अब विदेशबाट १०० ग्रामसम्म सुन ल्याउन पाइने

समाधान संवाददाता २०७५ चैत २९ गते १५:१०

समाधान संवाददाता, काठमाडाैं

विदेशबाट आउने नेपालीहरुले भन्सार शुल्क तिरेर अब १ सय ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने भएका छन् । ५० ग्रामसम्म सुनको गरगहना ल्याउँदा भने भन्सार तिर्नु नपर्ने व्यवस्थालाई यथावत राखिएको छ ।

नयाँ व्यवस्थाअनुसार सोभन्दा थप ५० ग्रामसम्म सुनका गरगहना भन्सार महसुल बुझाएर लिन पाइने भएको छ । यसअघि ५० ग्रामभन्दा बढी सुनका गरगहना भएमा जफत गर्ने व्यवस्था थियो ।

Advertisement

‘५० ग्रामभन्दा बढी १ सय ग्रामसम्म सुनका गरगहना ल्याएमा तोकिएको शुल्क तिरेर लिन पाइन्छ’ भन्सार कार्यालयका प्रवक्ता चुडाराज सापकोटाले भने ‘अदालतले गरेको फैसलापछि यो व्यवस्था कार्यान्वयनमा गइसक्यो।’

यसअघि सर्वोच्च अदालतमा भन्सार कार्यालयको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै मुद्दा परेको थियो । सो मुद्दाको निर्णयमा अदालतले भन्सार शुल्क तिरेर थप ५० ग्राम बढी सुनका गहना ल्याउन सक्ने व्यवस्था कायम गर्न भनेको थियो ।

Advertisement

अब थप ५० ग्राम सुनका गरगहनामा प्रति दश ग्राम ६ हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । काँचो सुनसरह गरहनामा शुल्कको व्यवस्था गरिएको हो ।

काँचो सुनमा भने पहिलो ५० ग्रामसम्म प्रतिदश ग्राम ५ हजार २ सय रुपैयाँ भन्सार महसुल तोकिएको छ । दोस्रो चरणको ५० ग्राम सुनमा प्रतिदश ग्राम ६ हजार २ सय रुपैयाँ शुल्क छ । शुल्क तिरेर १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था छ। सोभन्दा बढी परिमाणमा भए जफत हुनेछ ।  

१ सय ग्राम काँचो सुन ल्याउनेले ५७ हजार रुपैयाँ भन्सार शुल्क बुझाउनुपर्नेछ भने १ सय ग्राम सुनका गरगहना ल्याउनेले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया