बाख्रा पाल्यो, ४ लाख कमायो

समाधान संवाददाता २०७५ चैत २८ गते १४:४२

अर्जुन काफ्ले
स्याङ्जा

वालिङ नगरपालिका १० ढकालडाँडाका ४२ वर्षीय युवा रुक्मांगत ढकालले बाख्रापालनबाट मनग्य आम्दानी गरेका छन् । १९ वर्ष विदेशमा काम गरेका ढकालले स्वदेशमै आफ्नो परिवारसँगै बसेर केही गरौँ भन्ने भन्ने भावनाका साथ बाख्रापालनमा खटिएका छन् ।

डेढ वर्षअघि ढकालले गह्रौँकालिका व्यावसायिक बाख्रा फर्म सुरु गरेका हुन् । ढकाल बाख्रा पालेर वर्षको ४ लाख कमाउन सफल भएका छन् । ८ वर्ष भारत र ११ वर्ष कतारमा फेसन डिजाइनमा काम गरेका ढकालको मन सामाजिक सञ्जालमा लेखिएको एउटा लेखले परिर्वतन भएको थियो ।

Advertisement

‘एकजना एअर होस्टेसले आफू नेपालमा कहिल्यै जान नपरोस् भनेर लेखेकी थिइन्,’ ढकाल भन्छन्, ‘त्यसपछि झन् मलाईचाहिँ नेपालमै जान पाऊँ भन्ने भयो ।’

करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा ढकालले अहिले २९ माउ र २३ पाठापाठी गरी ५२ बाख्रा पालेका छन् । स्थानीय खरी जातका बाख्रा पालन गरेका ढकालले बजारको कुनै समस्या नभएको सुनाए । ‘व्यापारी घरमै आएर किन्छन्,’ उनले भने । ५ वर्षमा नमुना फर्म बनाउने उद्देश्यका साथ लागि रहेका ढकालले नगरपालिकाबाट बिनाधितो, बिनाब्याज ६५ हजार रुपैयाँ बिउपुँजी पनि पाएका थिए ।

Advertisement

सिद्धार्थ राजमार्ग अन्तर्गत मदीखोलाबाट २ किलोमिटरमा पुग्न सकिने फर्ममा प्राविधिक समस्या आइपर्दा पशुसेवा केन्द्रबाट लिन्छन् ढकाल । ‘बाख्रापालकलाई वास्तविक किसानजस्तो व्यवहार गरिएको छैन,’ उनी भन्छन्, ‘सरकारले किसानलाई धेरै सेवा, सुविधा दिएका छौँ भन्छ तर हामी जस्तै वास्तविक किसानसमक्ष सुविधा आएकै छैन । दाना, अन्न, भिटामिनको मूल्य हरेक वर्ष बढ्दै जान्छ, हाम्रो जस्ताको तस्तै । दानाका भाउ ११ सयबाट १५ सय पुग्यो, मासु ७ सयको ७ सय नै छ ।’

ढकालको सुन्तला बगैंचामा अहिले ३ सय बोट सुन्तला छन् । उनले एकएक पैसा जोडेर सानै हुँदा सुन्तलाको बिरुवा किनेर लगाएको सुनाए । श्रीमती, आमा छोराछोरी गरी ५ जनाको परिवार ढकालले सजिलै कृषि पेसाबाटै चलाएका छन् । ढकाल समय समयमा व्यावसायिक अभिवृद्धिका तालिममा सहभागी हुन सके व्यवसायलाई टेवा पुग्ने बताउँछन् ।

एसएलसीसम्मको शिक्षा लिएको ढकालले वास्तविक किसानको पहिचान गरी कृषकलाई प्रोत्साहित गर्ने कार्यक्रमको कार्यान्वयन हुनुपर्ने खाँचो औंल्याए । बाख्रापालनबाट सन्तुष्ट ढकालले आगामी दिनमा बाख्रा फर्म अझ विस्तार गरी २ सय ५० माउ बाख्रा र सुन्तला ५ वटा पु¥याउने लक्ष्य लिएका छन् । स्वदेशमै बसेर यसरी कृषि तथा पशुका क्षेत्रमा लागेका जोकोही युवालाई स्थानीय सरकारले उचित वातावरण, सहुलियत ऋण, प्राविधिक सहयोग उपलब्ध हुनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया