कास्कीमा उपनिर्वाचनः धर्मसंकटमा रवीन्द्रपत्नी विद्या

समाधान संवाददाता २०७५ चैत २६ गते ९:०७

अमृत सुवेदी

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको दुर्घटनामा ज्यान गएपछि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । कास्की २ बाट निर्वाचित अधिकारीको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गएको थियो ।

अधिकारीको निधनपछि अब उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीले कसलाई उम्मेदवार बनाउला ? देशैभरि चासो छ । रवीन्द्रकै जीवनसाथी विद्या भट्टराईलाई नेकपाले टिकट दिने चर्चा चलिरहेको छ । नेकपाले आधिकारिक निर्णय भने गरिसकेको छैन । निर्वाचनमा टिकट दिने खबर र चर्चा विद्याको कानमा पनि पुगेको छ । तर, विद्याले निर्वाचनमा उठ्ने आफूलाई तयार पारिसकेकी छैनन् ।

Advertisement

नेकपा नेताहरुले भने सो निर्वाचन क्षेत्रबारे प्रतिक्रिया दिइरहेका छन् । नेकपा नेता तथा रवीन्द्रका सहपाठी योगेश भट्टराईले कास्की क्षेत्र नम्बर २ मा रवीन्द्रको परिवार नै पहिलो प्राथमिकतामा पर्ने बताएका छन् । समाधानसँग कुराकानी गर्दै नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका नेता भट्टराईले सिंगो पार्टीकै पहिलो प्राथमिकता नै रवीन्द्र परिवार भएको बताए ।

‘उपनिर्वाचन छिट्टै हुन्छ । त्यसको तयारी हुँदै छ । निर्वाचन आयोगले मिति तोक्ला । निर्वाचनमा अधिकारीको परिवारबाट इच्छा भए पहिलो प्राथमिकता उहाँहरु नै हो । यति ग्यारेन्टीका साथ भन्छु,’ भट्टराईले भने, ‘पार्टीले प्रस्ताव गर्दा पनि पछि हट्नु भयो भने मात्र विकल्प खोज्ने हो । परिवारको चाहना हुँदाहुँदै पार्टीले अर्को व्यक्ति उठाउँदैन ।’

Advertisement

भट्टराईले पार्टीको पहिलो प्राथमिकता नै रवीन्द्रको परिवार भनेका छन् तर विद्या भने दोधारमा छिन् । आरआर क्याम्पसमा प्राध्यापन गरिरहेकी विद्यालाई निर्णय गर्न निकै कठिन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘राजनीतिमा सक्रिय हुँदाहुँदै विवाह भएर कठिन अवस्थाको सामना गर्दै उहाँले दुख गरेर सरकारी जागिर खानुभएको हो । पेन्सन पाक्न अब ५-७ वर्षमात्रै छ । यस्तो बेला उहाँ धर्मसंकटमा हुनुहुन्छ,’ पारिवारिक स्रोतले भन्यो, ‘केही वर्षमात्र सेवा अवधि रहेको जागिर छोडेर राजनीतिकमा लाग्दा भविष्य के हुने ? छोराहरु कसरी पढाउने, हुर्काउने ? भन्ने कुराको चिन्ताले निर्वाचन लड्ने मानसिकतामै उहाँ हुनुहुन्न ।’

रवीन्द्रकी पत्नी भएका कारण नभएर विद्या योग्य र क्षमतावान राजनीतिक व्यक्ति पनि भएका कारण उनले टिकट पाउनुपर्ने नेकपाका नेताहरु बताउँछन् । रवीन्द्रले पोखराबाट राजनीति गरेर चर्चामा आउँदा विद्याले काठमाडौंमा राजनीति थालेकी थिइन् । रवीन्द्र अखिलको महासचिव हुँदा विद्या सचिव थिइन् । विवाहपछि योगेश भट्टराईको सल्लाहमै राजीनामा दिएर अखिल नेपाल महिला संघतिर लागेर उनी क्रियाशील राजनीतिबाट टाढा भएकी थिइन् ।

राजनीतिक तथा वैचारिक चेत र नेतृत्व क्षमताले पनि विद्यालाई अघि सार्नु स्वभाविक भएको प्रतिनिधि सभा सदस्यसमेत रहेका योगेशको भनाइ छ । २ पार्टी मिलेर ठूलो भएको पार्टीमा धेरै जना आकांक्षी र ठाउँ खोजिरहेका बेला राजनीतिमा लागेर भोलि अप्ठेरो अवस्था आउने कुराले पनि विद्याले निर्णय लिन नसकेको परिवार स्रोतको भनाइ छ ।

सक्रिय राजनीति र त्यस्तै पारिवारिक पृष्ठभूमिबाट आएकाले विद्याले यसअघिको कुराकानीमा राजनीतिमा आउनु नौलो नभए पनि अहिले त्यतातर्फ नसोचेको बताएकी थिइन् । राजनीतिमा आउने–नआउने भन्ने विषय समयले बताउने विद्याको प्रतिक्रिया थियो ।

‘सक्रिय राजनीतिमा छँदै विद्याले रवीन्द्रका लागि त्याग गरिन् । प्राज्ञिक क्षेत्रमा लागेर रवीन्द्रको राजनीतिलाई सहयोग गरिन् । उनै रवीन्द्र अब रहेनन् । विद्या क्षमतावान व्यक्ति हो अब राजनीतिमा आउनुपर्छ,’ एक नेकपा नेताले भने । नेकपाका नेता तथा शुभचिन्तकले पनि राजनीतिमा आउन विद्यालाई आग्रह गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया