फरेन्सिक डाक्टरलाई कानुनी चिकित्सा तालिम

समाधान संवाददाता २०७५ चैत २८ गते १३:१३

समाधान संवाददाता
पोखरा

कानुनी चिकित्सा समाज नेपालले फरेन्सिकका विशेषज्ञ चिकित्सकका लागि कानुनी चिकित्सा विधि(मेलसन फरेन्सिक)तालिम दिएको छ । ३ दिनसम्म चल्ने तालिममा देशभरका २९ फरेन्सिक मेडिसिनका चिकित्सकको सहभागिता छ ।

तालिमको प्रमुख प्रशिक्षकमा चिकित्साशास्त्र अध्ययन संस्थान काठमाण्डौका डा युजिन डोल्मा छिन् । प्रशिक्षकमा गण्डकी मेडिकल कलेजका डा नुवादत्त सुवेदी र डा निलु हिराचन, चिकित्साशास्त्र अध्ययन संस्थान काठमाण्डौका डा मणि महर्जन छन् ।

Advertisement

तालिममा सहभागीलाई यौनजन्य दुव्र्यवहारको शारीरिक परिक्षण र उमेर विवादमा परेका व्यक्तिको उमेर समूह निर्धारण परिक्षण गर्ने लगायतका विषयमा प्रशिक्षण दिइने कानुनी चिकित्सा समाज नेपालका कार्यकारी सदस्य तथा प्रशिक्षक डा नुवादत्त सुवेदीले जानकारी दिए । डा सुवेदीले नेपालमा यौनजन्य तथा लैंगिक हिंसाका घटना बढेको वेलामा तालिमले वैज्ञानिक ढंगले त्यस्ता घटनाका पीडित तथा पीडकको परिक्षण गरी प्रमाण संकलन गरेर न्याय सम्पादन गर्न सहयोग पुग्ने बताए ।

डा सुवेदीले कानुनसम्मत कागजात उपलब्ध नभएको अवस्थामा वैज्ञानिक ढंगले उमेर निर्धारण गरी प्रतिवेदन दिनसमेत सहयोग पुग्ने दावी गरे । ‘यौनजन्य हिंसाका मुद्दामा पीडित र पीडरुको शारीरिक परीक्षण गरी अदालतलाई प्रमाणको रुपमा चिकित्सकले जाँच गरी प्रतिवेदन दिनुपर्छ,’ डा सुवेदीले भने, ‘राष्ट्रिय मापदण्ड अनुसारको परिक्षण र प्रतिवेदन तयार गर्ने विषयमा समेत तालिममा छलफल गरिने छ ।’ उनले अन्तर्राष्ट्रिय मापदण्डको विषयका बारेमा समेत जानकारी दिइने बताए ।

Advertisement

प्रमुख प्रशिक्षक डा युजिन डोल्माले तालिममा यौन दुव्र्यवहारका अलावा लिंगमा आधारित हिंसाको शिकार भएका घटनाको परीक्षणको विषयमा समेत छलफल गरिने बताइन् । पछिल्लो समयमा यौन दुव्र्यवहार र लिंगमा आधारित हिंसाका घटनामा बढ्नु हुनुु चिन्ताको विषय बनेको उल्लेख गरिन् । यौन दुव्र्यवहार र लिंग आधारित हिंसाको पीडितको चिकित्सा परीक्षणमा योग्यता निर्धारण र समानताको विकास गर्नुपर्ने उल्लेख गर्दै डा डोल्माले फरेन्सिक चिकित्सकले काम गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अभिसन्धिहरु पालन गर्नुपर्ने धारणा राखिन् ।

मणिपाल शिक्षण अस्पतालका डिन बिएम नागपालले फरेन्सिक चिकित्सकका लागि समय सापेक्ष तालिम अवश्यक रहेको बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले नेपाल सरकारले जिल्ला तहका सबै अस्पतालमा फरेन्सिक चिकित्सकको दरबन्दी सिर्जना गर्नुपर्ने बताए । डा आचार्यले फरेन्सिक चिकित्सकको अनुसन्धानको पक्ष वैज्ञानिक नभएर सामाजिक समस्याको सामना गर्ने भएको बताए ।

कार्यक्रममा कानुनी चिकित्सा समाज नेपालका अध्यक्ष डा रिजन श्रेष्ठ, उच्च अदालत बार एसोसियसनका अध्यक्ष रोहितराज बास्तोला, डा सुधीररमण पराजुली लगायतले तालिमको महत्वबारे बोलेका थिए ।
नेपाल कानुन चिकित्सा समाज नेपालले धरानमा शव उत्खननसम्बन्धी तालिम गरिसकेको छ । नेपालमा करिब ५० फरेन्सिक चिकित्सक रहे पनि सरकारले २ जनालाई मात्र सरकारी दरबन्दीमा नियुक्ति दिएको डा नुवादत्त सुवेदीले बताए ।

नेपालका २० भन्दा बढी मेडिकल कलेजले फरेन्सिक चिकित्सकसहित विधि विज्ञान विभागको अनिवार्य व्यवस्था गरेका छन् । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गत कानुनी चिकित्सा क्षेत्रको केन्द्रीय स्तरको छुट्टै विभाग खोल्नुपर्ने फरेन्सिक चिकित्सकको माग छ ।

तपाईको प्रतिक्रिया