मुस्ताङमा सिमेन्ट तथा सौर्य ऊर्जा र वायु ऊर्जा उत्पादनको अधिक सम्भावना

समाधान संवाददाता २०७५ चैत २५ गते १०:५२

सुन्दरकुमार थकाली , मुस्ताङ,

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको टोलीले मुस्ताङमा वार्षिक, बहुवार्षिक तथा पञ्चवर्षीय योजना तर्जुमाबारे सुझाव संकलन थालेको छ । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, आयोगका उपाध्यक्ष गिरधारी शर्मा पौडेल र सदस्य भीमा ढुंगाना, उपसचिव मोहनबहादुर थापा, नायब सुब्बा शिवप्रसाद पौडेल लगायतको टोली सुझाव संकलनका लागि मुस्ताङमा आएको हो ।

आयोगले पञ्चवर्षीय नीति तथा योजनाको गाइडलाइन निर्माण गर्न स्थानीय स्तरमा सुझाव संकलन गरेको हो । आयोगले यसअघि प्रदेशका १० वटा जिल्लामा सुझाव संकलन गरिसकेको छ । हिउँदको हिमपात र अत्यधिक चिसोका कारण मुस्ताङमा केही ढिलो टोली पुगेको हो । जिल्ला समन्वय समिति मुस्ताङमा शनिबार भएको पञ्च वर्षीय योजना तर्जुमा कार्यशालामा मुस्ताङका ५ वटै स्थानीयतहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरोकारवालाले सुझाव दिए ।

Advertisement

कार्यक्रममा सहभागीलाई ५ समूहमा विभाजन गर्दै आयोग टोलीले आवश्यक कार्ययोजना सम्बन्धमा लिखित सुझाव पेश गर्न लगाइएको आयोग सदस्य भीमा ढुंगानाले बताइन् । सरोकारवालाले जिल्लाका कृषि,पर्यटन, यातायात,ऊर्जा,खानेपानी, प्राकृतिक स्रोत साधनको संरक्षण, नदी नियन्त्रण र स्थानीय स्तरमा सम्भावना भएका विषयबारे आयोगलाई सुझाव दिएका छन् ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले प्रदेशका योजना तथा सम्भावनालाई कार्यतालिका अनुसार अघि बढाउन सुझाव संकलन गरिएको बताए । मुख्य सचिव पौडेल भने,‘जिल्लामा पुगेर लिइएका सुझाव ग्रहण गर्दै आधार नीति योजनाको खाकामा समावेश गर्नेछौं । सुझावले भौगोलिक पहिचान र वस्तुस्थिति अध्ययन गरेर विकास योजनाको खाका आउनेछ ।’

Advertisement

प्रमुख सचिव पौडेलले ११ वटै जिल्लामा संकलन गरिएका सुझावले आधारभूत योजना निर्माणमा सघाउ पु¥याउने उल्लेख गरे । वैशाखको दोस्रो हप्ताभित्र बृहत योजना खाका तयार गर्ने प्रमुख सचिव पौडेलको भनाइ छ । संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङमा प्राकृतिक स्रोत, साधन, कृषि र पर्यटनको प्रचूर सम्भावना रहेको बताए ।उनले एक्याप र वन कार्यालयको जिम्मेवारी नीतिमा स्पष्ट उल्लेख नहुँदा स्थानीयतहमा गरिने कामले गति लिन नसकेको सुनाए ।

राष्ट्रिय गौरवको आयोजना कोरला सडक समयमा सक्न बजेट अभाव हुन नदिन सांसद तुलाचनले सरकारको ध्यानाकर्षण गराए । मुस्ताङमा सिमेन्ट कारखाना तथा सौर्य ऊर्जा र वायु ऊर्जा उत्पादनको अधिक सम्भावना भएकाले यसलाई अघि बढाउनु तीन तहका सरकारको दायित्व भएको उनले औंल्याए । मुस्ताङ जस्तै बगरे मरुभूमि भएको देश इजरायलले कृषिक्षेत्रमा उच्च छलाङ मारेको उल्लेख गर्दै सांसद तुलाचनले यहाँ खेर गएको हजारौं हेक्टर भूमि प्रयोगमा ल्याउन सकिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङमा कालिगण्डकी नदी नियन्त्रण चुनौतिपूर्ण बन्दै गएको बताए ।वर्षेनी नदीको उच्च वहावका कारण बस्तीभन्दा नदीको उचाइ बढी भएकाले खतरा नियन्त्रणबारे सोच्न आग्रह गरे । उपल्लो मुस्ताङमा प्रसूति सेवा उपलब्ध नभएकाले जटिल अवस्थाको प्रसूति उद्धारको जिम्मेवारी जिल्लालाई दिन आग्रह गरे । उपल्लो मुस्ताङ संंरक्षित क्षेत्र भएकाले हेली अनुमति झन्झटिलो बनेको दुखेसो उनले सुनाए ।

जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जलवायु परिवर्तनका कारण मुस्ताङको कृषि र पशुपालन संंकटमा पर्न थालेको बताइन् । उनले प्रदेश सरकारलाई आगामी कार्ययोजनामा जलवायु प्रकोप न्यूनीकरणका उपायको खोजी गर्न आग्रह गरिन् । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गिरधारी शर्मा पौडेलले प्रदेशको स्थितिबारे प्रस्तुति गरेका थिए ।

तपाईको प्रतिक्रिया