ताल किनारमा सुरु भयो फेवा नव वर्ष महोत्सव

समाधान संवाददाता २०७५ चैत ३० गते ९:३६

समाधान सम्वाददाता

पोखरामा १६ औं फेवा नव वर्ष महोत्सव शुक्रबारबाट सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रमा राखेर सुरुआत गरेको महोत्सवमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई महोत्सव नै महोत्सवको सहर बनाउनु पर्ने बताए ।

उनले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सवले टेवा दिने बताए । प्राकृति र सांस्कृतिको धनी पोखरालाई स्वर्गजस्तो सहर बनाउने बताए । ‘जीवनमा १ पटक पोखरा पुग्नै पर्छ भन्ने वातावरण यहाँ बनाउन जरुरी छ’ उनले भने, ‘गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मान्ने पर्छ ।’ १ हजार जना भन्दा बढी अट्न सक्ने क्षमताको सभाकक्ष आवश्यक छ भन्दै मुख्यमन्त्री गुरुङले पोखरामा सुविधा सम्पन्न ठूलो आकारको अस्पतालसमेत आवश्यक औंल्याए ।

Advertisement

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनको अध्यक्षतामा भएको महोत्सव उद्घाटनमा मुख्यमन्त्री गुरुङले लेखनाथको पचभैयामा चिडियाखाना निर्माण, पोखरामा २ आधुनिक बसपार्क, २ वर्षमा पोखरा–कोरला मार्ग कालोपत्रे र प्रदेशस्तरीय बहुसांस्कृतिक ग्रामको निर्माण गर्ने काम प्रदेश सरकारले अघि बढाएको बताए ।

फेवा तालको संरक्षणको लागि १० करोड रुपैयाँ प्रदेश सरकारले छुट्याएको भन्दै उनले २ वर्ष भित्र पोखरामा नयाँ विमानस्थल निर्माण कार्य सकिने बताए ।

Advertisement

नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन उद्देश्यसहित सुरु भएको महोत्सव आइतबारसम्म चल्ने छ ।

गण्डकी प्रदेश सभासद राजीव पहारीले फेवा तालको संरक्षणमा जोड दिँदै लेकसाइड क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक भइसकेको धारणा राखे । उनले गण्डकी प्रदेश नै पर्यटकीय क्षेत्र भएको भन्दै पर्यटकीय क्षेत्रमा अन्तक्र्रिया तथा बहस चलाउनु पर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पोखरा काठमाडौं जोड्ने पृथ्वीराजमार्गलाई ४ लेनको बनाउन आवश्यक रहेको बताए ।

महोत्सवमा संस्कृतिको संरक्षण गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउन पर्यटक दौड, बाल उद्यान र पप कन्सर्ट समेटिएका छन् । कार्यक्रममा होटल संघद्वारा प्रकाशित टेबल क्यालेन्डर वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया