पाहुनालाई बिर्खे टोपी र भानु भूमिको माटो उपहार

समाधान संवाददाता २०७५ चैत २९ गते १३:१३

कृष्ण न्यौपाने
दमौली

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा चैत ३० गते शनिबार भानु नगरपालिका ५ चुँदीरम्घामा हुन लागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिइने आयोजकले जनाएको छ ।

मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहार दिन लागिएको प्रष्ट्याए । उनले भने, ‘माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छाैं ।’

Advertisement

साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसका अवसर पारी भानुभक्तको जन्मगाउँमै अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदै छ । सम्मेलनमा अमेरिका, म्यानमार, भारत, भुटान, बङ्गलादेश, चीन, जापान लगायतका देशका साहित्यकार सहभागी हुने नाटक मञ्च तनहुँले जनाएको छ । साहित्यिक सम्मेलनमा ५ दर्जनभन्दा बढी कवि र साहित्यकार सहभागी हुनेछन् ।

साहित्यिक कार्यक्रम २ चरणमा हुनेछ । टाढाबाट आउने साहित्यकारलाई चैत २९ गते भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । सोही दिन साँझ घरबासमा सांस्कृतिक कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका सदस्य शिव आर्य खड्काले जानकारी दिए ।

Advertisement

रानागाउँदेखि नौमती बाजासहित चैत ३० गते बिहान पदयात्रा गरी साहित्यकारहरु भानुको जन्मघर शिखर कटेरीमा पुग्नेछन् । सोही दिन चुँदीरम्घाबेंसीस्थित भानु जन्मस्थल विकास समितिमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्यिक पुरस्कार मोहन दुवाललाई, गीतल प्रभात पुरस्कार वीरु लम्साल र दुर्गा किरण तिवारीलाई प्रदान गर्ने कार्यक्रम छ ।

अन्तर्राष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

तपाईको प्रतिक्रिया