही बैंकसँग समन्वय गरेर काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । सहकारी क्षेत्रलाई कमजोर बनाउने, एक अर्कामा अनावश्यक प्रतिस्पर्धा गराउने काम सरकारबाट हुन नहुनेमा उनले जोड दिए । कार्यक्रममा बैंकको विगत, वर्तमान अवस्था र आगामी रणनीतिका बारेमा बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले प्रकाश पारे ।

Advertisement

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक भीम गुरुङ, पोखरा महानगर सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण अधिकारी, जिल्ला सहकारी संघ कास्की वरिष्ठ उपाध्यक्ष बलराज गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप पाठक, पोखरा शाखा व्यवस्थापन उपसमिति संयोजक मेजर तुलसीप्रसाद गुरुङ, शाखा प्रमुख सन्तोष पोखरेल र सहायक अधिकृत अमृत श्रेष्ठले बोलेका थिए ।

तपाईको प्रतिक्रिया