१६ औं फेवा महोत्सव आजबाट

समाधान संवाददाता २०७५ चैत २९ गते १२:४९

समाधान संवाददाता, पोखरा

पोखरास्थित फेवा किनार कोमागाने पार्कमा १६ औं फेवा नव वर्ष महोत्सव आजबाट सुरु हुने आयोजकले जनाएको छ । चैत २९ गतेबाट सुरु हुने महोत्सवको तयारी पूराबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खाना, संस्कृति र संगीतलाई जोड दिएको संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले जानकारी दिए ।

२२ नेपाली खाना समेटिने महोत्सवमा पर्यटक र अन्य आगन्तुक गरी १ लाखले सहभागिता जनाउने अनुमान आयोजकको छ । महोत्सवमा सांस्कृतिक झाँकी प्रतियोगिता र गण्डकी प्रदेशस्तरीय नृत्य प्र्रतियोगितामा पर्यटकको आकर्षण रहने संघको दावी छ । महोत्सवमा संघ अन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिएको संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । महोत्सवमा होटलको अकुपेन्सी दर न्यून रहेको भन्दै चैत ३० गते रातिका लागि भने कोठाहरु अधिकांश बुक भएको पराजुलीले बताए ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले फेवा महोत्सव आयोजना स्थलमा चैत ३० गते भ्रमण वर्षको सफ्ट ओपनिङ गरिने जानकारी दिए । कार्यक्रम घोषणा पोखरामा हुँदा सहरलाई पर्यटकीय राजधानी बनाउने अभियानमा टेवा पुग्ने विश्वास पौडेलले व्यक्त गरे ।

बोर्डको गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछाने भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको जानकारी दिए । उनले गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको जानकारी दिए ।

Advertisement

फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य पनि महोत्सवले लिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । सेफ फेडेरेसनसँग मिलेर राष्ट्रियस्तरबाट छानिएका नेपाली खानाको प्रदर्शनी र बिक्रीलाई पनि महोत्सवमा विशेष जोड दिइएको उनले सुनाए ।

महोत्सवकै प्रचारका लागि संघले काठमाडौं, जनकपुर, चितवन र लुम्बिनी जस्ता स्थानमा ‘जाउँ है पोखरा’ अभियान पनि सम्पन्न गरिसकेको छ । संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया