प्रदेश सभा फेरि स्थगित

समाधान संवाददाता २०७५ चैत २८ गते १३:२८

समाधान संवाददाता
पोखरा

विधायन समितिमा छलफलमा रहेका विधेयक समयमै प्रदेश सभा बैठकमा नपुग्दा संसद लगातार स्थगन भएको छ । गएको चैत १० गते औद्योगिक व्यवसाय ऐन पारित भएर १९ गतेका लागि बोलाइएको गण्डकी प्रदेश सभाको बैठकले बिजनेस नपाएपछि स्थगन भयो ।

चैत २७ गते बुधबारका लागि बोलाइएको बैठकमा समेत विधायन समितिमा छलफलमा रहेका ३ विधेयक प्रदेश सभामा नपुग्दा बैठक बस्न सकेन । विधेयकलाई बैठकमा पुर्‍याएर सदन चल्न विधायन समितिले गएको मंगलबार बसे पनि तिन विधेयक उपर कुनै निचोडमा पुग्न सकेन । सचिवालयमा नयाँ विधेयक दर्ता छैनन् ।

Advertisement

विधायन समितिमा दफावार छलफलका लागि पठाइएको ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अड्केर बसेका छन् ।

विधायन समितिको मंगलबार बसेको बैठकमा सुर्तीजन्य पदार्थ सम्बन्धी विधेयकमा छलफल भए पनि संसदमा पठाउने निर्णय हुन नसकेको समिति सदस्य मणिभद्र शर्मा कँडेलले बताए । सुर्तीजन्य पदार्थमा ७५ की ९० प्रतिशत चेतावनीमूलक विज्ञापन राख्नुपर्ने यकिन गर्न नसक्दा विधेयक अड्किएको हो ।

Advertisement

विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले विधेयकका सम्बन्धमा सम्बद्ध निकायसँग छलफल गरिरहेको बताए । ‘विधेयकबारे अन्तिम निर्णयमा पुग्दै छौं । मुख्यन्यायाधिवक्ता र कानुन सचिवसँग पनि राय लिएका छौं । अबको केही दिनमै विषय टुंग्याउँछौं,’ उनले भने ।

संघीय ऐनले सुर्तीजन्य पदार्थको कम्तीमा ७५ प्रतिशत भाग चेतावनीमूलक सन्देश नेपाली भाषामा लेख्नुपर्ने व्यवस्था छ । त्यस सम्बन्धी निर्देशिकामा ९० प्रतिशत राख्ने व्यवस्था तय गरेकाले यसै विषयमा अलमलमा परेको बुझिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयले तयार गरेको सो विधेयकको मस्यौदामा ९० प्रतिशत राखिनुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया