अब नयाँ कोट लगाऊ, पुरानो किताब किन

समाधान संवाददाता २०७५ चैत २७ गते १०:२७

ईश्वर देवकोटा

स्कुल, क्याम्पसमा पढिसकेका पुराना किताब के गर्नुहुन्छ ? कोठामा ढाँड भयो भने कवाडीमा बेच्ने गर्नुभएको त छैन ? बरु यसो गर्नाेस्— न्युरोड जानोस् र पुरानो बुक्स डटकम खोज्नोस् । उसले तपाईंका किताब किनिदिन्छ । वा घरैमा बसेर पनि वेबसाइटमार्फत तपाईं थोत्रा किताब बेच्न सक्नुहुन्छ ।

पुराना किताब बेच्न वा किन्छु भन्नेलाई ‘पुरानो बुक्स डटकम’ मिडियटर बनेकोे छ । प्लस टु देखि माथि मास्टर लेबलसम्मका पुराना किताब हुनेले पुरानो बुक्सलाई बेच्न सक्नेछन् । बजार मूल्यभन्दा झन्डै आधा फरक मूल्यमा किन्न चाहनेले किताब पाउनेछन् ।

Advertisement

यो डिजिटल वेब पोर्टल हो । पाठ्यक्रममा आधारित पुराना किताब किन्न र बेच्न सकिन्छ । नेपाली-अंग्रेजी साहित्यका फिक्सन र ननफिक्सन किताब पनि उत्तिकै । त्यो पनि घरमै बसीबसी ।

पोखरेली ३ युवा मिलेर सञ्चालनमा आएको ‘पुरानो बुक्स’मा हाल ३ हजारभन्दा बढी किताब उपलब्ध छन् । गएको ६ महिनामा साइटमार्फत १ हजार पुस्तक खरिद बिक्री भएको कम्पनीका प्रबन्धक कवि केसीले जानकारी दिए ।

Advertisement

‘मेडिकल, साइन्स र इन्जिनियरिङ लगायतका किताब नयाँ किन्दा चर्को मूल्य लाग्ने तर पुरानो किताब खोज्दै हिँड्न झन्झट हुने समस्या देखेर यो कन्सेप्ट ल्याएका हौं,’ प्रबन्धक केसी भन्छन्, ‘यसै ¥याकमा थन्किएका कलेजका किताब वा साहित्यसँग सम्बन्धित किताबलाई रि युज गर्ने थिममा पुरानो बुक्स जन्मिएको हो ।’

केसी यस्तो सेवा दिने वेबपोर्टल नेपालमै पहिलो भएको दाबी गर्छन् । ‘काठमाडौंमा केही पुस्तक पसलले पुरानो किन्ने र बेच्ने गरेको त थाहा छ तर वेबमार्फत गेटवेको काम गर्ने अहिलेसम्म हामी मात्रै हौं,’ उनी भन्छन् ।
पुरानो बुक्सको सुविधा लिन वेबसाइटमा मेम्बर बन्नुपर्छ । अति सामान्य प्रोसेसबाट प्राप्त हुने निशुल्क मेम्बरका लागि पूरा नाम र इमेल आइडीसहित पासवर्ड आफैंले राख्नुपर्ने हुन्छ । इमेलमा मेम्बर आइडी प्राप्त हुन्छ ।

आइटी इन्जिनियरिङको जिम्मेवारी सम्हालेका अनिश उप्रेती र नवीन आचार्यका अनुसार प्राप्त मेम्बरसिप आइडीमार्फत बेच्न चाहेको किताब देखाइएको प्रोसेस अनुसार साइटमा अपलोड गर्न सकिन्छ ।

‘कति समयसम्म आफूले बिक्रीका लागि राखिने हो त्यसको यकिन गरी साइटमा किताबको आवरण पृष्ठ वा अन्तिम भागको पृष्ठ खिचेर फोटो अपलोड गर्नुपर्छ,’ अनिश भन्छन्, ‘जस्तैः १ हजार बजार मूल्य भएको किताबको अधिकतम ४ सय रुपैयाँ भ्यालुएसन हुन्छ । रकम भने बिक्री पश्चात्तमात्रै दिने गरिएको छ ।’ अपलोड भएका किताबको संग्रह कम्पनीले राख्छ । निश्चित समयमा बिक्री नभए फिर्ता पनि लैजान पाइन्छ ।
पुराना किताबलाई एक्सलेन्ट, भेरी गुड, गुड र एसेप्टेबल गरी ४ प्रकारमा वर्गीकरण गरी भ्यालुएसन गरिने नवीन बताउँछन् । भ्यालुएसनको आधारमा मूल्य तय गरिनेछ ।

किताब किन्न साइटमा आफूलाई चाहिएको किताबको विवरण टाइप गरेर सर्च गर्न सकिन्छ । उपलब्ध भए किताब सोझै अर्डर गर्न मिल्छ । पोखरा भ्यालीभित्र निशुल्क डेलिभरी सुविधा कम्पनीले दिनेछ । भ्यालीबाहिर भने न्यूनतम सेवा शुल्क लिने गरेको प्रबन्धक केसी बताउँछन् ।

पठन संस्कृतिको विकास गर्न कम्पनीले पोखराका २ क्याफेमा मासिक रुपमा किताब रेन्टमा दिने गरेको छ । एक्सपर्ट क्याफे सिद्धार्थचोक, कफी कल्चर न्युरोड र मञ्जुसा रेस्टुरेन्ट बाराही चोकमा कम्पनीले मासिक ४० वटा किताब उपलब्ध गराउँछ । कफीसँगै किताबको सम्बन्ध बढाउन यस किसिमको थालनीले पठन संस्कृतिको विकास गर्ने कम्पनीको अर्को लक्ष्य रहेको केसी बताउँछन् । किताबबारे एकजना विद्वान थोरोको भनाइ चर्चित छ—पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन । जमाना उनले भनेजस्तै सधैं कहाँ चल्छ र ! कोट नयाँ लगाए पनि हुन्छ र पुरानो किताब किन्न पनि पाइन्छ ।

तपाईको प्रतिक्रिया