आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन

कृष्ण न्यौपाने
दमौली
प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने सरकारको घोषणा बमोजिम तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा स्थापना भएको कालीगण्डकी प्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मार्फत् मंसिर २ गतेबाट नै पढाइ सुरु भइसकेको उक्त शिक्षालयको शनिबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा बोल्दै मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको बताए । मन्त्री गुरुङले दक्ष जनशक्ति भए मात्रै देश विकास सम्भव रहेको उल्लेख गर्दै दक्ष जनशक्ति उत्पादन प्राविधिक शिक्षाबाट हुने बताए ।
मन्त्री गुरुङले परम्परागत शिक्षा प्रणालीले बेरोजगार जनशक्ति मात्रै उत्पादन गर्ने भएकोले अहिलेको प्रमुख आवश्यकता व्यावसायिक शिक्षा भएकोमा जोड दिए । गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षालाई महत्व दिएर बजेट समेत विनियोजन गरेको भन्दै मन्त्री गुरुङले प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।
कार्यक्रममा पूर्वसचिव शान्तबहादुर श्रेष्ठले १ घर १ प्राविधिक उत्पादन गर्न सकिए कोही पनि बेरोजगार बन्नुनपर्ने बताए । उनले वन विज्ञानको जनशक्तिको देशमा ठूलो माग रहेको भन्दै त्यो मागलाई पूरा गर्न कालीगण्डकी प्राविधिक शिक्षालयले सहयोग पुर्याउने बताए ।
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले प्राविधिक शिक्षा सञ्चालनका लागि गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का गण्डकी प्रमुख भुवनेश्वर ढुंगानाले औचित्य र मागको आधारमा सीपमूलक पढाई सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कालीगण्डकी प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार शिक्षालयमा वन विज्ञानको पढाई मङ्सिर २ गतेबाट शुरु भइसकेको छ । ४० कोटा रहेको शिक्षालयमा ३७ जना विद्यार्थी अध्ययनरत छन् । उनका अनुसार शिक्षालयमा जुम्ला, रुकुमु, दार्चुला, बाजुरा, जाजरकोट, सल्यान, हुम्ला लगायतबाट विद्यार्थी अध्ययनका लागि आएका छन् ।
शिक्षालयको हालसम्म आफ्नै भवन नभएकोले सोही वडामा रहेको कृष्ण माध्यमिक विद्यालयको कक्षाकोठामा वन विज्ञानको पढाई हुँदै आएको छ । छिट्टै नै शिक्षालयको आफ्नै भवन निर्माण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म शिक्षालयको आफ्नै भवन छैन । वैकल्पिक व्यवस्था गरी पठनपाठन सञ्चालन गरिरहेका छौ ।’ सिटिइभिटी मार्फत् भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ५० लाख प्राप्त भइसकेको र आगामी दशै अगावै चार कोठे भवन निर्माण गरिने उनले बताए ।
तपाईको प्रतिक्रिया