कांग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन पोखरामा, सहरमा चारतारा र ब्यानर

समाधान संवाददाता २०७५ चैत २६ गते १७:१३


समाधान सम्वाददाता

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिले पोखरामा मंगलबार पत्रकार भेटघाट गरी सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलन चैत २८ र २९ गते हुदैछ ।

Advertisement

सम्मेलनको उद्घाटनसत्र चैत २८ गते पोखरा सभागृहमा हुनेछ । उद्घाटनसत्रलाई पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शीर्ष नेताहरुले सम्वोधन गर्ने छन् ।

सम्मेलनलाई लक्षित गरी पोखराको न्युरोडलाई पार्टीको तारा तारे झण्डाले सिगाँरिएको छ भने पोखराका मुख्य शहरी क्षेत्रमा स्वागत व्यानरहरु टाँगिएको छ । पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उदेश्यले सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

Advertisement

उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी १ ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गरे । पार्टीको मुख्य समस्या भनेकै गुट÷उपगुट हो अध्यक्ष पुडासैनीले भने, ‘स्थानीयदेखि केन्द्रसम्म गुट-उपगुट अन्त्य गर्न जरुरी छ।’

सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने बताइएको छ ।

त्यस्तै, सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की निर्वाचन क्षेत्र नं २ सहित रिक्त स्थानमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन गराउन सरकारलाई दबाब दिने छ ।

नेपाली कांगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की कांग्रेसले सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया