प्रमोदले रविन्द्र ‘मिस’ गर्दा पोखरा स्तब्ध

समाधान संवाददाता २०७५ चैत २४ गते १४:२९

विकास रोकामगर, पोखरा

पोखरा सभागृह प्रेक्षालयमा बसेका दर्शक तथा स्रोता सबैको मञ्चमा केन्द्रित थियो । हल यसरी मौन बसको थियो कि चाँडै केही हुँदैछ । स्टेजको डिजिटल स्क्रिनमा क्रमशः काउनडाउन सुरु भयो – ‘१०, ९, ८, …….२, १, ० ।’

‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा……..’ काउनडाउन ‘जिरो’ पुग्यो । बाहिरबाटै कोही गीत गाउँदै स्टेजमा देखा प¥यो । केही समयअघि शान्त बसेका दर्शकस्रोताले आफूलाई रोक्न सकेनन् । सिट्ठी र तालीको गड्गडाहटसँगै सभाहल थर्किने गरी चिच्याइहाले, ‘प्रमोद । प्रमोद प्रमोद…..।’

Advertisement

शुक्रबार पोखरा सभागृह हल प्रमोद खरेललाई सुन्न आएका दर्शकस्रोताले खचाखच भरिएको थियो । पोखरेली सर्जक शीतल गिरीले रचना गरेको ‘म बिना कसैकसैलाई…’ गाउँदै स्टेजमा उक्लिएका उनी पटकपटक दर्शकलाई संगीतको मजामा सम्मोहित पारिरहे ।

मबिनाका गीतकार शीतलसँग अंगालो मारे र भने, ‘गीतकार पनि चिनुनु पर्छ । म उहाँकै शब्दमा जीवन्त हुन पाएँ ।’ प्रमोदको गीतकार प्रतिको श्रद्धा र आदर देखेर पोखरेलीले सिठी र ताली ठोकेर साथ दिइरहे ।
प्रमोदले त्यसलगत्तै स्टेजमा आफ्ना बाआमा डाके । ‘मेरा बुवाआमा यतैकतै हलमा हुनुहुन्छ । म यतै तल बसेर गीत सुन्नेछु भन्नुभएको थियो । आज म उहाँहरुकै कारण यहाँ उभिएको छु । कृपया उहाँहरुलाई स्टेजमा ल्याइदिनुहोला,’ प्रमोदले यतिभन्दा माहोल भावुक बन्यो । बाआमाको आर्शिवाद लिएर संगीतको उत्सव जमाउन थालेका प्रमोदले अन्तिमसम्मै वाहवाही पाइरहे । पोखरेली संगीतपारखीको मान जितिरहे ।

Advertisement

खरेलले दास्रो गीत ‘आमा म त सहिद भएछु..’ गीत गाउँदा दर्शक भावुकमात्रै बनेनन्, देशका निम्ति ज्यान गुमाउने सहिदको सम्झना गराइरह्यो । लगातार ४÷५ वटा गीत गाइसकेपछि पर्दामा स्व. रवीन्द्र अधिकारीको तस्वीर देखाप¥यो । रवीन्द्रलाई पर्दामा राखेर खरेलले गाउन सुरु गरे, ‘याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ ।’

रवीन्द्रका सहपाठी नेकपाका प्रतिनिधि सभा सांसद योगेश भट्टराई भावुक बनेर साथीको सम्झनामा डुबिरहे । केही समयअघि ताप्लेजुङमा हवाई दुर्घटनामा परी दिवंगत भएका नेतालाई देख्दा धेरैले आँशु थाम्न सकेनन् ।
१५ जना वाद्यवादकसहित प्रत्यक्ष प्रस्तुति राखेका खरेलले ‘उसले जति माया तिम्लाई…, ओइ झुमा…., मलाई जसले पनि किन रुवाउँछ ?’ सहित करिब २ दर्जन आफ्ना प्रस्तुति राखे । नेपाली क्रिकेट सम्बन्धी गीत सुनाउँदै देशको माया गर्न आह्वान गरेर प्रमोदले कार्यक्रमको बिट मारे ।

स्टेजमा गायक खरेललाई अर्की गायिका मिना निरौलाले साथ दिएकी थिइन् । शान्ति ठटालद्वारा संगीतबद्ध गीतसहित २ गीत गाउँदै कार्यक्रमको सुरुआत गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा मीना र प्रमोदले नेपालका अग्रज र ख्यातिप्राप्त गीतमा आवाज दिएर धेरैलाई नचाए ।
कार्यक्रमको बीचमा आएका हाँस्य कलाकार मनोज गजुरेलको हाँस्य प्रस्तुतिमा दर्शक खित्का छोडेर हाँस्ने मौकामात्रै पाएनन् अन्धविश्वासले ज्यानै लिने सन्देशसमेत दिएको पाए ।

लोकप्रिय गायक खरेल र दर्शकलाई प्रत्यक्ष सुन्ने र सुनाउने व्यवस्था एभिन्यू ग्रुप अफ कमर्शले मिलाइदिएको हो । जसमा कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको थियो, बार्दली मिडिया प्रालिले । पोखरामा मात्र नभएर नेपालमै प्रमोदको यो खालको कार्यक्रम पहिलो पटक भएको बार्दलीका प्रवन्ध निर्देशक मन क्षेत्रीको दाबी छ ।

तपाईको प्रतिक्रिया