पोखराबाटै ५ हजारलाई श्रमस्वीकृति, झापा र काठमाडौंदेखिका सेवाग्राही पोखरामा

समाधान संवाददाता २०७५ चैत २५ गते १०:४२

ईश्वर देवकोटा, पोखरा

पुस अन्तिम सातादेखि सञ्चालनमा आएको श्रम तथा रोजगार गण्डकी प्रदेश पोखरा कार्यालयले ५ हजार बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । कार्यालयले तीन महिनामा वैदेशिक रोजगारीका लागि जाने ५ हजार ४५ जना नेपालीलाई पुनः श्रम स्वीकृति सम्बन्धी सेवा दिएको हो । चैतमा मात्रै १ हजार ५ सय १५ जनाले सेवा लिएको जनाइएको छ ।

गण्डकी प्रदेशका मात्रै नभई देशका विभिन्न जिल्लाबाट समेत श्रम स्वीकृतिका लागि पोखरा आउने गरेको कार्यालयका निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठले जानकारी दिए । ‘कार्यालयबाट प्रदेशका ११ वटा जिल्लाका नागरिकलाई लक्षित सेवा पु¥याउने भनिए पनि अन्य जिल्लाबाट आउनेलाई सेवा दिइरहेका छौं,’ उनले भने, ‘केही दिनअघि घोडेजात्रामा काठमाडौंमा बिदा हुँदा त्यहाँबाट आएर सेवा लिएर सेवाग्राही फर्किए । थोरै संख्यामा तर झापा, धनुषाबाट आएका सेवाग्राहीले पनि सेवा पाएका छन् ।’

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नागरिकलाई पुनः श्रम स्वीकृति सम्बन्धी सेवामा सहजता ल्याउन सातै प्रदेशमा कार्यालय खोलिसकेको छ । सेवा विस्तारसँगै काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । उक्त अवधिमा कार्यालयबाट सेवा लिनेमध्येमा १ सय ७ जना महिला छन् ।

निमित्त प्रमुख श्रेष्ठका अनुसार औसतमा ८० देखि सय जनासम्म सेवाग्राहीले दैनिक सेवा पाइरहेका छन् । काजगपत्र पु¥याएर आउने सेवाग्राहीले ३० मिनेटदेखि १ घन्टामा सेवा दिन सकिएको उनी बताउँछन् ।
बैंकिङ र बिमा सेवाका लागि सम्झौता भइसके पनि भवन अभावमा कार्यालय स्थापना हुन नसक्दा भने सेवाग्राहीले केही समस्या भोग्नुपरेको गुनासो सुनिएको छ । सेवाका लागि प्रभु बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सम्झौता गरिसकेको भएपनि श्रम कार्यालयले भवनमा कोठा उपलब्ध गराउन नसक्दा समस्या देखिएको निमित्त प्रमुख श्रेष्ठ बताउँछन् ।

Advertisement

बिमा बापतको रकम र बोर्डमा जम्मा गर्नुपर्ने शुल्क बैंक र बिमा कम्पनीमार्फत भुक्तानी दिनुपर्ने भए पनि त्यससम्बन्धी कार्यालय स्थापना हालसम्म पनि स्थापना नहुँदा सेवाग्राहीले बाहिरका निजी सटरबाट सेवा लिइरहेका छन् । विभागको अनलाइन फाराम र भुक्तानी गर्नुपर्ने रकम जम्मा गर्न सटरबाट सेवा लिँदा अतिरिक्त सेवा शुल्क लिइरहेको सम्बन्धमा पनि कार्यालयले चासो दिइरहेको निमित्त प्रमुख श्रेष्ठले बताए ।

‘बिमा कम्पनीले बाहिर रहेकै सटरमा डेक्स राखेर अबको केही दिनमै सेवा सुरु गर्ने जानकारी पाएको छु,’ उनले भने, ‘बैंकिङ सेवाका लागि यही समन्वय समितिको भवनमा एक कोठा प्रबन्धका लागि आवश्यक पहल अघि बढाइसकिएको छ ।’ सेवाग्राहीलाई थप अतिरिक्त शुल्क तिर्न बाध्य नपार्न आगामी दिनमा विभागको अनलाइन फाराम कार्यालयबाटै भर्ने व्यवस्था मिलाउन लागिएको उनले जनाए ।

जनशक्ति अभाव
श्रम तथा रोजगार कार्यालयमा १३ जनाको दरबन्दी रहे पनि अहिले ७ जना कर्मचारीले मात्रै नियमित कार्य सम्पादन गर्दै आइरहेका छन् । सामान्य बिरामी हुँदासमेत कर्मचारीले बिदा लिन नसकेको निमित्त प्रमुख गणेशप्रसाद श्रेष्ठ बताउँछन् ।

उपसचिव स्तरको कार्यालय प्रमुखको दरबन्दीमा हालसम्म पनि पदपूर्ति नहुँदा वरिष्ठ शाखा अधिकृत श्रेष्ठले निमित्त प्रमुख रहेर जिम्मेवारी सम्हाल्दै आएका हुन् । कार्यालय प्रमुखसँगै कार्यालयमा दरबन्दी रहेको शाखा अधिकृत, मेकानिकल सुपरभाइजर, लेखापाल, ड्राइभर र कार्यालय सहयोगी १÷१ जनाको पद रिक्त रहेको उनले जानकारी दिए ।

‘दरबन्दी अनुसारको जनशक्ति आइनपुग्दा कार्यसम्पादनमा समेत केही ढिला भएको महसुस गरेका छौं । यसबारे विभागमा पत्राचार गरिरहे पनि कहिलेसम्म पदपूर्ति हुन्छ जानकारी आएको छैन्,’ उनले भने ।

तत्काल कार्यालय स्थापनाका लागि जिल्ला समन्वय समिति कास्कीको भवनमा ४ कोठाबाट कामकारबाही सञ्चालनमा ल्याइएको भए पनि पप्र्यात नरहेको उनले सुनाए । कार्यालयमा दरबन्दी अनुसारको जनशक्ति पूर्ति भए न्यूनतम ८ कोठा आवश्यक पर्ने निमित्त प्रमुख श्रेष्ठले जानकारी दिए । वर्षाको समय सुरु भएसँगै सेवाग्राहीलाई ख्याल गर्दै हाल सेवा दिइरहेको भवनको झ्याल पछाडितर्फ ट्रस्ट निर्माण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया