पामेमा एम्बुलेन्स सेवा सुरु

समाधान संवाददाता २०७५ चैत २५ गते १२:००

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाले फेवातालको जलाधार क्षेत्रका स्थानीय बासिन्दालाई लक्ष्य गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
संघीय सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहयोगमा महानगरले एम्बुुलेन्स सेवा सुरुआत गरेको हो । महानगरको स्वामित्व भए पनि एम्बुुलेन्सको सञ्चालन र व्यवस्थापनको जिम्मा पामेस्थित फेवा क्लबलाई दिइएको छ ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आइतबार पामे बजारमा एम्बुलेन्स सेवा सुरुआत गर्दै सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत महानगरले फेवा जलाधार क्षेत्रका लागि एम्बुलेन्स ल्याएको बताए । पोखराको प्रमुख पर्यटकीय केन्द्र लेकसाइडदेखि नजिकै भएर पनि महानगरको अनुभूति गर्न नपाएको उल्लेख गर्दै मेयर जिसीले त्यस क्षेत्रको विकास निर्माणका लागि महानगरले प्राथमिकता दिएको समेत दाबी गरे ।

Advertisement

ग्रामीण क्षेत्रमा जनहसभागिता र जनश्रमदान उठाउन कठिन भएको तर्फ संकेत गर्दै मेयर जिसीले आगामी वर्षदेखि महानगरले जनसहभागिता नराख्ने जानकारी दिए । ‘आम नागरिकले ढुक्क भएर इमान्दारीपूर्वक कर तिर्नु आवश्यक छ,’ मेयर जिसीले भने, ‘जनताले तिरेको करको सही सदुपयोग गरेर विकास निर्माणको सबै कामको जिम्मा महानगरले लिन्छ ।’

महानगरको स्वामित्वमा रहेको एम्बुलेन्सलाई जतन गरी सञ्चालन गर्न मेयर जिसीले स्थानीयलाई आग्रह गरे । बैदाम पामे हुँदै पञ्चासे जाने मोटरबाटो स्तरोन्नति कार्य प्राथमिकतामा पारेको जानकारी दिँदै मेयर जिसीले घाँटीछिनादेखि पन्चासेसम्म ३ करोडको काम र पामेसम्म ६ करोड रुपैयाँ महानगरको लगानीमा मोटरवाटो कालोपत्रे गरिने बताए । समारोहमा मेयर जिसीले पोखरा २३ र २४ जोडने खहरे खोलामा ९ करोड १८ लाखको मोटरेबल पुलको निर्माण कार्यसमेत सुरुआत भएको जानकारी दिए ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले ग्रामीण क्षेत्रका बिरामीलाई अबदेखि डोली र स्टेचरमा बोक्नुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले पामेको फेवा क्लबले प्रशंसनीय कार्य गरेकोले एम्बुलेन्सको व्यवस्थापन र सञ्चालनको जिम्मा दिएको जानकारी दिए । अध्यक्ष सुवेदीले बा १ झ ५९९७ नम्बरको जापानी टोयटा कम्पनीको अब्बल एम्बुलेन्सले ग्रामीण क्षेत्रमा सहज बिरामी लिन र लैजान सक्ने बताए । उनले पोखरा महानगरपालिका वडा नम्बर १८, २३ र २४ तथा अन्नपूर्ण गाँउपालिका वडा नं १, २ र ३ का स्थानीय बासिन्दाका लागि एम्बुलेन्सले सेवा लिन सक्ने बताए ।

कार्यक्रममा पोखरा वडा नम्बर २३ कार्यवाहक वडाअध्यक्ष भरतराज भण्डारी, महानगर कार्यपालिकाका सदस्य तथा वडा नम्बर २४ का सदस्य सन्तुदेवी सुवेदी, वडा सदस्य अग्निधर त्रिपाठी, बैदाम पामे मोटरबाटो समितिका अध्यक्ष लेखनाथ पराजुली, पामे आधारभूत विद्यालयका प्राधानाध्यापक खिमनाथ तिमिल्सिना, फेवा क्लबका अध्यक्ष दीपक पुरी, सचिव लक्ष्मण तिमिल्सिना लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया