भ्रमण वर्षको तयारी

समाधान संवाददाता २०७५ चैत २८ गते १५:०३

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । त्यसको घोषणा चैत ३० गते पोखराबाट गर्ने तयारी छ । पोखराबाटै त्यसको घोषणा गर्नुको तात्पर्य पोखरा पर्यटनको केन्द्र हो भन्ने पनि हो ।

पोखरा पर्यटनका लागि सरकारले पनि महत्व दिएको र दिने ठाउँ हो भन्ने सन्देश पनि उक्त घोषणा कार्यक्रमले दिनेछ । हुन पनि नेपालको पर्यटन पर्वतीय पर्यटन हो । पर्वतीय पर्यटकको अधिकांश हिस्सा अन्नपूर्ण क्षेत्रमा आउँछ । त्यही क्षेत्रको आधार क्षेत्र पोखरा हो । अनुमानकै तथ्यांकले पनि भन्छ नेपाल आएका पर्यटकमध्ये ४० प्रतिशत पोखरा आउँछन् । यसको मतलब अरु ६० प्रतिशतमात्रै देशका अरु गन्तव्यमा जान्छन् । अर्थात सबैभन्दा धेरै पर्यटक लोभ्याउने सहर पोखरा नै हो ।

भ्रमण वर्ष मनाउनु सुखद हो । पर्यटक लक्ष्य गरेर यस्ता कार्यक्रम हुनुपर्छ । त्यसो त पहिले पनि भ्रमण वर्ष सन् १९९८ मा मनाइएको थियो । सरकारले वर्षमा १० लाख पर्यटक भित्र्याउन त्यही बेलाकै लक्ष्य थियो ।

Advertisement

अहिले आएर त्यति पर्यटक नेपाल आउन थालेका छन् । जुन साह्रै न्यून हो । २० वर्षमा प्राप्त भएको उपलब्धिलाई के उपलब्धि मान्ने ? हामीभन्दा पछि पर्यटन सुरु गरेका कम्बोडिया र लाओसको कुरा बेग्लै छ । लाओस्मा त जति जनसंख्या उति पर्यटक पुग्छन् । नेपाललाई अहिल्यै ३ करोड पर्यटक चाहिएको छैन ।

त्यतिलाई सम्हाल्न सक्ने खुबी पनि कहाँ हुनु ? भ्रमण वर्ष र त्यसपछिका वर्षमा कम्तीमा २० लाख पर्यटक भित्र्याउने र देशभरका सय गन्तव्यमा पुर्‍याउने हो भने यो देशको आर्थिक वृद्धिमा ठूलो टेवा पुग्ने थियो । गरिबी घटाउन मद्दत पुग्ने थियो । उसै गरी रोजगारी पनि सिर्जना हुन्थ्यो । आन्तरिक उत्पादनका लागि पनि प्रेरणा मिल्थ्यो । आन्तरिक उत्पादनले बजार पाउने थियो । किसानले सडकमा दूध पोख्नुपर्दैनथ्यो ।

Advertisement

पर्यटक त्यसै ओइरिन्नन् । नेपाल सुन्दर छ भन्ने प्रचारै विश्वमा भएको छैन । आउनलाई संसारका मुख्य सहरहसँग हवाई सम्बन्ध कायम हुन सकेको छैन । त्यसैले धेरैलाई फेरो पर्छ र नेपाल महँगो गन्तव्य भइदिन्छ ।

आकाशेबाटो मात्रै होइन चिनिया र भारतीय पर्यटक आउने स्थलमार्ग पनि गतिला छैनन् । पूर्वाधार तयार गर्न सरकारले जोड दिनुपर्‍यो । बहुवर्षीय भन्दै दशकौं दशकमा पनि एउटा पूर्वाधार तयार नहुने प्रणाली र प्रक्रिया अनि प्रवृत्तिको अन्त्य गर्नुपर्‍यो । आइसकेका पर्यटकले सफा सहर देख्न पाउन पर्‍यो । सजिलो यातायात सेवा पाउनुपर्‍यो । न्यायो आतिथ्यता प्राप्त गर्न पर्‍यो । बल्ल अतिथि देवो भवःको नारा साकार हुन्छ । पाहुना खुसी हुन्छन् । नेपालको पर्यटन उद्योग फस्टाउँछ ।

तपाईको प्रतिक्रिया